कमाउन भनेर अमेरिका गए पनि नेपाल छँदैको गाउने मोहले भीम थापालाई छाडेन। नेपाल छँदा मगर बहुल तनहुँको लोकसंस्कृतिमा रमाउँदै हुर्केका केशवटार कुलुङका भीमले अमेरिकामा रहेर पनि त्यसको प्रचार र संरक्षणमा योगदान दिइरहेका छन्। नेपालमा हुँदा विभिन्न कार्यक्रममा गीत गाएका भीमले अमेरिका गएर पनि त्यसलाई निरन्तरता दिइरहे। हाल टेक्सासमा व्यापारव्यवसायमा संलग्न भीम त्यहाँ साप्ताहिक कार्यक्रम गरिने नेपाली रेस्टुराँ, नेपाली समुदायको कार्यक्रम आदिमा आफ्नो स्वर पस्किरहेका हुन्छन्। कार्यक्रममा गाउन थालेपछि लोकप्रियता कमाउँदै गएका उनलाई साथीहरूले आफ्नै स्वरमा गीत रेकर्ड गर्न सुझाव दिए। व्यवसायमा व्यस्त उनलाई नेपाल आउन तत्काल सम्भव पनि थिएन। तर खाने मुखलाई जुँगाले छेक्न सक्दैन भनेझैं उनले जुक्ति निकालिहाले नेपालको स्टुडियोमा टीका पुनलाई गीत गाउन लगाएर उनले भने त्यहीकै स्टुडियोमा आफ्नो आवाज भरेर पठाए। उनी र टीकाले स्वर दिएको ‘मेरै भरमा पछिन्’ बोलको लोकगीतको भिडियो नेपालका टेलिभिजन तथा स्वर रेडियोहरूमा बज्न थालेपछि उनलाई गायनमा अघि बढ्न थप हौसला मिल्यो। ‘मेरो चाहनामा साथीहरूले उत्साह थपेपछि फेरि गीत रेकर्ड गराउने चाहना बढ्यो’, स्काइप कुराकानीमा उनले भने,’त्यसैको प्रेरणाले फेरि अर्को गीत रेकर्ड गराएँ।’ पछिल्लो समय बजारमा आएको गणेशजीलाई लड्डु ओए शिवजीलाई भेटी’ बोलको गीत अहिले चर्चामा छ। विमल डाँगी र पूर्णकला बीसीसँग मिलेर उनले गाएको गीत एफएम रेडियोहरूमा हिट भएको छ। हालै भिडियो सार्वजनिक भए पछि यूट्युब र टेलिभिजनबाट हेर्ने दर्शकले पनि राम्रो प्रतिक्रिया दिएको थापाले बताए। ‘मुख्य पेसा व्यवसाय भए पनि भित्रैदेखिको चाहना भएकाले गायनलाई त्याग्न नसकिँदो रहेछ’, गायनलाई आफूले दिएको महत्त्वबारे प्रष्ट्याउँदै २८ को उमेरमा ढल्कँदै गरेका तन्नेरी गायकले भने,’त्यही भएर व्यावसायिक व्यस्तताका बाबजुद गायनलाई समय दिइरहेको छु।’ स्थानीय कार्यक्रममा गाउनका अलावा थापाले टेक्सासमै रहेका नेपालीहरूसँग मिलेर पन्चैबाजाब्यान्ड पनि स्थापना गरेका छन्। सो ब्यान्डले पन्चैबाजा बजाएर गायन पस्कने गरेको छ। ‘हाम्रो घर गाउँमा अति आवश्यक पन्चैबाजाको अभावमा संस्कृति अघि बढाउन गह्रो भयो’, अमेरिकामा सांगीतिक ब्यान्ड स्थापना गर्नुको कारण खुलाउँदै थापाले भने,’त्यही भएर साथीहरूसँग मिलेर ब्यान्ड खोलेका हौं।’ उनीहरूको ब्यान्डले त्यहाँ हुने चाडबाडमा पन्चैबाजाको धुन पस्कने गरेको छ। विवाह र धार्मिक रीतिरिवाजका कार्यक्रम परे यो समूहको खोजी भइहाल्छ। ‘सकेसम्म समय मिलाएर जाने गरेका छौं, उनले भने। नेपाली पोसाकमा पन्चैबाजाको धुनसाथ कार्यक्रममा जाँदा आफ्नै देशमा भएजस्तो अनुभव हुने थापाले सुनाए।