अबदेखि ईपीएस कोरिया परीक्षा असारमै

3 February, 2015

वैशाखमा आवेदन फारम खुला

कोरियाली भाषा परीक्षा असार पहिलो साता सञ्चालन गरिने भएको छ। यसअघि असोजमा लिइँदै आएको भाषा परीक्षा (ईपीएस परीक्षा) अबदेखि जेठ अन्तिम सातादेखि असार पहिलो साताभित्र लिन लागिएको हो। दसैंको मुखमा परीक्षा सञ्चालन गर्दा व्यवस्थापन गर्न कठिन भएकाले अबदेखि असारमै परीक्षा सञ्चालन गरिने भएको हो। 

राजधानीमा रहेकाहरू समेत दसैंका लागि धमाधम घर फर्किन सुरु गर्ने बेलामा परीक्षा दिन थपिने ६० हजारभन्दा बढी परीक्षार्थीलाई यातायात व्यवस्थापन गर्न कठिन हुने भएकाले नेपालले परीक्षा तालिका परिवर्तन गर्न कोरिया सरकारसँग प्रस्ताव गरेको हो। 

नेपालको प्रस्तावमा कोरियाले सहमति दिइसकेको छ। ईपीएस कोरिया शाखाका अनुसार असार पहिलो साताभित्र परीक्षा सञ्चालन गर्ने निर्णय भइसके पनि मिति भने निक्र्योल हुन बाँकी छ। 

असारमा परीक्षा आयोजना गर्न वैशाखमै आवेदन फारम भर्ने व्यवस्था हुनेछ। दसैंको आसपासमा परीक्षा गर्दा घर फर्किने सवारीको टिकट पाउन परीक्षार्थीलाई कठिनाइ हुने गरेको थियो। गएको परीक्षामा ५९ हजारजनाभन्दा बढी सहभागी भएका थिए।  

ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले आगामी भाषा परीक्षा असार पहिलो साताभित्र सम्पन्न गरिसक्ने गरी तयारी भएको जानकारी दिए। ‘जेठ अन्तिम वा असार पहिलो साताभित्र परीक्षा लिइनेछ’, उनले भने। 

दसैंको मुखमा परीक्षा लिँदा यातायात व्यवस्थापनमा कठिनाइ भएको विगतका अनुभवको आधारमा परीक्षाको मिति तीन महिना अघि सार्न लागिएको उनले जानकारी दिए। गएको परीक्षा असोज १० र ११ गते सम्पन्न भएको थियो। दरखास्त फारम संकलन कार्य साउन २८ देखि ३१ गतेसम्म गरिएको थियो। 

 

रोजगारीका लागि दक्षिण कोरिया जान अनिवार्य रूपमा त्यहाँको भाषा परीक्षा पास गर्नुपर्ने नियम छ। नेपालले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सरकारी तवरबाट आफ्ना कामदार कोरिया पठाउने गरेको छ।

दसैंको मुखमा परीक्षा सञ्चालन गर्दा व्यवस्थापन गर्न कठिन भएकाले अबदेखि असारमै लिन लागिएको हो।

कोरियामा आकषर्क कमाई हुने भएकाले जान चाहने युवाको संख्या ठूलो छ। नेपालमा काम गरिरहेका वा सानातिनो व्यापारव्यवसाय सञ्चालन गरेर बसेका समेत राम्रो कमाई हुने भएकाले त्यहाँ जान इच्छुक हुने गरेका छन्। 

गएको परीक्षामा स्नातकोत्तर उत्तीर्ण भएका र रोजगारी भएका थुप्रै युवा पनि सहभागी भएका थिए। परीक्षा असारमा लिइए पनि कामदार भने सन् २०१६ सुरु भएपछि मात्र पठाउन थालिनेछ।

आगामी परीक्षा सन् २०१६ को कोटा भएकाले नेपाली युवाले नयाँ वर्ष सुरु भएपछि मात्र जान पाउनेछन्। यसअघि परीक्षा पास गरेर रोस्टरमा नाम समावेश भएकालाई यही माघ २७ देखि पठाउन सुरु गरिने ईपीएस शाखाले जानकारी दिएको छ। 

सरकारले गत वर्षजस्तै यसपालि पनि राजधानीबाहिरबाट समेत आवेदन फारम भर्ने व्यवस्था गर्नेछ। परीक्षा राजधानीमा मात्रै गर्ने वा बाहिर पनि सञ्चालन गर्ने भन्ने यकिन भइसकेको छैन। 

राजधानीबाहिरबाट परीक्षा सञ्चालन गर्न अनलाइन प्रविधि विस्तार गर्ने कार्य अघि बढाइएको छ। प्रविधि जडान सम्पन्न भएमा बाहिरबाट पनि परीक्षा लिइने ईपीएस शाखाका प्रमुख बास्तोलाले जानकारी दिए। 

कोरियाले उत्पादनमूलक र कृषि क्षेत्रमा नेपाली कामदार लिने गरेको छ। अबदेखि पूर्वाधार क्षेत्रमा समेत आफ्ना कामदार लिन नेपालले आग्रह गरेको छ। उत्पादनमूलकको तुलनामा कृषिमा रोजगारी कोटा थोरै छ। 

दुई वर्षयता रोस्टरमा नाम रहेका २७ सयजना जान बाँकी छ। जसमा उत्पादनमूलकतर्फका जम्मा चार सय ५० जनामात्र छन्। बाँकी सबै कृषिका हुन्। यो तथ्यांकले कृषिमा कामदारको माग थोरै रहेको देखाउँछ। भाषा परीक्षा पास गरेको दुई वर्षभित्र कोरिया पुगिसक्नुपर्ने व्यवस्था छ। 

कोरियामा नेपाली कामदारले मासिक न्यूनतम एक लाख नौ हजार रुपैयाँ कमाउन सक्छन्। अनुभवीले भने मासिक डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म कमाइ गरिरहेका छन्। 

नेपालले सन् २००८ देखि कोरियामा कामदार पठाउन थालेको हो। कोरियाले नेपालसहित विभिन्न १४ वटा मुलुकबाट ईपीएस प्रणालीअन्तर्गत कामदार लिने गरेको छ। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024