अनौपचारिक क्षेत्रको सहभागिता निराशाजनक

23 January, 2025

Sita Sharma

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने गरी देशका १०७ पालिका कोषको योजनामा आबद्ध भए पनि लक्ष्य अनुसार श्रमिक आबद्ध गराउन सकेको छैन । सामाजिक सुरक्षा कोषका अनुसार हालसम्म १०७ वटा पालिकाले आफ्नो पालिकामा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई आबद्ध गराउने गरी कोषसँग सम्झौता गरे पनि हालसम्म ३३४ श्रमिक मात्रै कोषको योजनामा आबद्ध भएका हुन् ।

कोषले २०८० वैशाखदेखि अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिक कोषको योजनामा आबद्ध गराउन सुरु गरेको हो । कोषका अनुसार कोषको योजनामा हालसम्म योगदान गर्ने योगदानकर्ताको सङ्ख्या १९ लाख ५० हजार ६१६ जना पुग्दा अनौपचारिकतर्फका ३३४ जना र स्वरोजगारतर्फका २७२ जना गरी ६०६ जना श्रमिकले मात्रै योगदान गरेका छन् । कोषमा योगदान गर्ने कुल सङ्ख्याको विश्लेषण गर्दा अनौपचारिक र स्वरोजगारको हिस्सा (०.०३) प्रतिशत मात्रै रहेको छ । 

कोषका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका १९ लाख ५० हजार ६१६ जनामध्ये १३ लाख ९३ हजार ७८४ जना वैदेशिक रोजगारीतर्फका छन् भने औपचारिकतर्फका पाँच लाख ५६ हजार २२९ जना रहेका छन् । 

कोषका सूचना अधिकारी उत्तमराज नेपालले अनौपचारिकतर्फका श्रमिकका लागि पालिकाबाट सहयोगदान गरेका श्रमिक मात्रै आबद्ध भएका छन् । सहयोगदान नगर्ने पालिकाका श्रमिक कोषको योजनामा आबद्ध नभएकाले सङ्ख्या नबढेको उहाँको भनाइ छ । सङ्घीय सरकार वा प्रदेश सरकार वा स्थानीय सरकारमध्ये एकबाट अनौपचारिक र स्वरोजगारतर्फका श्रमिकलाई सहयोगदान गर्नुपर्ने विषयमा छलफल गरिरहेको पनि सूचना अधिकारी नेपालले जानकारी दिनुभयो । 

सरकारबाट सहयोगदान गर्ने सुनिश्चित भएपछि अनौपचारिक र स्वरोजगारतर्फबाट कोषको योजनामा आबद्ध हुने क्रम बढ्ने उहाँको दाबी छ । सुरुमा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने पहिलो पालिका स्याङ्जाको फेदीखोला गाउँपालिका र दोस्रोमा बागलुङको ताराखोला गाउँपालिकाले गरेका थिए । अनौपचारिकतर्फका धेरै श्रमिकलाई आबद्ध गराउने तिनै पालिका रहेका छन् । 

कोषमा आबद्ध हुने अनौपचारिक क्षेत्रका श्रमिकले सरकारले तोकेको न्यूनतम पारिश्रमिकको २०.३७ प्रतिशत रकम योगदान गर्नु पर्छ । जसमध्ये ११ प्रतिशत रकम श्रमिक आफैँले बेहोर्नुपर्ने छ भने ९.३७ प्रतिशत रकम सरकारले थप गर्छ । स्वरोजगार व्यक्तिले भने न्यूनतम पारिश्रमिकको ३१ प्रतिशत रकम योगदान गर्नु पर्छ । कोषले जारी गरेको अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ अनुसार औपचारिक प्रबन्धले नसमेटिएका सबै प्रकारका श्रमिक अनौपचारिक क्षेत्रका श्रमिक मानिन्छ । त्यस्तै प्रचलित कानुनबमोजिम दर्ता भई वा नभई स्वयम्ले बिक्री प्रयोजनका लागि वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने व्यक्तिलाई स्वरोजगार क्षेत्रमा आबद्ध श्रमिक मानिन्छ ।   

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026