नेपाल–गौरीफन्टा नाकामा नेपालीको भिडभाड बढेको छ । सीमावर्ती भारतीय बजारमा गएर किनमेल गर्ने र चाडपर्व मनाउन भारतबाट फर्कने नेपालीको नाकामा भिडभाड भएको हो । रोजगारीको सिलसिलामा भारतमा गएका नेपाली स्वदेश फर्किरहेका छन् । किनमेलका लागि भारतीय बजार जानेको पनि कमी छैन ।
गौरीफन्टा नाकामा आउजाउ गर्नेको चहलपहल अत्यधिक बढेको धनगढी उपमहानगरपालिका विद्युतीय रिक्साचालक ध्रुव नेपालीले बताउनुभयो । गौरीफन्टा नाकादेखि धनगढी बजारसम्म यात्रु ओहोरदोहोर गराउँदै आएको उहाँले भन्नुभयो, “आउजाउ गर्ने मान्छे, सवारीसाधनको चाप नाकामा बढेको छ । पछिल्लो समय धेरै भिडभाड छ ।”
यसै गरी किनमेलका लागि भारतीय वनगाँवा बजार जानेको सङ्ख्या पनि बढ्दो छ । नेपाल सरकारले एक सय रुपियाँभन्दा बढीको सामान पारिबाट ल्याउन कडाइ गरेपछि सुनसान बनेको भारतको वनगाँवा बजार नेपालीकै कारण फेरि गुल्जार बन्न थालेको छ ।
नेपालीहरू किनमेलका लागि नजाँदा केही महिनाअगाडिसम्म बन्द जस्तै रहेको सो बजार चाडपर्व आएसँगै फेरि पुरानै लयमा फर्किएको हो । चाडपर्वलाई चाहिने आवश्यक सामग्री किनमेलका लागि धेरै नेपाली वनगाँवा बजार पुग्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले नाकामा भिडभाड बढेसँगै सुरक्षाकर्मीले चेकजाँचको कार्यलाई कडा बनाएको बताउनुभयो ।
उहाँले आवश्यकता अनुसार चेक प्वाइन्टमार्फत शङ्कास्पद गतिविधिको निगरानी भइरहेको उल्लेख गर्नुभयो । सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रणका लागि सम्बन्धित सुरक्षा निकायसँग आवश्यक समन्वय पनि भइरहेको उहाँको भनाइ छ ।
चाडपर्वमा समग्र सुरक्षाका लागि जिल्लाभरि एक हजार १४६ प्रहरी परिचालन गरिएको छ । जोखिम तथा सुरक्षा संवेदनशीलताका आधारमा प्रहरी जनशक्तिलाई विभिन्न स्थानमा परिचालन गरिएको तिमिल्सिनाले उल्लेख गर्नुभयो । उहाँले चाडपर्वलक्षित विशेष सुरक्षा योजना अन्तर्गत आवश्यकता अनुसार मोबाइल गस्ती, पैदल गस्ती, पिकेट, सादा पोसाक, क्युआरटी, स्ट्राइकिङ तथा रिजर्भ टोली परिचालन भइरहेको जानकारी दिनुभयो ।
झुलाघाटमा बढ्यो चहलपहल
वासुलिङ समाचारदाताका अनुसार झुलाघाट नाकाबाट दसैँ मनाउन स्वदेश फर्किने नेपालीको सङ्ख्या बढ्दै गएको छ । रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका नेपाली बडादसैँ नजिकिएसँगै घर फर्किन थालेपछि झुलाघाट नाकामा चहलपहल बढेको हो ।
पछिल्लो दुई सातायता यो नाकाबाट स्वदेश फर्किने नेपालीको सङ्ख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय झुलाघाटका प्रमुख, प्रहरी सहायक निरीक्षक हर्कबहादुर ढाँटका बताउनुभयो । उहाँका अनुसार अचेल दैनिक दुई सयदेखि तीन सय जनासम्म नेपाली यही नाका हुँदै स्वदेश फर्किरहेका छन् ।
मौसमी रोजगारीका लागि भारतको झुलाघाट र पिथौरागढ क्षेत्रमा पुगेकाहरू झुलाघाट नाका हुँदै स्वदेश फर्किने गरेको स्थानीय व्यापारी तिलकबहादुर चन्दले बताउनुभयो । स्वदेश फर्किनेको चाप बढेसँगै झुलाघाट बजारमा व्यापार व्यवसायसमेत बढेको स्थानीय व्यापारी लवदेव भट्टको भनाइ छ । उहाँका अनुसार बिहानैदेखि साँझसम्म बजारमा किनमेल गर्नेको भिड लाग्ने गरेको छ ।
यो नाकाबाट सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ, डडेलधुरा, डोटी, अछाम, बाजुरालगायत जिल्लाका नागरिक स्वदेश फर्किने गरेका छन् । साथै कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिकसमेत यही नाका प्रयोग गरेर घर फर्किने गरेको प्रहरी सहायक निरीक्षक ढाँटले जानकारी दिनुभयो ।
घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई समेत यात्रु ओसारपसार गर्न भ्याइ नभ्याई छ । सामान्य समयमा यात्रु पाउनसमेत कठिन हुने गरेकामा अहिले गाडीमा यात्रा गर्न पालो कुर्नुपर्ने अवस्था रहेको जिपचालक मोहन क्षेत्रीले बताउनुभयो । झुलाघाट नाकामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।