युवालाई स्वदेशमै रोक्ने विकल्प

19 December, 2024

Dr. Lakpa Sherpa

युवा देशका शक्ति पुञ्ज हुन् । युवा विकासको संवाहक हुन् । जुन देशमा युवाले आफ्नो बुद्धि, विवेक र क्षमताको प्रयोग गर्छन् त्यो देश निश्चय नै समृद्ध बन्न सक्छ । युवा देशको सशक्त र ऊर्जाशील सम्पत्ति हुन् । चाहे अल्पविकसित, विकासशील वा विकसित देशका युवा नै किन नहुन् ती युवा सबैले आफ्नो उर्वर क्षमता, ऊर्जा र योग्यतालाई देश र राष्ट्रको हितमा प्रयोग गर्न चाहन्छन् । देश विकासप्रति तीव्र इच्छा र तत्परता भएको युवालाई राज्यले ठिक ढङ्गले प्रयोग गर्न सकेमा मात्र देश समृद्ध बन्न सक्छ र त्यस देशका नागरिक पनि सुखी हुन सक्छन् । नेपालको राष्ट्रिय जनगणना २०७८ ले युवाको सङ्ख्या १,२४,१२,१७३ देखाएको छ । जनसङ्ख्याको झन्डै ४२ प्रतिशत जति युवाको सङ्ख्या देखाएको छ । १६ देखि ४० वर्ष उमेर समूहका यी युवा देश विकासको ठुलो सम्भावना बोकेको शक्ति हो । यो सम्भावनाको सही रूपमा प्रयोग हुने हो भने देशले गति लिन सक्छ । यद्यपि यस्तो शक्ति पुञ्ज सधैँ नरहन सक्छ । निश्चित समयपछि फेरि काम गर्ने युवाको सङ्ख्यामा परिवर्तन भएर वृद्धको सङ्ख्याले जित्न सक्छ । त्यतिबेला काम गर्नेभन्दा बसेर खानेको सङ्ख्या बढ्न सक्छ । विश्वका विभिन्न मुलुकमा युवा बिदेसिने गरेको पाइन्छ । शिक्षा, रोजगारी, व्यापार तथा व्यवसाय गर्नका लागि युवा विदेश जाने गरेको देखिन्छ ।

ग्लोबल इकोनोमी डट्कम नेपाल ह्युमन फ्लाइट एन्ड ब्रेनड्रेनले देखाए अनुसार सबैभन्दा धेरै युवा बिदेसिने देशमध्ये पहिलो देश भनेको समोअर दोस्रो देश भनेको जमैका हो । यी देशबाट क्रमशः १० प्रतिशत र ९.५ प्रतिशत युवा देशबाहिर जाने गरेको तथ्याङ्कले देखाएको छ । यसरी नै तेस्रोमा युक्रेन ८.९ प्रतिशत, चौथोमा प्यालेस्टाइन ८.८ प्रतिशत, पाँचौँ एल साल्भाडोर ८.७ प्रतिशत छैटौँ सोमालिया ८.६ प्रतिशत सातौँ इरिट्रिया ८.६ प्रतिशत, आठौँ अफगानिस्तान ८.५ प्रतिशत नवौँ अल्बानिया ८.५ प्रतिशत र १० औँ माइक्रोएसियाबाट ८.४ प्रतिशतले युवा बाहिरिने गरेको देखिन्छ । यसै गरेर दक्षिण एसियाली मुलुकमा भारतबाट ४.८ प्रतिशत, बङ्गलादेश ६.७ प्रतिशत, पाकिस्तान ५.५ प्रतिशत श्रीलङ्का ७.६ प्रतिशत र भुटानबाट ५.४ प्रतिशत युवा बिदेसिने गरेको देखिन्छ । यसरी हेर्दा सबै देशमा युवा पलायनको समस्या छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको अनुसार नेपालबाट विदेश अध्ययन गर्नका लागि भनेर नो अब्जेक्सन लेटर लिने विद्यार्थीको सङ्ख्या २००८/९ मा २,४८२४ जना, २०१८/१९ मा बढेर ६३,२५९ पुगेका थिए भने सन् २०२२/२३ मा बढेर त्यो सङ्ख्या १,१७५६३ पुगेको थियो । यसरी हेर्दा युवा बिदेसिने क्रम बढिरहेको देखिन्छ । नेपाल ‘ह्युमन फ्लाइट एन्ड ब्रेनडे«न’ को तथ्याङ्क अनुसार नेपालबाट युवा बिदेसिने गरेको देखिन्छ । सन् २०२० देनि २०२४ सम्मको तथ्याङ्क हेर्दा सन् २०२० मा ६.१ प्रतिशत, २०२१ मा ६.२ प्रतिशत सन् २०२२ मा ६.१ प्रतिशत, सन् २०२३ मा ६.१ प्रतिशत र सन् २०२४ मा पनि ६.१ प्रतिशतले बिदेसिएको देखाइएको छ । यसबाट मुलुकमा थुप्रै समस्या उत्पन्न भएको स्थिति देखिन्छ । श्रम गर्नका लागि पनि त्यत्तिकै मात्रामा युवा बिदेसिन्छन् भन्ने कुराको तथ्याङ्क त्रिभुवन विमानस्थलबाट दैनिक १५ सयदेखि दुई हजारसम्म युवा बाहिर जाने गरेको तथ्याङ्कले पनि पुष्टि गरेको छ ।

नेपालबाट होनाहार युवा बिदेसिने गर्नाले देशमा थुप्रै समस्या देखा पर्न थालेको छ । यसरी नै बिदेसिने हो भने राज्यले लिएको नीति, योजना र सोच पूरा गर्न कठिन हुन सक्छ । देशका सबै क्षेत्र कमजोर हुने सम्भावना रहन्छ । देशको स्रोतसाधनको परिचालन हुन सक्दैन र बिस्तारै देश परनिर्भरतातिर धकेलिन पुग्ने स्थिति रहन्छ । यसलाई तल विश्लेषण गर्ने प्रयास गरिएको छ ।

क. शिक्षित जनशक्ति अभाव 

शिक्षित जनशक्तिले मात्र देशलाई आर्थिक, सामाजिक, सांस्कतिक रूपले रूपान्तरण गर्न र समाज परिवर्तनमा योगदान पु¥याउन सक्छ । शिक्षित जनशक्तिले मुलुकको आर्थिक विकासमा पनि त्यत्तिकै भूमिका खेल्न सक्छ । सामाजिक भेदभाव, अन्याय, अत्याचार अन्त्य गर्न र विभेदलाई हटाउन शिक्षित जनशक्तिले महत्वपूर्ण भूमिका खेल्न सक्छ । देशमा शिक्षित जनशक्तिको अभाव भएमा देश विकासको गतिमा अवरोध उत्पन्न हुन सक्छ र विकास अलमलिन सक्छ । युवा बिदेसिने हुँदा देशमा शिक्षित जनशक्तिको पनि अभाव हुन जान्छ ।

ख. आर्थिक समृद्धि र विकासमा प्रभाव 

देशलाई समृद्ध बनाउने र नागरिकलाई सुखी बनाउने नेपालको राष्ट्रिय सङकल्पमा युवाले महìवपूर्ण भूमिका खेल्न सक्छन् । यस्ता होनहार युवाको विदेश पलायनले मुलुकको आर्थिक क्रियाकलाप अवरुद्ध हुन पुग्छ । देशभित्रको आर्थिक क्रियाकलापमा असर पर्न सक्छ । जमिन बाँझो रहने, खेतबारीबाट उत्पादन नहुने र देशबाट पुँजीसमेत बाहिर पलायन हुन जाने हुंँदा मुलुकको समृिद्ध रोकिन जान्छ । राष्ट्रिय लक्ष्य पूरा गर्नमा बाधा उत्पन्न हुन्छ, समृद्ध राष्ट्र सुखी नेपालीको सपना पूरा गर्न कठिन हुने छ ।

ग. गुणस्तरीय सेवामा प्रभाव 

देशको नागरिकलाई गुणस्तरीय सेवा दिन राज्यको धर्म हो । यद्यपि देशबाट गुणस्तरीय जनशक्ति बाहिर गएको खण्डमा त्यस देशका नागरिकले त्यस प्रकारको सेवा प्राप्त गर्न असमर्थ हुन्छन् । नेपालबाट पनि युवाहरू बाहिर जाने क्रम बढिरहेकाले गुणस्तरीय सेवामा बाधा पुग्न जाने देखिन्छ, जसमा स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारको गुणस्तरमा समेत कमी आउने सम्भावना रहन्छ ।

घ. राष्ट्रियता कमजोर

मुलुकबाट युवा बाहिर जाने क्रमले अन्य युवालाई पनि प्रभाव पार्छ । मुलुकमा केही हुँदैन भन्ने भाष्य निर्माण गर्न सघाउ पुग्छ । यसले राष्ट्र र राष्ट्रियतालाई कमजोर बनाउने मात्र होइन यसबाट नकारात्मक क्रियाकलाप हुन सक्छ र देशलाई चुनौती थपिन सक्छ । राज्यको नीति र काम कारबाहीमा समेत चुनौती थपिन सक्छ । जस्तै वर्तमान अवस्थामा देशबाहिर र भित्रका युवाले विभिन्न मिडियामा देशको राजनीति सम्बन्धमा निराशा पोख्ने गरेको देखिन्छ । यो पनि युवा बिदेसिने कार्यले प्रकट गरेको विकृति हो भन्न सकिन्छ ।

ङ. समाजबाट टाढा 

देशबाट युवा बाहिरी देशमा जाँदै गर्दा कतिपय युवाले आफ्नो समाज, घरपरिवारलाई बिर्सने गर्छन् । यसबाट परिवार र समाजबाट उनीहरू अलग हुन पुग्छन् । परिवारमा विचलन र विखण्डन आउन सक्छ । पारिवारिक विखण्डन मात्र नभएर परिवारको आर्थिक र सामाजिक परिवेशमा समेत असर पुग्न सक्छ । यसबाट समाजलाई अग्रगामी दिशामा लैजानका लागि बाधा पुग्न सक्ने देखिन्छ ।

समस्या समाधानका उपाय

विश्व भूमण्डलीकरण, उदारीकरण, प्रविधि र सञ्चारको विकासले गर्दा युवालाई विदेश जानबाट रोक्ने भन्ने हुन सक्दैन । विश्वका मुलुकले गरेको विकाससँगै त्यहाँ अवसर पनि सिर्जना हुने भएकाले युवा निश्चय नै एक देशबाट अर्को देशमा जाने गर्छन् । यद्यपि आफ्नो देशमा रोजगारीको कुनै विकल्प नै नभएर, देशभित्र बसेर केही गरौँ भन्ने परिस्थिति नै नभएर वा सबै विकल्प बन्द भएर विदेश जाने कुराप्रति राज्य गम्भीर हुनु पर्छ । यसका लागि निम्न विषयमा ध्यान दिन जरुरी देखिन्छ ।

रोजगारी सिर्जना : स्वदेशमा रोजगारी सिर्जना हुन साथ कामका लागि विदेश जाने युवा आफ्नै देशमा आफ्नै परिवारसँग हाँसीखुसी रमाएर काम गर्न रुचाउँछन् र बिदेसिनु पर्ने स्थिति रहन्न । परिवारको लालनपालनका लागि आफ्नै देशमा पसिना बगाउन चाहन्छन् । तसर्थ स्वदेशमा कलकारखाना, उद्योगधन्दा, कृषि उत्पादन व्यवसाय पर्यटन उद्योग होटेल व्यवसाय र विद्युत् उत्पादनमा लगानी गरेर युवालाई रोजगारी सिर्जना गरिनु पर्छ । युवाहरू आफैँले सानातिना उद्यम व्यवसाय सञ्चालन गरेर उद्यमी व्यवसायी बनेर अरूका लागि पनि रोजगारी सिर्जना गर्ने कार्यमा युवालाई आकर्षित गर्न सरकारले आर्थिक लगानी गरिदिनु पर्छ ।

राजनीतिक स्थिरता : अस्थिर राजनीतिक वातावरणकै कारणले गर्दा देशमा उद्योग व्यवसाय सञ्चालनमा बाधा पुग्न गई उत्पादन घट्ने हुनाले युवा निराश हुने हुँदा देशको राजनीतिक प्रणालीमा सुधार हुनु पर्छ । बन्द, हडताल, जुलुस, धर्ना जस्ता गतिविधि नभएको अवस्थामा युवाले काम गर्ने अवसर पाउँछन् । यसै गरी सुशासनको प्रत्याभूति, कानुनी राज्य, युवाको सहभागिता, शिक्षा प्रणालीमा सुधार तथा नीतिगत प्रयास हुने हो भने युवा बिदेसिने क्रम रोकिन सक्छ ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि युवा 

दिगो विकास लक्ष्य हासिल गर्नका लागि युवाको सशक्त परिचालन हुन जरुरी देखिन्छ । समृद्ध नेपाल सुखी नेपालीका राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सामाजिक न्याय र आर्थिक विकासमा जोड दिनुपर्ने देखिन्छ । समतामूलक समाज स्थापनाका लागि सामाजिक विभेद अन्त्य गर्न युवामा सकारात्मक भावनाको विकास गर्न जरुरी देखिन्छ । आईएलओको सन् २०२३ को तथ्याङ्क अनुसार सन् २०१० देखि २०२० मा नेपालको निरपेक्ष गरिबी २५.१ देखि १७.७ मा घटेको थियो भने १६ आयामिक गरिबी पनि ३९.१ बाट १७.४ मा घटेको थियो । सन् २०२१ मा दिगो विकासको श्रेणीमा नेपालको स्थान १६५ राष्ट्रमा ९६ औँ स्थानमा थियो । यसरी हेर्दा कतिपय दक्षिण एसियाली मुलुकमा नेपाल अगाडि रहेको थियो । सन् २००८ देखि २०१६ सम्मको आर्थिक वृद्धिलाई हेर्दा औसत ४.२ रहेकोमा २०१७ देखि २०१९ मा यो बढेर ६.३ सम्म पुगेको थियो । 

अन्त्यमा

 अबको २०/२५ वर्षपछाडि युवाको जनसङ्ख्यामा कमी आउन सक्छ । अहिलेको जनसाङ्ख्यिक लाभ लिन त्यतिबेला धेरै ढिलाइ भइसकेको हुन्छ । राज्यले जनसाङ्ख्यिक लाभलाई उपयोग गरिहाल्नुपर्ने अवस्था छ । युवा तथा खेलकुद मन्त्रालयले युवालाई  उनीहरूको सुदूर भविष्यसम्मका निम्ति देशभित्रै सम्भावना छ भनेर आशा जगाउन सक्छ भने मन्त्रालयले युवा ऐन, नीति, कानुन तथा दीर्घकालीन सोच निर्माण र कार्यान्वयनमा विशेष भूमिका खेल्न सक्छ । हुन त केही नभएको भने पक्कै होइन । केही सकारात्मक कार्य अवश्य पनि हुन थालेका छन् । जस्तै स्थानीय निर्वाचनमा युवा निर्वाचित भएर आएका छन् । यसलाई हेर्दा आशालाग्दो कार्य पनि भएका छन् । उनीहरूका क्रियाकलाप र गतिविधिले युवालाई आकर्षण गर्ने हुँदा स्थानीय युवा प्रतिनिधिले जिम्मेवारका साथ अगाडि बढ्नुपर्ने देखिन्छ । यद्यपि प्रदेश र सङ्घमा भने युवाको सङ्ख्या बढ्न सकेको देखिन्न । देशभित्र पनि योग्यता भएका जनशक्ति छन् तर आवश्यक परेका बेला सम्बन्धित क्षमताको जनशक्ति पाउन कठिन देखिन्छ । बजारको माग अनुसारको योग्यता क्षमता भएको जनशक्ति भेटाउन नसकेको अवस्था छ ।   

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024