स्वदेशमै बसेर विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणीय पात्र बने गिरीराज

23 December, 2024

नेपालमा केही गर्न सकिएन। राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ। तर गर्न सके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ। पछिल्लो समय कृषि पेसा छाड्नेको सङ्ख्या त बढ्दै गएको छ। तर कृषि पेसा  गरेर मनग्य कमाउने किसान गाउँमा नै रमाइरहेका छन्। 

कृषि पेसाबाट नै गर्न सके स्वदेशमै बसेर विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणको पात्र बनेका छन् इलामको सन्दकपुर गाउँपालिका–२ का गिरीराज खनाल। उनले यसै वर्ष रु ३४ लाखभन्दा बढीको अलैँची उत्पादन गरेका छन्। उनी पूर्व वडाध्यक्षसमेत हुन्।

सन्दकपुर–२ माइमझुवाका किसान खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन अलैँची उत्पादन गरेको बताए। अलैँचीको मूल्य हाल १२ वर्षयताकै उच्च अर्थात् प्रतिमन रु एक लाख १५ हजार छ। तीस मन अलैँचीको प्रतिमन रु एक लाख १५ हजारको मूल्यले पनि रु ३४ लाख ५० हजार पर्न जान्छ। यो उनको एकै वर्षको आम्दानी हो।

गाउँगाउँमा पुगेका व्यापारीले महँगो मूल्य लगाउने गरेका छन्। बजारमा व्यापारीले अलैँची प्रतिमन रु एक लाख १० हजारमा खरिद गर्ने गरेका छन्। खनालले लामो समयदेखि अलैँचीखेती गर्दै आएका छन्। बीचमा किसानले लगाएको अलैँची मासिँदा पनि आफूले सो खेती नछाडेको उनले बताए। बीचमा दानाबाट समेत अलैँची उत्पादन गरेर जिल्ला तथा जिल्ला बाहिरका किसानसमक्ष बिरुवा पुर्याएको खनालले बताए।

धेरै मेहनत नलाग्ने अलैँची खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ। सुरुमा बिरुवा रोप्दा बारी फँडानी गर्न र बिरुवा लगाउन धेरै खर्च हुने भए पनि त्यसपछि अलैँची उत्पादन भएपछि टिप्न र छोडाउन बढी खर्च हुने गरेको किसान खनालको भनाइ छ। बीचमा गोडमेल, मलजल र पानी लगाउनुपर्ने हुन्छ। सो कार्यमा खास खर्च नलाग्ने उनले बताए।  

हाल खनालले ३३ रोपनी र २४ रोपनीका दुई प्लटमा अलैँची खेती गरेका छन्। हिउँदको समयमा तुसारो पर्ने भएकाले यसबाट जोगाउन ‘ग्रीन नेट’ लगाउने गरिन्छ। आगामी वर्षदेखि उत्पादन बढ्ने उनले बताए। अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ। गएको वर्ष लगाएको नयाँ बिरुवाबाट पनि उत्पादन बढ्ने उनले बताए।

राजनीति गर्ने मान्छेले केही न केही काम गर्नुपर्ने खनाल बताउँछन्। राजनीति गर्न खर्च आवश्यक पर्ने भएकाले पनि केही काम गर्नुपर्ने भएकाले आफूले कृषि पेसा गर्ने गरेको उनी बताउँछन्। खनाल जस्तै जिल्लाका अन्य किसानले समेत यस वर्ष अलैँचीबाट मनग्य आम्दानी गरेका छन्। 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार बर्सेनि रु चार अर्ब १५ करोड बराबरको अलैँची निकासी भइरहेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा सात सय ८३ दशमलव ७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कम हो। आव २०८०/८१ मा एक हजार पाँच सय २५ दशमलव ९६ मेट्रिक टन अलैँची निर्यात भएको तथ्याङ्कमा उल्लेख छ।

अलैँची औषधीय गुण भएको नगदेबाली हो। यसबाट विशेष गरेर औषधिजन्य वस्तु निर्माण हुने गरेका छन्। गर्मीमा अलैँचीलाई शीतलता प्रदानका लागि प्रयोग गर्ने गरिन्छ। मसलाका रूपमा पनि अलैँचीलाई प्रयोग गर्ने गरिन्छ। गाउँघरमा विशेष  गरेर मासु पकाउँदा अलैँचीलाई जिरासँग मिसाएर पकाइने गरिन्छ। सर्वत पानीमा समेत यसलाई प्रयोग गरिन्छ। तर नेपालबाट विदेश निर्यात हुने अलैँचीबाट अत्तर (पर्फ्युम)समेत निर्माण हुने गरेको छ।  

भारतको बाटो भएर विदेश निर्यात हुने अलैँची धेरै मात्रामा चाहिँ औषधिका रूपमा प्रयोग हुने गरेको छ। नेपालमा अलैँची प्रशोधन नहुँदा पनि समस्या भइरहेको छ। झापामा एउटा प्रशोधन केन्द्र भए पनि यो पर्यात नभएको व्यवसायीको भनाइ छ। रासस

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024