९५ शैक्षिक ‘कन्सल्टेन्सी’माथि प्रहरीको छापा, ६९ जना सञ्चालक पक्राउ

18 May, 2026

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारी र उच्च शिक्षाका नाममा ठगी गर्ने ९५ वटा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) माथि एकैसाथ छापा मारेकाे छ । साेही क्रममा ६९ जना सञ्चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विदेश पढ्न पठाइदिन्छु भन्दै नेपाली नागरिकहरूलाई ठगी गरेको भन्ने उजुरी परेपछि प्रहरीले शुक्रबार उपत्यकाका विभिन्न स्थानमा रहेका कन्सल्टेन्सीहरूमा एकैसाथ छापा मारेको थियो ।

प्रहरीका अनुसार कारबाहीमा परेका संस्थाहरूले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ मा उल्लेखित मापदण्डहरू पालना नगरेको पाइएको छ।

उनीहरुले कन्सल्टेन्सी दर्ता नगरी /नवीकरण नगराई सञ्चालन गरेको तथा सरकारबाट इजाजत नलिई शैक्षिक परामर्श, भाषा शिक्षण र पूर्व तयारी कक्षाहरू सञ्चालन गर्नूका साथै उच्च शिक्षाका लागि विदेश पठाइदिने प्रलोभन देखाई नागरिकहरूलाई आर्थिक ठगी गरेको पाइएको हो ।

पक्राउ परेका ६९ जना सञ्चालकहरूमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जारी दिए । साथै उनले यस्तै शैक्षिक परामर्श केन्द्रहरूबाट ठगीमा परेका पीडितहरूलाई यथाशिघ्र टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा सम्पर्क राख्न अनुरोध समेत गरेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024