कस्तो छ प्रवासी नेपालीको दसैं तयारी ?

26 October, 2026

Hom Karki

बाध्यताले मात्रै होइन, अवसर र रहरको खोजीमा पनि नेपालीहरू संसारभर पुगेका छन् । भूगोलको जुनसुकै कुनामा पुगे पनि नेपाली मनभित्र नेपाली पर्व र यसका संस्कारजन्य पक्षसँग बेग्लै लगाव र अपनत्व छ । उनीहरू दसैं सम्झिन्छन् । तिहार सम्झिन्छन् । अनि अन्य चाडपर्वका रौनक सम्झिन्छन् ।

प्रवासी नेपालीहरूको सम्झनामा दसैं कसरी बसेको छ ? उनीहरू दसैंका बेला के गर्छन् ? पुराना सम्झनाहरू कसरी सम्झिन्छन् । हामीले १५ विभिन्न देशमा रहेका २६ प्रवासी नेपालीको दसैं अनुभव सँगालेका छौं ।

रसिया
मिलन कट्टेल
अध्यक्ष, गैरआवासीय नेपाली संघ, रसिया

परदेशको सानो जमघटले पनि घरको न्यानोपन दिन्छ


संसारको जुनसुकै कुनामा रहे पनि नेपालीहरू बडादसैंलाई आफ्नो संस्कृति र पहिचानको अभिन्न अंगका रूपमा मनाउँछन् । मस्कोमा बस्ने नेपालीहरूका लागि दसैंको मुख्य आकर्षण नेपाली दूतावासमा आयोजना हुने टीका कार्यक्रम हो । दूतावासमा पुग्न नसक्नेहरूले भने आफ्नो कार्यस्थल वा अध्ययनस्थलमै दसैं मनाउँछन् । छात्रावासमा बस्ने नेपाली विद्यार्थीहरू एकै ठाउँमा भेला भएर मीठो परिकार पकाउँछन्, सँगै खान्छन् र यस शुभ दिनलाई रमाइलोसँग मनाउँछन्। परदेशमा यस्ता सानो जमघटले पनि घरको न्यानोपन दिन्छ ।

घरपरिवारदेखि टाढा रहेकाहरूका लागि आजको प्रविधि ठूलो सहारा बनेको छ । भिडियो कलमार्फत नेपालमा रहेका आमाबुबा, दाजुभाइ, दिदीबहिनी र आफन्तहरूसँग कुराकानी गर्दै, उनीहरूको आशीर्वाद लिँदै धेरैले दसैं मनाउँछन्।

तर जतिसुकै प्रयास गरे पनि आफ्नै देशमा, आफ्नै परिवारसँग मनाइने दसैंको ठाउँ कुनै पनि कुराले लिन सक्दैन । यस्तो ठूलो चाडमा देशको याद आउनु स्वाभाविक हो । काम र अध्ययनको सिलसिलामा हरेक वर्ष घर फर्कन सम्भव नहुने भएकाले हामी जहाँ छौं, त्यहीँबाट यो चाडलाई जीवन्त राख्ने प्रयास गर्छौं ।

पोर्चुगल
अर्जुन भण्डारी

सचिव, एनआरएन पोर्चुगल

हामी परदेशमा बस्नेलाई चाडपर्व खल्लो लाग्ने हुँदोरहेछ

हामी परदेशमा बस्नेलाई चाडपर्व खल्लो लाग्ने हुँदोरहेछ । परिवारसँग बस्ने निकै कम छन् । दसैंमा धेरै खल्लो नहोस् भनेर यहाँको संघसंस्थाले भेटघाट गर्छन् । समय मिलेसम्म एक ठाउँमा भेला हुन्छन् । एक ठाउँमा बसेर टीका लगाउने, आशीर्वाद लिने काम गर्छन् । प्रवासमा आफ्नो परम्परा र संस्कृतिलाई निरन्तरता दिएका छौं । नयाँ पुस्ताले पनि सिक्नेछ ।

जापान
अनिश सत्याल

घटस्थापना गइसक्दा पनि थाहा भएन

आवाज सुन्नुहोस्
०:००
नेपालमा हुँदा डेढ महिना अगाडिदेखि नै दसैं आउने दिन गनेर बसिन्थ्यो । यहाँ घटस्थापना गइसक्दा पनि थाहा भएन । गाउँघरका साथीभाइसँग मन्दिर गएको, घुमघाम गरेको याद आउँछ । यहाँ त सबै जना ब्यस्त हुन्छन् । दसैं मनाउन त भन्यो भने एक ठाउँमा भेला हुन नै कठिन छ । काममा बिदा पाइँदैन । परिवार भएकाले पहिलादेखि नै दसैंका लागि छुट्टी राखिसकेको हुन्छ ।

कतार
कपिल भारती

घर टाढा होला तर मन सधैं नेपालमै छ


हामी नेपालमा रहेका आफ्ना प्रियजनहरूले दसैं मनाइरहेका तस्बिरहरू हेर्छौं र उनीहरूका फोटा आउने प्रतीक्षामा बस्छौँ। मनको एउटा कुनाले बारम्बार सोध्छ, “हामी आफ्नो घरबाट यति टाढा किन छौँ ?”

तर मनकै अर्को कुनाले सम्झाउँछ, “हामी यहाँ छौँ ताकि हाम्रो परिवारले राम्रो जीवन बिताउन सकोस्।”

यही नै विदेशमा श्रम गर्ने हजारौँ आप्रवासी नेपालीहरूको मौन त्याग हो । आफ्ना रहर, खुसी र चाडपर्वका अमूल्य क्षणहरूलाई थाती राखेर परिवारको भविष्य उज्ज्वल बनाउने सपना बोकेर उनीहरू परदेशमा पसिना बगाइरहेका छन् ।

हामी आफ्नो जन्मभूमिबाट टाढा हुन सक्छौं, तर दसैंको माया, सम्झना र आत्मीयता सधैँ हाम्रो हृदयमा जीवित रहनेछ ।

जब–जब परदेशको यात्रा अघि बढ्दै गयो, बिस्तारै साथीभाइ, घरपरिवार, इष्टमित्र र छरछिमेकसँगको दूरी पनि बढ्दै गयो । भौतिक रूपमा टाढिँदै जाँदा मनका सम्बन्धहरू उस्तै रहे पनि सँगै बिताएका पलहरू, भेटघाट र आत्मीयताको अभाव भने झन् गहिरिँदै गयो।

घर टाढा होला, तर मन सधैं नेपालमै छ ।

अनिश अधिकारी

परदेशमा सबैभन्दा धेरै परिवारको याद आउने नै चाडपर्वमा हो

आवाज सुन्नुहोस्
०:००
चाडपर्वको झलझली याद आउँछ । मैले दसैं नमनाएको दुई वर्ष भयो । चाडपर्वमा घर परिवारसँग टाढा भएर बस्नुपर्दा एकदमै नरमाइलो हुन्छ । परदेशमा सबैभन्दा धेरै परिवारको याद आउने नै चाडपर्वमा हो । विदेशमा चाडपर्वको रौनक हुँदैन । कोही आफन्त वा दाजुभाइ साथमा नै हुनुहुन्छ भने रौनक होला । कोही पनि नहुने मजस्तोलाई विदेशमा चाडपर्वले छुँदैन । बिदा पनि पाइँदैन ।

बाबुराम महत
मेरो अनुभवमा दसैँको टीकाको उत्तम साइत शुक्रबार परेको छैन


म २३ वर्षदेखि कतारमा कार्यरत छु । मेरो दुई दशकभन्दा लामो कतार बसाइको अनुभवमा यहाँको दसैँ नेपालमा मनाइने दसैंभन्दा निकै फरक हुन्छ । नेपालमा हुँदा परिवार, आफन्त, इष्टमित्र र गाउँघरका साथीभाइसँग रमाइलो गर्दै दसैं मनाइन्थ्यो । तर प्रवासमा भने कामको व्यस्तता र समयको अभावका कारण नेपालमा जस्तो हर्षोल्लासका साथ दसैँ मनाउन पाइँदैन ।

कतारमा शुक्रबार प्रायः साप्ताहिक बिदा हुने भएकाले दसैँको टीका लगाउने दिन पनि शुक्रबार परेमा केही सहज हुन्छ । तर मेरो अनुभवमा दसैँको टीकाको उत्तम साइत शुक्रबार परेको छैन । नेपालमा आफन्तजनले नयाँ कपडा लगाएर, मीठा–मीठा परिकार खाएर र परिवारसँग रमाइलो गर्दै दसैँ मनाइरहँदा हामीले भने तातो घाममा पसिना बगाउँदै काम गर्नुपर्छ । भात र तरकारी प्लास्टिकको भाँडोमा बोकेर काम गर्ने ठाउँमा पुग्नुपर्ने र दिनभरि बेल्चा हानेर थकित शरीर लिएर कोठामा फर्कनुपर्ने हाम्रो बाध्यता हुन्छ ।

दिनभरको थकाइलाई केही समय भए पनि विश्राम दिँदै, फ्रेस भएर हामी एकआपसमा भेटघाट गर्छौँ । आफूभन्दा ज्येष्ठ तथा अग्रज साथीहरूसँग टीका लगाएर दसै मनाउने हाम्रो चलन छ। परिवारबाट टाढा भए पनि साथीभाइसँगको भेटघाट र टीकाको आदानप्रदानले केही हदसम्म घरपरिवारको सम्झना कम गराउने प्रयास गर्छ।

म भने घटस्थापनाकै दिन आफ्नो कोठामा जमरा राख्ने गर्छु । दसैँको टीकाका लागि आवश्यक सामग्रीहरू पनि पहिल्यै जुटाएर राखेको हुन्छु। गाउँघरका इष्टमित्र तथा साथीभाइहरू मेरो कोठामा आइरहनुहुन्छ। बिदाको दिन कोठामा आउने गाउँघरका साथीहरूलाई टीका लगाइदिने र आफूले पनि टीका ग्रहण गर्ने गर्छु ।

भीम तरामु मगर

नेपालमै भए जसरी सम्झना आउने गरी पर्वहरू मनाउँछौं

आवाज सुन्नुहोस्
०:००
चाडपर्वमा नेपाल जान सकिँदैन । यहाँ नेपालमै भए जसरी सम्झना आउने गरी पर्वहरू मनाउँछौं । आफूभन्दा मान्यजन र अग्रज व्यक्तिबाट टीका लगाउने काम भइरहेको छ । हामीले लुम्बिनी प्रदेशका मानिसहरू एक ठाउँमा भेला भएर दसैं मिलन कार्यक्रम मनाउने योजना बनाएका छौं ।

यूएई
विनोद खतिवडा

विदेशमा दसैं नै के हो ? के हो ? जस्तो लाग्छ

आवाज सुन्नुहोस्
०:००
पालैपालो आफन्तको घरमा गई खाना खाने र ठूलासँग टीका थाप्न जाने एकदमै सम्झना आउँछ । यहाँ एकै ठाउँमा बस्ने साथीभाइ सँगसँगै बसेर पनि खाना खान पाइँदैन । ड्युटीबाट आउँदा कोही सुतिसकेको हुन्छ । कोही ड्युटी जाने तयारीमा हुन्छ । विदेशमा दसैं नै के हो ? के हो ? जस्तो लाग्छ ।

शारदा रेग्मी

१५ वर्षदेखि यूएईमा छु, यसबीचमा तीन वटा दसैं मात्रै नेपालमा मनाएँ

१५ वर्षदेखि यूएईमा छु । यसबीचमा तीन वटा दसैं मात्रै नेपालमा मनाएँ । घरमा र यहाँ दसैं मनाउन धेरै फरक हुन्छ । यहाँ ड्युटी मिलाएर मात्रै मनाउन पाइन्छ । यहाँ दिदीबहिनी, छोरी र दाजुभाइ यतै छन् । सकेसम्म उनीहरू सबै एकै ठाउँमा भेट्ने योजना गरिरहेका छौं । विजयादशमीको दिनमा भेट नभए पनि पूर्णिमासम्म भए पनि भेट्ने योजना छ ।

वसन्ती भट्टराई

सात वर्षको अन्तरालमा दुई दसैं घरमा मनाएँ

सात वर्षको अन्तरालमा दुई दसैं घरमा मनाएँ । यहाँ ड्युटी सकेर आएर दसैं मनाउने हो । यहाँ साथीभाइसँग मिलिजुली मनाउने हो । नेपालमा हुँदा त परिवारसँग बस्न, भेट्न पाइन्छ ।

बिना श्रेष्ठ

परदेशमा भनेको समयमा कतै जान पाइँदैन

यूएईमा काम गरेको आठ वर्ष भयो । एक वर्ष मात्रै घरमा गएर दसैं मनाउन पाएको छु । परदेशमा भनेको समयमा कतै जान पाइँदैन । दुःख लाग्छ ।

सीता बस्याल

२०११ देखि यूएईमा काम गरिरहेको छु, अहिलेसम्म दसैं मनाउन घर जान पाएको छैन

म २०११ देखि यूएईमा काम गरिरहेको छु । अहिलेसम्म दसैं मनाउन घर जान पाएको छैन । यस पटक जाने कोसिस गरेको थिएँ । म आउन पाइनँ । बुबाआमा, दाजुभाइ र दिदीबहिनीलाई बिजयादशमीको शुभकामना ।

शान्ति बस्याल

१८ वर्षदेखि यूएईमा काम गरिरहेको छु, अहिलेसम्म घर फर्केर दसैं मनाएको छैन


म १८ वर्षदेखि यूएईमा काम गरिरहेको छु । अहिलेसम्म घर फर्केर दसैं मनाएको छैन । मैले धेरै सम्झिरहेको छु । विदेशमा भए पनि चाडपर्वमा रमाउने कोसिस गर्दै छु ।

ब्रुनाई
प्रेम थापा

यहाँ त मनमा मात्रै दसैं आउँछ

आवाज सुन्नुहोस्
०:००
म काम गर्ने कम्पनीमा एक जना पनि नेपाली छैन । यहाँ त मनमा मात्रै दसैं आउँछ । यही सम्झनामा दसैं बित्छ ।

कुवेत
धीरेन्द्र सुवेदी

चर्को हवाई भाडादरले गर्दा श्रमिक चाहेर पनि छुट्टी मिल्दा जान सक्दैनन्

चाडबाडको मुखमा चर्को हवाई भाडादरले गर्दा कति श्रमिकहरू चाहेर पनि छुट्टी मिल्दा जान सक्नु हुँदैन । जेनतेन दसैं खर्च परिवारलाई जुटाएर यतै साथीभाइसँग रमाइलो गर्ने सोच बोकेर बस्नु हुन्छ ।

कतिको त ड्युटी पर्छ । न दसैं न तिहार, त्यही टीकाको दिन परिवारसँग फोन भिडियोमा एकछिन कुरा गरेर परिवारको खुसीसँगै उत्सव मनाएर ड्युटी गर्नु हुन्छ ।

केही साथीहरू समुद्री तटमा गएर पौडी खेल्ने, खाना लगेर उतै रमाउने या पार्कहरूमा आफूनिकट साथीहरू जमघट गरेर उत्सव मनाउने चलन पनि छ । संघसंस्थाहरूले नेपालबाट दिग्गज कलाकारहरू ल्याएर हल बुक गरी सांस्कृतिक कार्यक्रम गर्ने चलन पनि छ । तर यसपाला यस्तो केही तयारी देखिएको छैन । मध्यपूर्वको युद्ध तनाव, देशले भोकेको प्राकृतिक विपत्तिका कारण यसपाला खासै उत्सव मनाउने इच्छा कुनै पनि संघसंस्थाहरूले हालसम्म योजना गरेको भेटिएको छैन ।

साउदी अरब
डिल्लीराम भट्टराई

पैसाले आवश्यकता पूरा होला तर परिवारसँग बसेर मनाएको दसैंको खुसी किन्न सकिँदैन

साउदी अरबको व्यस्त जीवनमा दसैं आउँदा ती सम्झनाले मन भावुक बनाउँछन् ।

प्रवासमा कतिले साथीभाइसँग टीका लगाएर दसैं मनाउँछन्, कतिले काममै दिन बिताउँछन् । परिवारसँग भिडियो कलमा कुरा गर्दा अनुहारमा मुस्कान देखिए पनि मनभित्र घर फर्किन नपाएको पीडा लुकेको हुन्छ । छोराछोरीलाई अँगालो हाल्न, श्रीमतीसँग खुसी साट्न र आमाबुबाको आशीर्वाद लिन नपाउँदाको अभाव शब्दमा व्यक्त गर्न सकिँदैन ।

परिवारको खुसीका लागि परदेशिएका हामीले पैसा त कमाउँछौँ, तर आफ्ना मान्छेसँग बिताउने अमूल्य पलहरू गुमाइरहेका हुन्छौँ। आखिर पैसाले आवश्यकता पूरा होला, तर परिवारसँग बसेर मनाएको दसैंको खुसी कहिल्यै किन्न सकिँदैन।

नेपालमा हुँदा दसैं एउटा पर्व थियो, प्रवासमा आएपछि त्यही दसैं सम्झना, माया र विरहको कथा बनेको छ । शरीर परदेशमा भए पनि मन सधैँ आफ्नै गाउँघर र परिवारसँगै हुन्छ ।

बुद्धि बाँस्तोला

अरूका लागि हामी विदेशमा कमाउने मान्छे हौँ तर आफ्नै मनका लागि हामी परिवारको साथ खोजिरहेका अधुरा मान्छे हौँ

आज १८ वर्ष भएछ प्रवासको भूमिमा पसिना बगाउन थालेको । यी १८ वर्षमा कति दसैं आए, कति दसैं गए, तर आफ्नो परिवारसँग बसेर दसैं मनाउने अवसर जम्मा २ पटक मात्र पाएँ ।

अरूका घरमा दसैंको रौनक देख्दा, आफ्ना मान्छेहरू नयाँ लुगा लगाएर रमाएको सम्झिँदा र सामाजिक सञ्जालमा परिवारसँग टीका लगाएका तस्बिरहरू देख्दा मनभित्र कति पीडा हुन्छ, त्यो शब्दमा व्यक्त गर्न सकिँदैन।

आफ्नो घरमा पनि दसैं आउँछ, आफ्ना पनि छन्, आफ्नो मनलाई पनि परिवारसँगै बसेर हाँस्न, रमाउन र खुसी साट्न मन लाग्छ । तर के गर्नु, प्रवासीको जीवनमा रहरभन्दा बाध्यता ठूलो हुँदो रहेछ। आफ्ना रहरहरू मारेर परिवारको खुसीका लागि परदेशमा पसिना बगाउनुपर्ने रहेछ।

दसैं आउँदा गाउँघरको सम्झना आउँछ, आमाबुबाको आशीर्वाद सम्झिन्छु, श्रीमती र छोराछोरीको मायाले मन भक्कानिन्छ । मनले भन्छ, —यो दसैं त घरमै मनाऊँ, आफ्ना मान्छेहरूसँग बसौँ, छोराछोरीलाई अँगालो हालौँ, परिवारसँगै बसेर मीठोमसिनो खाऊँ। तर जिम्मेवारीले फेरि यही परदेशको भूमिमा बाँधिदिन्छ।

अरूका लागि हामी विदेशमा कमाउने मान्छे हौँ, तर आफ्नै मनका लागि हामी परिवारको साथ खोजिरहेका अधुरा मान्छे हौँ।

कहिलेकाहीँ लाग्छ, पैसा कमाउन त जीवनको धेरै समय बिताइसकियो, तर आफ्ना मान्छेहरूसँग बिताउनुपर्ने अमूल्य पलहरू नै कतै हराउँदै गएछन् ।

आज मनमा एउटै प्रश्न छ, —परिवारको खुसीका लागि आफ्नो जीवनका कति दसैं, कति तिहार र कति खुसीहरू यसरी नै त्याग्नुपर्ने हो ?

इटली
गीता मगर

चाडपर्व सुरु भएपछि धेरै दुःख लाग्छ

आवाज सुन्नुहोस्
०:००
हामी बसेको ठाउँमा त चाडपर्व केही मनाउँदैनन् । आफ्नो आफ्नो ड्युटी हुन्छ । रेस्टुरेन्ट लाइनको काम हुन्छ । एक्कै दिन पनि छुट्टी मिल्दैन । यहाँ कोठामा मानिसहरू जम्मा हुन मिल्दैन । होहल्ला गर्न मिल्दैन । यहाँ आएर कुनै चाडपर्व मनाएको पनि छैन । म बसेको अपार्टमेन्टभित्र नेपाली हामी मात्रै छौं । अरू अन्य देशका छन् । यस्तो बेला अलि कठिन हुँदोरहेछ । परिवार साथमा भए पनि टीकाको साइतमा टीका लगाउन पाइँदैन । ड्युटी सकेर बेलुका आएपछि मात्रै टीका लगाउने हो । चाडपर्व सुरु भएपछि धेरै दुःख लाग्छ । आफ्नो देश, परिवारको धेरै याद आउँदोरहेछ ।

बहराइन
रामचन्द्र श्रेष्ठ

क्याम्पमा सबै नेपाली दाजुभाइ खसी काटेर मिलेर खान्छौं

आवाज सुन्नुहोस्
०:००
म ६ वर्षदेखि बहराइनमा छु । बुबाआमाको हातबाट टीका लगाउने र परिवारसँग बसेर रमाइलो गरेको दिनहरू धेरै याद आउँछ । प्रवासमा परिवारबाट टाढा बसेर चाडपर्व मनाउँदा दुःख लाग्छ । हाम्रो कम्पनीले हामीलाई हरेक वर्ष दसैंमा खसीको व्यवस्था गरिदिन्छ । क्याम्पमा भएका सबै नेपाली दाजुभाइ बसेर खसी काटेर मिलेर खान्छौं । यसले हामीलाई आफ्नै घर परिवारसँग बसेको अनुभूति हुन्छ ।

मलेसिया
वेदकुमार खतिवडा

विदेशमा हामीलाई के चाड ? के पर्व ?

विदेशमा हामीलाई के चाड, के पर्व ? विजयादशमीको दिनमा कम्पनीमा काम गर्ने नेपाली दाजुभाइ र दिदीबहिनीहरू आआफ्ना होस्टलमा बस्छन् । साथीहरूसँग बसेर मीठा–मीठा परिकार बनाउने, नाचगान गर्ने गर्छौं । दीपावालीको दिनमा त मलेसिया सरकारले नै एक दिनको बिदा दिन्छ । यो दिन बढी रमाइलो हुन्छ । स्वदेशमा भएजस्तो रमाइलो हुँदैन ।

स्पेन
साजन रिमाल

परदेशको दसैंमा मनभरि नेपाल छ, आँखाभरि परिवार

परदेशको दसैंमा मनभरि नेपाल छ । आँखाभरि परिवार छ । दसैंमा गाउँ–सहरका घरमा सरसफाइ चलिरहेको होला । घरमा रातो माटो लिप्ने, जमघट गर्ने धेरै सम्झना आउँछ । साथीहरूसँग खेलेको भेटेको, ठूला व्यक्तिसँग आशीर्वाद लिएको धेरै सम्झना हुन्छ । परदेशमा मानिसहरू दसैंको दिन पनि ड्युटी जानुपर्छ । परदेशमा चाडपर्व मनाउने भनेको आफ्नो धर्म र परम्परालाई जीवित राख्नु मात्रै हो । यहाँ पनि पूजाआजा सुरु भएको छ । आत्मीयता साटासाट गर्ने हुन्छ । हामी परिवारसँग भेटघाट गरेर खुसी साटासाट गर्ने दिनको प्रतीक्षामा बसिरहेका छौं ।

इराक
टीका विश्वकर्मा

थोरै अभाव र धेरै सम्झनाबीच प्रवासमा दसैं मनाइनेछ

थोरै अभाव र धेरै सम्झनाका बीच प्रवासमा दसैं मनाइनेछ । आँखाभरि गाउँघरको तस्बिरहरू सजिएका हुन्छन् । इराकको बग्दादमा हामी सकेसम्म भेटघाट गर्ने प्रयासमा छौं ।

चञ्चला जोशी

चाडपर्व आउनेबित्तिकै परदेशीलाई नराम्रो लाग्छ

चाडपर्व आउनेबित्तिकै परदेशीलाई नराम्रो लाग्छ । गाउँघरको याद, टीका लगाएको, रोटेपिङ खेलेको र ठूलाबडासँग आशीर्वाद लिएको अवश्य याद आउँछ । आफ्नो कर्म गर्नैपर्‍यो । परदेशमा रहे पनि आफ्नो परिवारको सुख शान्तिको कामना गर्छु । बग्दादमा भएका नेपालीसँग भेटघाट गर्ने प्रयासमा छौं ।

बेलायत
दीपिका पोखरेल

जति दिन दसैं नजिकिँदै छ, त्यति नै परिवारलाई धेरै सम्झिरहेको छु

जति दिन दसैं नजिकिँदै छ, त्यति नै परिवारलाई धेरै सम्झिरहेको छु । यस्तो बेला धेरै दुःख लाग्दोरहेछ । काठमाडौंमा हुँदा इलाममा रहेको घर जान निकै उत्साहित हुन्थ्यो । मलाई दसैंको प्रत्येक पलपलको याद आइरहेको छ ।

अस्ट्रेलिया
सिर्जना दाहाल

जीवन नै हिसाबकिताबमा चलेको जस्तो भइरहेको छ

म यहाँ आएको चार महिना भयो । तीज पनि यहीँ मनाएँ । त्यो दिन पनि छुट्टी पाइनँ । चाडपर्व आएर पनि चाडपर्व आएको जस्तो भएन । म रुँदै काममा गएको थिएँ । अहिले दसैंमा बिदा लिने योजनामा छु । तर, हामीले भनेर हुँदैन । हाम्रो चाडपर्वको महत्त्वबारे उनीहरूलाई थाहा हुँदैन । यहाँ भाडा कसरी तिर्ने ? खाद्यान्नको कसरी तिर्ने ? ड्युटी गएन भने यति आम्दानी घट्छ भन्ने चिन्ता हुँदोरहेछ । जीवन नै हिसाबकिताबमा चलेको जस्तो भइरहेको छ । नेपालमा हुँदा एक महिना अगाडि नै दसैंमा के कपडा लगाउने भन्ने रहरमा हिँडिन्थ्यो । अहिले बाध्यतामा छु ।

प्रसादकुमार रावल

घरतिर फोन हुँदा मात्रै दसैं आयो भन्ने थाहा हुन्छ

आवाज सुन्नुहोस्
०:००
नेपालमा हुँदा दसैं आउँदा छुट्टै खालको रौनक हुन्थ्यो । अब दसैं आयो भनेर क्यालेन्डरमा टिक लगाउन थालिन्थ्यो । यति दिन बाँकी भनेर गन्दै बसिन्थ्यो । घर जाने र आफन्तसँग भेट्ने भनेर छुट्टै खालको शक्ति आउँथ्यो । तर विदेशमा हुँदा सबै कुरा नेपालमै छोडेर आएको जस्तो लागिरहेको छ । विदेशमा सबै मान्छे व्यस्त हुने गर्छन् । व्यस्त जीवनशैली भएर होला चाडपर्व आएको–गएको ध्यानै नहुने रहेछ । घरतिर फोन हुँदा मात्रै दसैं आयो भन्ने थाहा हुन्छ । मलाई धेरै सम्झना आउँछ । टीकाकै दिन टीका लगाउन कठिन हुन्छ । जुन दिन जसको बिदा हुन्छ, त्यो दिन टीका लगाउने हो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026