११ महिनामै ७ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा, मलेसिया पहिलो रोजाइ

17 June, 2026

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा ७ लाख २२ हजार ८४१ नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएको तथ्यांक सार्वजनिक भएको छ। वैदेशिक रोजगार विभागका अनुसार यो संख्या नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएका श्रमिकहरूको हो।

विभागको तथ्यांकअनुसार जेठ महिनामा मात्रै ६१ हजार ७२ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो संख्या वैशाख महिनाको ७४ हजार ४२९ को तुलनामा कम हो। जेठमा विदेशिनेमध्ये ५३ हजार ६९८ पुरुष र ७ हजार ३७४ महिला रहेका छन्।

आर्थिक वर्ष सकिन अझै केही समय बाँकी रहेकाले यस वर्ष पनि विदेशिने नेपालीको संख्या अघिल्लो वर्षकै हाराहारीमा पुग्ने अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजारभन्दा बढी नेपाली श्रम स्वीकृति लिएर विदेशिएका थिए।

पछिल्लो तथ्यांकले नेपाली श्रमिकहरूको पहिलो रोजाइ अझै पनि मलेसिया रहेको देखाएको छ। जेठ महिनामा मात्रै १४ हजार १९२ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन्। दोस्रो स्थानमा यूएई रहेको छ, जहाँ १२ हजार ४५५ नेपाली जाने तयारीमा छन्।

यस्तै कतार, साउदी अरेबिया, रोमानिया, जापान र कुवेत पनि नेपाली श्रमिकका प्रमुख गन्तव्य बनेका छन्। पछिल्लो समय रोमानिया, जापान र साइप्रसजस्ता नयाँ गन्तव्यतर्फ पनि आकर्षण बढ्दै गएको देखिएको छ।

जिल्लागत रूपमा धनुषाबाट सबैभन्दा बढी २ हजार ८३१ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि झापा र मोरङबाट पनि उल्लेख्य संख्यामा श्रम स्वीकृति लिएका छन्।

विश्लेषकहरूका अनुसार रेमिट्यान्स अर्थतन्त्रको मुख्य आधार बनिरहे पनि ठूलो संख्यामा अदक्ष जनशक्ति विदेशिनु स्वदेशमै सीप विकास र रोजगारी सिर्जनाको चुनौती बनेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024