चालू आर्थिक वर्ष ०८२/८३ को ११ महिनामा रोजगारीको खोजीमा बिदेसिनेको संख्या सात लाख २२ हजार आठ सय ११ पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार कामको खोजीमा नेपाली युवाहरू विश्वका सयभन्दा बढी मुलुक पुग्ने गरेका छन् । त्यसमध्ये खाडी मुलुक सबैभन्दा धेरै युवाको रोजाइमा पर्ने गरेको छ ।
विभागका अनुसार जेठ महिनामा मात्रै ६१ हजार ७२ युवा श्रमका लागि एक सय देश पुगेका छन् । जेठमा श्रम स्वीकृति लिएको संख्या चैत र वैशाखको तुलनामा भने कम हो । वैशाखमा ७४ हजार चार सय २९ र चैतमा ६१ हजार आठ सय १९ युवाले विभिन्न देशमा रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । जेठमा श्रम स्वीकृति लिनेमध्ये रोजगारीका लागि पहिलोपटक बिदेसिनेको संख्या बढी छ । विभागका अनुसार पहिलोपटक रोजगारीमा जानेको संख्या ३१ हजार सात सय एक र पुनः श्रम स्वीकृति लिनेको संख्या २९ हजार तीन सय ७१ रहेको छ ।
चालू आवको साउनमा ६८ हजार एक सय १०, भदौमा ६७ हजार नौ सय ७२, असोजमा ६४ हजार ६ सय ३४, कात्तिकमा ७३ हजार ९४, मंसिरमा ६५ हजार सात सय पाँच, पुसमा ६२ हजार पाँच सय ५९, माघमा ७० हजार पाँच सय तीन र फागुनमा ५२ हजार नौ सय ४४ युवाहरू श्रम स्वीकृति लिएर विभिन्न मुलुक पुगेका छन् । फागुनमा निर्वाचन भएका कारण बिदेसिनेको संख्या तुलनात्मक रूपमा कम देखिएको हो ।
युरोपेली देशमा आकर्षण
नेपाली युवाहरू युरोपेली देशमा श्रमका लागि जाने क्रम बढ्न थालेको छ । विभागको तथ्यांकअनुसार प्रमुख १० श्रम गन्तव्य मुलुकको सूचीमा रोमानिया, साइप्रस र टर्की छन् । जेठमा रोमानियामा दुई हजार पाँच सय १५, साइप्रसमा एक हजार ५९ र टर्कीमा सात सय ५० युवा श्रमका लागि पुगेका छन् । यसका अलावा, पोर्चुगल, माल्टा, ग्रिस, अस्ट्रिया, मोरिसस्, बुल्गेरिया, क्रोएसिया, पोल्यान्डलगायतका देश जाने युवाको संख्या बढ्दो छ ।
मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य मुलुक
विगतमा जस्तै रोजगारीका लागि मलेसिया जानेको संख्या धेरै छ । जेठमा १४ हजार एक सय ९२ युवाले रोजगारीका लागि मलेसिया जान श्रम स्वीकृति लिएका छन् । त्यसपछि युएईका लागि १२ हजार चार सय ५५, कतारका लागि १० हजार दुई सय १० र साउदी अरेबियाका लागि सात हजार पाँच सय १० युवाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
अमेरिका–इजरायल र इरान युद्धले मध्यपूर्वका खाडी मुलुक तनावग्रस्त बनेका कारण नेपाली श्रमिकहरू मलेसियातर्फ आकर्षित भएका हुन् । फागुनसम्म मध्यपूर्व तनाव सुरु हुनुभन्दा पहिले मलेसिया चौथो वा पाँचौँ श्रम गन्तव्य रहेको थियो । तर, चैत महिनायता भने निरन्तर पहिलो स्थानमा छ । त्यसअघि कात्तिकदेखि फागुनसम्म साउदी अरेबिया प्रमुख श्रम गन्तव्य रहेको थियो । गत भदौमा भएको जेन–जी आन्दोलनपछि युएईले नेपाली श्रमिक प्रवेशमा कडाइ गरेपछि युवाहरू साउदीतर्फ मोडिएका थिए । तर, साउदीसमेत द्वन्द्वको चपेटामा परेर असुरक्षित भएपछि अहिले मलेसियातर्फ युवाहरू आकर्षित भएका हुन् ।