निर्मल श्रेष्ठ
क्रिसमसको उमंगमा रमिरहेको हङकङ यति बेला नेपालीमय बनेको छ । कतै गीत संगीतको मज्जा, कतै शोभा यात्रा । क्रिसमसकै रौनकबीच सुरु नेपाली सप्ताह क्रममा आयोजित शोभा यात्राले सात समुद्रपारिको यो चिनियाँ सहर पूरै नेपाली लागिरहेको छ ।
त्यस अवसरमा थरीथरीका नेपाली परम्परागत मौलिक बाजागाजा र नाचगानसहित सांस्कृतिक झाँकी प्रस्तुत गरिए । युङ लङस्थित घडी पार्कबाट निक्लेको र्यालीले सहरका मुख्यमुख्य भाग परिक्रमा गरेको थियो । अधिकांश सहभागी आआफ्नो जातीय संस्कृति झल्कने वेशभूषामा थिए ।
स्थानीय चिनियाँ नेताहरूसमेत नेपाली ढाका टोपीमा सजिएका थिए । ‘अनेक मुलुकका मानिस रहेको हङकङमा नेपाली संस्कृति पृथक लाग्छ,’ युङ लङ डिस्टि्रक्टका काउन्सिलर चो विङ कानले भने, ‘यो हङकङकै समेत पहिचान र गर्वको कुरा हो ।’ कान १७ वर्षदेखि लिबरल पार्टीसँग आबद्ध छन् । ढाका टोपी लगाएर र्यालीको अगुवाइ गर्नेमध्ये उनी पनि थिए । हङकङमा नेपाली भाषा, कला, साहित्य तथा संस्कृतिको पहिचान, प्रवर्धन र संवर्धनका लागि ६ वर्षदेखि बर्सेनि नेपाली सप्ताह हुँदै आएको छ ।
नेपाली पहिरन र प्रस्तुतिले अन्य विदेशी बटुवाहरूको समेत ध्यान खिचेको थियो । सडक पेटी नै छपक्कै छोपिने गरी ओइरिएको भीडमा नेपाली कला संस्कृति क्यामेरामा कैद गर्न तँछाडमछाड गर्ने पर्यटकहरू कम थिएनन् । शिक्षक, विद्यार्थी, अभिभावक, पूर्वगोर्खाली सैनिक, विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी र्यालीलाई व्यवस्थित गर्न दर्जनौं सुरक्षाकर्मी खटिएका थिए । स्थानीय प्रशासनले र्याली जाने स्थानहरूमा सवारीसाधनको आवतजावत निषेध गरेको थियो । नेपाली सप्ताहको साताव्यापी कार्यक्रमअन्तर्गत आयोजना हुने सांस्कृतिक प्रस्तुतिमा सहभागी हुन आएका गायक/रचनाकार तथा संगीतकार गणेश रसिक, धीरज राई समेत र्यालीमा थिए । ‘विश्वभरका नेपालीका लागि हङकङ प्रेरणादायी छ,’ निकै प्रफुल्लित रसिकले भने, ‘प्रवासमा सिंगो नेपालको अनुभूति भयो ।’
युन लङ टाउन हलमा टुंगिएको शोभा यात्रापछि विविध सांस्कृतिक प्रस्तुति देखाइए । कार्यक्रममा लोक तथा आधुनिक नृत्य, गायन, वाद्यवादन लगायत स्कुले विद्यार्थीहरूले सिर्जना वाचन गरे । ‘संस्कृति जीवन्त रहे मात्र यहाँ नेपाली समाज स्थापित हुन सक्छ,’ सप्ताहका संयोजक हङकङ नेपलिज फाउन्डेसनका अध्यक्ष किसन राईले भने, ‘यहाँका नेपाली स्थायी बसोबासी भएकाले हाम्रो स्वतन्त्र पहिचान स्थापित गर्न सरकारलाई दायित्वबोध गराउनु पनि कार्यक्रमको उद्देश्य हो ।’ पुस १६ सम्म चल्ने सप्ताह अन्तर्गत कवि सिद्धिचरण शतवाषिर्की, नेपाली भाषा, साहित्य र संस्कृतिबारे प्रतियोगितात्मक गोष्ठी लगायत हुनेछन् ।
रातो भाले र सेक इट… हङकङका नेपालीमाझ आइतबार साँझ गायक गणेश रसिक र धीरज राई जमे ।
हङकङमा १२ औं प्रस्तुति दिँदै गर्दा धीरजको पहिरन हिपहप शैलीको थियो- रातो ज्याकेट, कालो हयाट र सेतो जुत्तामा उधि्रएको जिन्स प्यान्ट । उनले गायनको सुरुवात भने अलि गम्भीर गीतबाट गरे, ‘कि बाँच्न देऊ कि मर्न देऊ… ।’ त्यसपछि उनले केही वर्षअघि बजार पिटेको उस्तै शैलीकै गीत रोजे- ‘तिमी रुँदा एक्लो हुँदा… ।’
अब भने गायक नाच्ने नचाउने मुडमा देखिए । ‘सोई ढोले सोई, अर्को ढोले खोई…’ गाउँदा धेरैबेरदेखि चिसिएका श्रोताहरू तातिए । धेरै युवाहरूझै स्कुले जीवनमा आफू पनि वन साइडेड लभमा फसेको प्रसंग कोट्याउँदै श्रोताहरूलाई फुक्र्याएपछि उनले गाए, ‘वन साइडेड लभ…।’ ‘लुकी लुकी…’ देखि ‘तिम्रा नयन…’ सम्म गरी सात गीत गाएका धीरजले भने, ‘यहाँ आउँदा सधैं रिप|mेस हुन्छु, यहाँका श्रोताहरूमा राम्रो म्युजिकल सेन्स छ ।’
वरिष्ठ संगीतकार तथा साहित्यकार रसिकलाई सुन्न सांगीतिक कार्यक्रममा विरलै पुग्ने पाकाहरूको ठूलै जमात पनि आएको थियो । आफ्नै समयको गीत गाउने बताउँदै पाका गायक वाद्यवादकहरूको टोलीसहित स्टेजमा झुल्किएका थिए । हार्मोनियममा औंला नचाउँदै उनले भाका हाले, ‘मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ… ।’
देशभक्तिको भावनामा लुटपुटिएको गीतले हङकङेली नेपाली मन नछुने कुरै भएन । रसिकले अर्को भाका नहाल्दासम्म ताली रोकिएन । पुराना संगीतकर्मी दिनेश सुब्बाको नेतृत्वमा रहेको हिमालयन टोन्स म्युजिक एकेडेमीका वाद्यवादक टोलीले रसिकको इसारामा फेरि सांगीतिक धुन घोल्न सुरु गर्यो । अनि दौरा-सुरुवाल, ढाका टोपी र कोटमा चिटिक्क सजिएका गायकले गलो खोले, ‘घर छोडी परदेश जाँदा घरकै माया लाग्दो रैछ… ।’
प्रवासीको मुटुमै छुने गीत गाएर उनले फेरि वाहवाही पाए । यतिन्जेल समयले नेटो काटिसकेको थियो । गायक बिदा माग्ने सुरमा थिए । उतिबेलै भीडले भन्यो, ‘रातो भाले, रातो भाले…’ । पपमै रमाउने नयाँ पुस्ताले सायद यसको अर्थ बुझेन । पाकाहरू भने हौसिए । कुनै जमानाको बहुचर्चित गीतको फर्माइस आएको थियो । आयोजकबाट समय पाँच मिनेट मात्र रहेको इसारा आए पनि लगातारको फर्माइसका कारण नगाई धरै पाएनन् रसिकले । त्यसपछि मुसुक्कै हाँस्दै गाउन थाले- रातो भाले क्वाएँक क्वाएँक सुत्केरीलाई ख्वाएँ सुत्केरीको नाम गरी टाउको मैले खाएँ ए होइन मैले ढाँटेको सत्य- सत्य धरो- धर्म, झूटो कुरो छैन बोलेको कुखुरी काँऽ, कुखुरी काँऽ…