केयर ओर्कर र परदेशका चार वर्षलाई हेर्दा

15 October, 2026

Pabitra Gautam

जिन्दगीले तोकेको यात्रामा यात्रा गर्दा हिँडिरहेको सुखदुःखले आफ्नो बाटो तय गरिसकेको हुन्छ । सुखदुःख भनेका समानान्तर राजमार्गजस्तै हुन्। जिन्दगीका कथा स्वदेश, परदेश जहाँ पुगे पनि सकिँदैनन् । हरेक दिन कथाले अर्को कथा जन्माइरहेको हुन्छ । मेरो जीवनमा पनि एउटा नमीठो कथाको जन्म भएपछि मैले मलाई आफूभित्र थुनाएको थिए। त्यो समयमा असाध्यै मौन थिए।

हुन त मौन आत्मस्वीकृति पनि हो, एउटा आत्मसमीक्षाको सुरुवात जस्तै । मानवीय संवेदनालाई मैले थिचेको थिए आफूभित्र । त्यसपछि मैले परदेशमा आएर आफ्नो मौन तोडेको छु। मैले मलाई सम्झाएको छु, त्यस्मा पनि आफूले आफैंलाई सम्झाउँदा कतिपटक रोएको पनि छु, संवेदनालाई खुल्ला छोडिदिए, पोखिदिए। आफैंले आफैंलाई रुन सिकाएको छु र शान्त हुन पनि। मनमा अनेकौं प्रश्नहरू जन्मिँदा केही नबोलेका शब्दहरू पनि छन् जो कसैलाई सुनाउन र कसैसँग साट्न सकिँदैन ती शब्दहरू मनमै रहन्छन् र मनमै मर्छन् आफूूसँग।

म आफूलाई फेरि खोज्ने रहरमा परदेसिएको थिएँ। त्यही समयले मलाई म बनाउन सिकाएको थियो। आफूले टेकेको धर्तीबाट फुत्त उडेर परदेशको भूमिमा आएर खुट्टा राख्दा आफ्नो मनभित्र कति कुराले युद्ध गरिरहेका हुन्छन्। त्यो डर, त्यो खुसी, त्यो विवशता नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ काम । चार वर्षअघि आफ्नो निर्णयलाई हेर्दा मनको उथलपुथललाई मैले मनकै तराजुमा कैयौंपटक जोखेको थिए। त्यो जोखाइमा सबै सामेल थिए सुखदुःख सबै।

आएको करिब एक वर्ष त डरैडरमा बित्यो। कस्तो काम होला ? के होला भन्दै आएको म जब कामको सुरुको दिन आ श्रम पुगे त्यहाँ रहेका बिरामीप्रति माया जाग्यो। जस्तो कर्म गरे पनि यो एक किसिमको सेवा हो यो मैले पुण्यको काम गर्न आएको छु गर्नुपर्छ भन्ने लाग्यो। मनलाई बाँधें, निस्किएको सासलाई धेरै पटक रोकें। गर्न मिल्ने सबै गरियो अन्तमा धेरै पटक बान्ता पनि गरेको थिएँ मैले। लिन सक्ने जति शरीरले आफ्नो तागत लगाएर लिएको थियो नसक्दामात्रै मैले छाँदेको थिएँ।

त्यति सजिलो पनि थिएन काम गर्न त्यो काममा हात हाल्नलाई। अझ सुरुसुरुमा त के भन्छन् भन्ने हुने, काम बिग्रियो भने मात्रै होइन भाषाको समस्याले गल्ती नगरेका कुरामा पनि गाली खाएको छु। भाषा नजान्दा कतिपय फोहोर शब्द त कतिपय असम्मानजनक शब्दहरू ममाथि प्रयोग गरिएका हुँदा रहेछन् त्यो कुरा भाषा बुझेपछि थाहा भयो। होइन भने कसैले मायाले बोलाउनु र गाली गर्नु उस्तै बराबर लाग्ने। एउटा केयर गिभरले बिरामीलाई आफूसँग भएको मायाप्रेम देखाएरमात्रै पुग्दैन काममा दक्खल पनि हुनुपर्ने रहेछ। नेपाली कामदारहरू जो मसँगैै काम गर्थे, उनीहरूले सम्म मलाई काम सिकाएनन्। उनीहरू मभन्दा केही पहिले आएका थिए तर पनि परदेशमा नेपालीको सहारा नेपाली हुन्छ भन्ने सुनेको थिएँ तर त्यहाँ केही भएन।

प्यालेस्टाइनहरूले काममा हेपे पनि केही काम भने सिकाएका थिए। मानवीय गुण त सबैमा हुनुपर्ने त्यहाँ पनि मैले कसैसँग केही गुनासो गरिनँ। एउटा केयर गिभरले बिरामीको स्याहार गर्ने, नुहाइदिने, खुवाइदिने उस्को स्वस्थ्य अवस्थाबारे जानकारी दिनेसम्मका काम हुन्थे। हामीले कुनै एक नर्सको मातहतमा रहेर काम गर्नुपथ्र्यो। परदेशमा घाम नआउँदै काममा पुगिन्छ र घाम नदेख्दै कोठामा फर्किन्छ। खानेदेखि सुत्ने कुनै कुराको तालमेल मिल्दैन। तब लाग्छ आफू त परदेशमा छु भन्ने। काम गर्दै जाँदा जो कोहीले पनि आफूमात्रै राम्रो बन्न खोज्ने मुख्य प्रवृत्ति नेपाली साथीहरूमा देखे। बिर्सन नमिल्ने कुरा त के छ भने विदेशको पैसा सम्म चिन्न नसक्दा मैले दस पैसालाई दस सेकेल भनेर सामान किन्न पसल पुगेको छु, त्यो बेला थाहा भयो दस अगरोट भनेको दस पैसा हो भन्ने यो बेला लाग्यो केही जान्नलाई पनि गल्ती गर्नुपर्ने रहेछ भन्ने अहिले त्यो सम्झिँदा हाँसो लाग्छ।

कामको सिलसिलामै म बिरामी भएर ओछ्यानमा परेको छु । उठ्न नसक्दा पानीसम्म खान नसक्ने अवस्थामा पुगेको थिएँ। त्यहाँ कसैले सहयोग गर्ला भनेर आस नराख्दा हुने रहेछ । त्यो बेलामा कोही माया गरी बोल्यो र बोलाइयो भने पनि कस्तो म पुकलित हुने रहेछ। त्यो समयमा म बस्ने नजिकै खोटाङको कुनै एउटा जिल्लाबाट आएको एउटा शम्भु भाइले मलाई अस्पतालको बेडसम्म लगेर छोडेर आएको थियो। त्यो गुण, त्यो ऋण मैले कहिल्यै तिर्न सक्ने छैन। आफ्नोआफ्नो कर्मको हिसाबकिताब होला यहाँ पनि। को मान्छे कहाँ, कतिखेर काम लाग्छ थाहा हँुदैन हामीलाई। बिरामी पर्नु र हस्पिटलको अपोइटमेन्ट लिएर चेक अप गर्नुजस्तो गाह्रो अरू मलाई यहाँ केही लागेन। दुःखेकै बेला उपचार नपाइने। समय कुर्नुपर्ने अर्को नमीठो वास्तविकता। अपरेसनको लागि कोही साक्षी मान्छे खोज्दा मैले एक्लै छु भनेपछि मलाई अपरेसन थिएटरमा लगिएको थियो।

बिहान ब्युँझिँदा आफू जिउँदो भएको महसुस भयो र परदेशमा यस्तोसम्म हुने रहेछ भन्ने कुराले मलाई कमजोर होइन बलियो बनाएको छ। त्यो बेला आफ्नो दुखाइ कस्लाई सुनाउनु ? कोही नहुनेको पनि भगवान् हुन्छन् भन्ने लाग्यो। पछि म करिब एक महिना रेस्टमा बसेको थिए। अपार्टमा जति साथीहरू भए पनि एक दिन उनीहरूले खान पिउनको लागि सोधेनन्। काममा जानु र आउनुभन्दा पनि मानवीयता पनि हुन्छ भन्ने लागेको थियो त्यो त्यहाँ देखिनँ। त्यहाँ पैसाभन्दा ठूलो अर्को कुनै चिज देखिएन। हुन त परदेशमा आएर पनि कसैले मृत्यु रोजेका छन् कसैले आफ्ना सपना, कसैले आफ्ना रहरहरूको हत्या गरेका छन् । मानवीय संवेदनाहरू रोग, भोक, भोग प्यास र अभावले मानिसलाई कतिसम्म पीडित बनाउँछ भन्ने कुरा त यो चार वर्षको अवधिमा मैले पनि देखेको छु।

यतिसम्म गर्छन् कि आफू ठीक देखिनका लागि अर्को साथीलाई आत्महत्या गर्न बाध्य पार्नसम्म पछि पर्दैनन्। मान्छेले एउटालाई विश्वास गर्न सिकाएर फेरि उसैले विश्वास तोडेको हुन्छ। यहाँ सबै कुराको लागि स्वतन्त्रता हँुदा पनि कतिपय साथीहरू कुलतमा फसेको पनि देखिन्छ। यस्ले त हामी आफैंलाई विस्तारै द्वन्द्वमा धकेलेको देखिन्छ त्यो पनि भावनात्मक द्वन्द्व ।हामी बसेको ठाउँमा हुने युद्धले पनि हामीलाई प्रशस्तै मानसिक तनाव दिएको हुन्छ। बेलाबेला हुने गरेको युद्धका बीच हामी नेपाली युद्धको नमीठो चपेटामा परिरहेका हुन्छौं। यो अवस्थाले कतिपयले मानसिक यातना खप्नु पनि परेको छ। कसैले मानसिक स्वास्थ्य गुमाएर देश फर्किनु परेको अवस्था पनि छ।

कुनै बेला रहरले परदेसिएको मान्छेमा एकाएक फ्रस्टेसन सुरु हुन्छ। उस्ले दिक्क मान्छ, वाक्क मान्छ सबै कुरामा। सुरुसुरुमा घण्टा, दिन गन्ने मान्छे एकाएक महिना र वर्ष गन्ने भइन्छ । आफ्नो घरपरिवार सम्झेर छोराछोरी सम्झेर धेरैले मन अल्मलिएका पनि देखेको छु। अन्तमा आफ्नै घर जाँदा पाहुना भएको महसुस पनि परदेशीलाई हुन्छ। यही परदेशमै कोही आफ्नै जोडी बनाएर मायाप्रेम साटिरहेको पनि देखिन्छ। परदेशमा आएपछि मान्छे आफू आफैं बिरानो बनिदिन्छ, त्यो समयले बनाइदिन्छ, त्यहाँ अरूले देख्ने संसार र आफूले बाँचिरहेको परिस्थिति अत्यन्तै फरक हुन्छ। यहाँ पैसा कमाएको रमाएको देखिन्छ तर आफ्नो समय कहाँ गुमिरहेको छ त्यो देखिँदैन। परदेशले आफ्नो उमेर सकाउने रहेछ।

यस्तै छ परदेश कोही कसैको प्रतीक्षामा छन्, कोही मौन छन् कोही आफूलाई बनाएका छन् त कसैले आफूलाई बर्बाद गरेका पनि छन् । नियालेर हेर्दा बितेका चार वर्षलाई केही आफूलाई बनाउने, चिनाउने समय र केही आर्थिक उपार्जनको समय भनेर पनि लिन सकिन्छ। यहाँ आएपछि बाँच्नका लागि संघर्ष गर्नुपर्ने रहेछ। परदेशले धेरै कुरा सिकाएको छ। धैर्य, जिम्मेवारी, आत्मनिर्भरता र मौन भएर पनि पीडा सहन सक्ने शक्ति दिएको छ।

परदेशमा चार वर्ष बिताउँदा धेरै चाडपर्व मोबाइलको स्क्रिन हेरेर मनायौं। परिवार खुसी भएको फोटो हेरेर आफू पनि मुस्कुरायौं, तर त्यो मुस्कानभित्र घर फर्किन नपाएको पीडा लुकाइरह्यौं। कतिपय संघसंगठनका आयोजना गरेका विभिन्न कार्यक्रममा पनि नेपालीपन झल्किएको हुन्थ्यो । हामी नेपाली परदेशमा एक हुनुपर्छ हामी हाम्रा लागि उभिनुपर्छ भन्ने एउटा छुट्टै भावना सिर्जना हुन्थ्यो। हामीले त्यहा दसैं, तिहार मनाउँदै आएका छौं। एकआपसमा आपसी समझदारी र सहमति, भाइचारा र आफ्नो संस्कृतिको जगेर्नामा र सम्मानको लागि समेत हामी एकजुट छौ। यसैलाई भनिन्छ एकता। कोही कसैलाई दुःख पर्दा सबैले आफ्नो ठाउँबाट सहयोग गरौं, धन पैसा त्यसपछिका कुरा हुन्।

पहिले मानवीयता यस्का साथै घुम्ने क्रममा इजरायलका मुख्यमुख्य ठाउँहरूमा घुमियो पनि देखियो यहाँको विकास, यहाँको रहनसहन, संस्कृति र विदेशी कामदारप्रति सम्मानको भाव सबै। हामी गाउँबाट सहर र सानै सहरबाट विदेश छिरेका मान्छे यहाँको सबै विकासको सिस्टम देख्दा म आश्चर्यचकित नै भएको थिए। आजसम्म एउटा केयर ओर्कर भएर काम गर्दा जे जति अनुभव भयो जे जति कुरा सिकियो त्यो एउटा जीवनको छुट्टै पाठ बन्दोरहेछ।

अन्तमा, हामी जहाँ भए पनि जुन काम गरे पनि, जुन कुनै कुनाबाट परदेशमा आएको भनिए पनि एक दिन हामी आफ्नै आँगनमा फर्किनेछांै। आफ्नै देशमा आफ्नो पाइला राख्नेछौं।

हाल, इजरायल

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026