होम कार्की
ओमानको राजधानी मस्कट नजिककै रुवी सहर नेपालीमाझ निकै प्रख्यात रहेछ । शुक्रबारे बिदा होस् वा पायक परेको बिदाका दिन रुवीका गल्ली र चोकहरूमा नेपालीहरूको लर्को लाग्दोरहेछ । त्यही सहरमा पाइला नाप्दै गरेका दाङका पर्शुराम चौधरी भेट भए । चौधरी बस्ने सिपबाट करिब ३५ किलोमिटर टाढाबाट आइपुगेका उनी भन्दै थिए, ‘यसलाई नेपालीको चौतारोको रूपमा लिइन्छ ।’ उमेरले चार दशक नाघेका चौधरी त्यति लामो दूरी पार गरेर आउनुको दुई कारण सुनाए, ‘स्वदेशबाट हाम्रा सभासद र कलाकार आएका रहेछन् । स्वदेशमा के भइरहेको छ भनेर बुझ्न र जान्न मन लागिरहेको थियो ।’ त्यही दिन आफ्नै गाउँकी कोमल वलीको रसिला गीतहरू सुन्न पाउँदा उनी दंग थिए । उनीसँगै धुनकुटाका २८ वषर्ीय गोबिन्द श्रेष्ठ, सिन्धुलीका एमकुमार श्रेष्ठ, दाङकै छविलाल बस्नेत थिए । पेसाले उनीहरू सबै कृषि कामदार रहेछन् । कृषि कामदार भईकन पनि उनीहरू आफूमा गर्व गर्छन् । किनकि, उनीहरू ओमानी सुल्तान -राजा) काबुसको दरबारको बगैंचामा कार्यरत छन् । ‘हामी सबै राजाको बगैंचामा मालीको रूपमा काम गरिरहेका छौं,’ मुस्कान छाड्दै चौधरीले भने । ओमानी सुल्तानका प्रायः सबै दरबारका बगैंचामा नेपाली नै छन् । त्यस्ता दरबारहरू सिप, बर्खाद र सलल्लाहमा छन् । यी तीनमध्ये मुख्य दरबार सिपमा छ । ‘हामी कार्यरत दरबारमा राजाको दिनहुँ आवतजावत भइरहन्छ,’ चौधरीले भने, ‘उनको आँखामा पर्ने हुँदा हामीले त्यहीअनुसारको मेहनत गरिहेका छौं ।’ त्यसका लागि ९० जना नेपाली खटिएका छन् । ‘नयाँ नयाँ फूल रोप्नेदेखि बगैंचालाई सधैं रंगीबिरंगी बनाइराख्ने हाम्रो काम हो,’ हापुरे दाङका छविलालले भने । सुल्तान काबुसले शासन सम्हालेयता ओमानको विकास तीव्र गतिमा दौडिरहेको छ । नेपाली कामदारहरूको बुझाइमा सुल्तानले दरबारलाई मात्रै सुन्दर राखेका छैनन् कि राजधानी मस्कटलाई नै एउटा ‘सुन्दर बगैंचा’को रूपमा विकास गरेका छन् । त्यही कारण होला, ओमान विश्वको दोस्रो ‘सफा’ मुलुक मानिन्छ । राजा काबुसले नेपालीलाई विश्वास गर्नुको खास कारण रहेछ । उनले शासन सम्हालेयता उनको सुरक्षा जिम्मा ‘स्पेसल फोर्स अफ सुल्तान’ले लिएको रहेछ । जसभित्र बि्रटिस नेपाली आर्मी रहेछन् । ओमानमा नेपाली कामदार लिनुको इतिहास पनि यसैसँग जोडिएको छ । ‘ओमानका राजालाई जब बि्रटिस नेपाली आर्मीले सुरक्षा प्रदान गर्न थाल्यो, त्यस बेलादेखि नेपालीहरू ओमानमा आउन थालेका हुन्,’ ओमानमा ३१ वर्षदेखि कार्यरत पुरानो बानेश्वर, काठमाडौंका ५० वषर्ीय अरुणसिंह क्षेत्रीले भने । धेरैजसो कामदारहरू म्यानपावर कम्पनीमार्फत् त्यहाँ पुगेका हुन् । दरबारमा यसरी कार्यरत सबै नेपाली ओमानको सरकारी सेवाअन्तर्गत छन् । उनीहरू त्यहाँको दरबारको एउटा विभाग दिवान कम्पनी -रोयल कुट अफेयर्स) अन्तर्गत छन् । यो विभागमा ३ सय ७६ नेपाली छन् । उनीहरू बस्ने कोठाहरू होटलजस्ता छन् । निरन्तर काम मात्रै गर्नुपर्दैन । काम, आराम र मनोरञ्जनजस्ता तीनवटै कुरा मिलेका छन् । ‘दिनमा ५/६ घन्टा काम गर्छौ । धपेडी छैन,’ सिपबाट ४५ किमि दूरीमा पर्ने अर्को क्याम्प बर्कामा ५ वर्षदेखि कार्यरत गोरखाका ज्ञानेन्द्र खनालले भने, ‘मासिक तलब ६० हजार रुपैयाँ जति हुन्छ ।’ एक लाख ३५ हजार तिरेर पुगेका नवलपरासीका कमल क्षेत्री भन्छन्, ‘महिनामा ५० हजार जोगाउन सकिन्छ । दुःखी हुनुपर्ने कारण छैन ।’ नेपालीहरू कार्यरत अर्को दरबार सलल्लाहमा छ । राजधानी मस्कटबाट झन्डै ११ सय किलोमिटर टाढा पर्ने यो ओमानको दोस्रो ठूलो सहर हो । जहाँ झन्डै ९० जना नेपालीले राजदरबारका लागि फलफूल उत्पादन गर्नेदेखि दरबारलाई सधैं हराभरा बनाइराख्ने गर्छन् । त्यहाँको क्याम्प नाइकेका रूपमा कार्यरत टीकाप्रसाद दाहाल भन्छन्, ‘नेपाल सरकारले दिवानमा काम गर्नेहरू दुःखी होलान् भनेर नसोचे हुन्छ ।’ सुरुमा ल्याउँदा दिवान कम्पनीमा कार्यरत नेपालीहरूको कमाई आकर्षक थिएन । जब एक वर्षअघि अरबमा चर्केको आन्दोलनको झिल्का ओमान पुग्यो, तलब र भरपर्दो रोजगारीको माग गर्दै ओमानमा पनि आन्दोलन सुरु भयो । राजाले यी दुवै माग माने । यसको फाइदा नेपालीलाई पनि भयो । १ सय ५० रियालमा काम गरिरहेका उनीहरूको तलबमा १ सय रियाल वृद्धि भयो । एकैचोटि २० हजार रुपैयाँ बढ्यो । त्यसबाहेक उपदान त छँदैछ । प्रत्येक वर्ष ५ रियालको दरले तलब वृद्धि हुने भयो । ‘यही महिना १५ महिना पुग्ने भएकाले दुई महिनाको बिदा लिएर घर जाँदै छु,’ दाहालले भने । राजदरबारमा कार्यरत नेपालीले ६० वर्षको उमेरसम्म काम गर्न पाउँछन् । १२ वर्ष सेवा अवधि पुर्याएपछि पेन्सन पनि दिइन्छ । ओमानीले तलबको ६२ प्रतिशत पेन्सन पाउँछन् भने नेपालीले ५२ प्रतिशत । सलल्लाहबाट १ सय ८० किमि टाढाको बगैंचामा टीकाप्रसादलगायतका नेपालीले मनाङको अंगुर पनि उत्पादन गरिरहेका छन् । र, सुल्तानले यो अंगुर चाखिसकेका छन् । उनलाई अहिले एउटा रहरले सताइरहेको छ । त्यो हो सुल्तानलाई नेपाली चिया खुवाउने । त्यसका लागि परीक्षण खेती गरिरहेका छन् । ‘नेपाली चियाको बिरुवा लगाएको छु । ६० प्रतिशत रामै्र भइरहेको छ । यो सफल भएमा राजालाई नेपाली स्वादको चिया खुवाउने हाम्रो रहर पूरा हुनेछ ।’