सिक्किममा नेपालीको मृत्यु

23 September, 2011

लवदेव ढुंगाना

भूकम्प हुँदा घरमै रहेकी फिदिम ८ की ५५ बर्षीय बलमाया राईले आफूलाई केही भइहाले पनि परिवारका सदस्य र आफन्तको सकुशलको कामना गरिन । 

आफ्नो दुई तले घर केही नभइदिएपछि पुकारा ‘भगवान’ ले सुनेको अड्कल काटिन् । तर उनलाई के थाहा यही भूकम्पका कारण आफ्नो साहिँलो छोरोको ज्यान गएको छ ।

 

भूकम्पपछि पहाडी क्षेत्रमा माथिबाट आएको पहिरोमा परी सिक्किमको एक रोजगारदाता कम्पनीमा काम गर्दैगर्दा उनको १८ वर्षको छोरा दिनेश राईको मृत्यु भएको हो । राईको शव परिवारमा ल्याएर बिहीबार दाहसंस्कार गरे पनि परिवारमा रुवाबासी रोकिएको छैन । दिनेशको मृत्युले परिवारमा कमाउने छोरा गुमेको उनका पिता बलबहादुरले बताए । छोराको मृत्युको खबर सुनेदेखि नै बलमायाको आँखामा आँसु रोकिएको छैन् । खाना पनि खाएकी छैनन् । गरिब राई परिवारका चार भाइ छोरामध्ये जेठा मलेसियामा तथा कान्छा र माइलामात्र यहाँ छन् । 

 

सिक्किमको गिट्टी उत्पादन गर्ने अबिर थ्रेसर प्लान कम्पनीमा विगत चार महिनादेखि काम गर्न थालेका १८  बर्षीय राईको भूकम्पका कारण गएको पहिरोमा परी मृत्यु भएको थियो । पाँच कक्षासम्म अध्ययन गरेका राईको मृत्यु भएपछि कम्पनीले चन्द्रगढीसम्म ल्याइदिएपछि परिवारले बिहीबार नै घर ल्याएर दाहसंस्कार गरेका छन् । सिक्किममा काम गर्ने भए पनि पीडितले राज्य र केन्द्र सरकारबाट पाउने राहत नपाएकोले सरकारले राहतको व्यवस्था गरिदिनुपर्ने स्थानीय टंक राईले माग गरे । 

 

‘हामी कम्पनीमा काम गरिरहेका थियौं, एक्कासि आएको भूकम्प र पहिरोले उसलाई पुर्योन’ सोही कम्पनीमा काम गर्ने दिनेशका कान्छा भिनाजु नरप्रसाद लिम्बूले कान्तिपुरसित भने, ‘त्यहाँ राहतको प्रयास गरे पनि नपाइएको हुँदा कम्पनीको सहयोगमा शव ल्याएका हौं ।’ उनले सोही कम्पनीमा काम गर्ने अन्य तीन नेपालीको समेत भूकम्पपछिको पहिरोका कारण मृत्यु भएको जानकारी दिए । 

 

भूकम्पबाट मृत्यु हुनेलाई सिक्किम सरकारले पाँच लाख र केन्द्रले दुई लाख रुपैयाँको दरले क्षतिपूर्ति दिने घोषणा गरे पनि पीडितले भने तत्कालको राहतसमेत पाउन सकेका छैनन् । सिक्किममा मृत्यु भएका परिवारलाई स्थानीय प्रशासन र रेडक्रसले पनि राहत दिएका छैनन् । मासिक पाँच हजार भारतीय रुपैयाँमा काम गर्ने अविवाहित राईको पैसा कमाउने सपना अधुरै रहेको छ । 

 

सिक्किम र ताप्लेजुङको सीमा क्षेत्रमा केन्द्रविन्दु भई गएको भूकम्पले भारतमा अहिलेसम्ममा २२ नेपालीभाषीको मृत्यु भएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024