अमेरिका–इजरायल र इरान युद्धले मध्यपूर्वका मुलुकहरू तनावग्रस्त बनेपछि नेपालले ती देशहरूमा रोक लगाएको श्रम स्वीकृतिलाई केही खुकुलो बनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा कार्यरत सात देशमा रहेका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति दिने निर्णय गरेको हो । यो व्यवस्थाअनुसार साउदी अरब, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा रहेका नेपालीले मात्रै स्वीकृति नवीकरण पाउनेछन् ।
मन्त्रालयका अनुसार सात देशमा कार्यरत श्रमिकहरू तथा विदामा नेपाल आई पुनः उल्लेखित मुलुकहरू रोजगारीका लागि जान चाहने युवाहरूलार्ई पुनः श्रम स्वीकृति प्रदान गरिने भएको हो । इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा रहेका श्रमिकलाई भने तत्काल नवीकरण नगरिने भएको मन्त्रालयले विज्ञप्ति जारी गर्दै बताएको छ । मध्यपूर्वमा तनाव भएपछि विभागले १७ फागुनदेखि साउदी इरान, अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति रोकेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष ०८२/८३ को साउनदेखि फागुनसम्म पाँच लाख २५ हजार पाँच सय २१ युवा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर बाहिरिएका छन् ।