साउदी हिँडेका महिला मुम्बई जेलमा

28 November, 2011

कल्पना घिमिरे  

उनीहरूलाई लागेको थियो साउदी अरब पुग्नेबित्तिकै काम पाइन्छ । सोचेजस्तो भएन । भारतको मुम्बईबाट साउदी उडेका उनीहरू एयरपोर्टमै पक्राउ परे । काम गर्ने र परिवारको आर्थिक अवस्था उकास्ने इलाम महमाइकी २० वर्षे सीताकुमारी राई -नाम परिवर्तन) को सपना मुम्बईको जेलमा बन्दी भयो । 

एक वर्षअघि झापाको काँकरभिट्टा हुँदै भारत छिरेकी राई बिनाकागजात मुम्बईसम्म पुगिन् । चित्र शेर्पा भन्ने एजेन्ट दमक झापाका एक जना दलालले उनलाई बिनाकागजात साउदी उडाउने आश्वासन दिएका थिए । उनी उडिन् पनि । तर साउदी एयरपोर्टले कागजात नक्कली फेला पार्यो र उनलाई पुनः मुम्बई फर्कादियो । उनीसँगै अन्य दुई पनि थिए । तीनै जनालाई मुम्बई जेलमा राखियो । 

 

‘जेल पुगुन्जेल हामीलाई नक्कली कागजातबारे जानकारी थिएन,’ उनले भनिन्, ‘पढ्न जानेको छैन । अर्कैको पासपोर्टमा मेरो फोटो टाँसेर पठाइदिएछन् । मैले मेरै भन्ठानँे ।’ सानै छँदा बाबु बितेपछि घरमा भएकी आमालाई राम्ररी पाल्न पैसा कमाउन आफू विदेश जानु परेको उनी बताउँछिन् । साउदीमा बच्चा हेर्ने कामका लागि महिनाको ८ हजार दिने सर्तमा उनी विदेश गएकी रहिछन् । तर काम गर्ने ठाउँमा नपुग्दै बाटैबाट जेल जानु पर्यो । 

 

सुनसरी खनारकी ४५ वर्षे सानी राजवंशी घरमा छोरा-बुहारीलाई नभनिकनै विदेश गएको बताउँछिन् । तीन महिनाअघि साउदी अरबका लागि हिँडेकी राजवंशी मुम्बईबाट अघि बढ्न सकिनन् । उनको पासपोर्ट र आवश्यक कागजात केही नभएकाले उनी मुम्बईबाटै समातिएकी हुन् । ‘घरको काम गर्न भन्दै छिमेकी भाइले एक रुपैयाँ पनि नलिकन कागजात बनाइदिए,’ उनले भनिन्, ‘त्यसपछि छोरा-बुहारीलाई नभनिकन पैसा कमाउन घरबाट भागेँ ।’ अब घर गएर छोरा-बुहारीलाई के भन्नेबारे चिन्ता लागिरहेको उनले बताइन् । 

 

माइती भारतसँग सहकार्य गरी उनीहरूजस्तै बिनाकसुर मुम्बईमा जेल परेका ९ महिलालाई माइती नेपालले उद्धारा गरेको छ । उनीहरूलाई माइती भारतले तीन दिनअघि भैरहवास्थित माइती नेपाललाई जिम्मा लगाएको 

 

हो । झापा, मोरङ, सुनसरी, इलाम, गोरखालगायत जिल्लाबाट विभिन्न कामका लागि मुम्बई पुगेका यी महिलाको पासपोर्टलगायत अन्य कागजात नक्कली भएको माइती नेपालका सूचना अधिकृत अच्युत नेपालले जानकारी दिए । ‘उनीहरूको सबै कागजपत्र साउदी एयरपोर्टमै जफत गरिएको रहेछ,’ उनले कान्तिपुरसित भने, ‘अरूकै नामको पासपोर्टमा फोटो उनीहरूको टाँसेको रहेछ ।’

 

साधारण लेखपढसमेत नगरेका यी महिला आफ्नो नामसमेत पढ्न नजानेकै कारण अप्ठयारोमा परेको उनले जानकारी दिए । उनका अनुसार नेपाली गिरोह नै भारतमा बसेर कागजात मिलाइदिने काम गरिरहेको हुन सक्छ । ती एजेन्टहरूलाई समात्न भारतीय प्रहरीको सहयोगमा त्यहाँका विभिन्न संघ-संस्थाहरू सक्रिय गराइएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024