साउदी जाने श्रमिकबाट सिप परीक्षणको नाममा सय डलर असुल्ने तयारी

19 June, 2026

Ajit Adhikari

‘सिप प्रमाणीकरण कार्यक्रम (एसभिपी)’ सञ्चालन गरी रोजगारीका लागि साउदी अरेबिया जाने प्रत्येक नेपाली श्रमिकबाट १०० डलर (कम्तीमा १५ हजार रुपैयाँ)का दरले असुल्न लागिएको छ । काठमाडौंस्थित साउदी दूतावाससँग समन्वय गरेर धापासीमा ‘इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युड नेपाल प्रालि’ नामको परीक्षा केन्द्र खोलिसकेको भारतीय एजेन्टले बुधबारबाटै एसभिपी सुरु गर्न लागेको थियो । तर, श्रमिकलाई अतिरिक्त भार थोपर्न लागेको विरोधमा म्यानपावर व्यवसायी उत्रिएपछि तत्कालका लागि स्थगन भएको छ ।

काठमाडौंस्थित साउदी दूतावासले सूचना नै जारी गरी बुधबारबाट परीक्षा लिने जानकारी गराउँदै उत्तीर्ण नहुनेको भिसा प्रमाणीकरण नगर्ने चेतावनी दिएको थियो । सरकार र म्यानपावर व्यवसायीसँगको समन्वयविनै एसभिपी लागू गरेर श्रमिकबाट कम्तीमा १५ हजारका दरले रकम असुल्न खोजेपछि वैदेशिक रोजगार व्यवसायी संघले संस्थागत रूपमा विरोध जनाएको छ । संघको अगुवाइमा करिब दुई सय व्यवसायीले बुधबार दिउँसो परीक्षा सञ्चालन गर्ने भनिएको कार्यालयमै गएर विरोध जनाएका थिए । त्यसपछि कार्यालयले अर्को सूचना जारी गरेर सिप प्रमाणीकरण कार्यक्रम स्थगन भएको जनाएको छ । कार्यालय उद्घाटन गर्न साउदी दूतावासका कर्मचारीसमेत जाने भने पनि व्यवसायीको विरोधपछि उनीहरू पछि हटेका थिए ।

साउदी जाने श्रमिकलाई अतिरिक्त भार पर्ने गरी नयाँ नियम लागू गरिएकाले विरोध गरेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीले बताए । ‘नेपाली श्रमिक प्रतिकूल हुने गरी श्रम गन्तव्य मुलुकले निर्णय गर्न हुँदैन,’ उनले भने, ‘सिप प्रमाणीकरण गरेर नेपाली श्रमिक साउदी जानेबारे कहीँकतै उल्लेख छैन । त्यसैले, यस्तो नियम लागू गर्नु ठिक हुँदैन भनेर हामीले विरोध गरेका हौँ ।’

व्यवसायीको टोलीले धापासीस्थित सिप प्रमाणीकरणका लागि खोलिएको कार्यालयमा धर्ना दिएर सो कार्यक्रम स्थगन गराएपछि बुधबार दिउँसो नै श्रममन्त्री रामजी यादवलाई भेटेर ध्यानाकर्षण गराइसकेका छन् । श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले व्यवसायीको पत्र पाएपछि मात्रै साउदीले नयाँ नियम लागू गर्न खोजेकोबारे जानकारी भएको बताए । ‘रोजगारीका लागि साउदी जाने नेपाली कामदारबाट सिप प्रमाणीकरण शुल्क लिनेबारे नेपालस्थित दूतावास वा अन्य कुनै निकायबाट केही जानकारी आएको छैन,’ उनले भने, ‘व्यवसायीले लिखित रूपमा दिएपछि मात्रै थाहा भएको हो ।’

साउदीले नेपालसँग पाँच महिनाअघि गरेको सम्झौताविपरीत एसभिपी सुरु गर्न लागेको छ । गत माघमा साउदीसँग श्रम सम्झौता हुँदा दुई देशका श्रम समस्या हल गर्न संयुक्त रुपमा प्राविधिक समिति बनाएर काम गर्ने सहमति भएको थियो । श्रम प्रवक्ता घिमिरेले भने, ‘द्विपक्षीय श्रमका मुद्दाबारे छलफल गर्न संयुक्त रूपमा प्राविधिक संयन्त्र निर्माण गर्ने सहमति भएको छ । उक्त संयन्त्र निर्माणकै चरणमा छ,’ उनले भने, ‘त्यसैले, केही विषय भए त आपसी छलफल हुनुपर्ने हामो बुझाइ छ । श्रमिकलाई अतिरिक्त भार हुने कुनै पनि निर्णय गर्न दिँदैनौँ ।’

साउदीले आप्रवासी श्रमिकका लागि सन् २०२१ बाटै सिप प्रमाणीकरण कार्यक्रम लागू गरेको छ । त्यसैले, यो नियम नेपालका लागि मात्र नभएकाले पनि श्रम सम्झौतामा उल्लेख भएको द्विपक्षीय संयन्त्रले यो मुद्दामा काम गर्न नसक्ने नेपाली अधिकारीहरूको बुझाइ छ ।

काठमाडौंस्थित साउदी दूतावासपरिसरमा एक सूचना टाँसेर नेपाली श्रमिकलाई सिप प्रमाणीकरण कार्यक्रम लागू भएको जानकारी साउदी अरेबियाले दिएको छ । ‘हामी नेपालमा सिप प्रमाणीकरण कार्यक्रम सञ्चालनमा आएको जानकारी गराउन पाउँदा खुसी छौँ । यस कार्यक्रमको उद्देश्य साउदी अरेबियामा काम गर्ने भिसा प्राप्त गर्न आवश्यक व्यावसायिक मापदण्डहरू पूरा गरेको दक्ष कामदारको सिप प्रमाणीकरण गर्न हो,’ दूतावासको नोटिस बोर्डमा टाँसिएको सूचनामा छ । उक्त सूचनामा बुधबारबाटै औपचारिक रूपमा एसभिपी लागू भएको भनिएको छ ।

सुरुमा पाँच क्षेत्रहरू सामान लोड र अनलोड गर्ने कामदार, भरिया, ठेलागाडाका कामदार, निर्माण कामदार र निर्माणसम्बन्धी कामदारका रूपमा काम गर्न साउदी जाने नेपाली श्रमिकलाई एसभिपी लागू गरिएको उक्त सूचनामा उल्लेख छ । सिप परीक्षणका लागि आधिकारिक पोर्टलसमेत जारी भएकाले सोही पोर्टलमार्पmत आवेदन दिनुपर्ने र सीप परिक्षण पास गरेपछि ‘प्रोफेसनल एक्रिडेसन सर्टिफिकेट’ प्रदान गर्ने उल्लेख छ । उक्त सर्टिफिकेट प्राप्त गर्नेले मात्र भिसा प्रक्रियामा सामेल हुन पाउने व्यवस्थासमेत रहेको सूचनामा उल्लेख छ । यो सबै प्रक्रिया साउदीको विदेश मन्त्रालयको भिसा प्रणालीकरणमा एकीकृत गरिएको पनि सूचनामार्फत जानकारी गराइएको छ । साउदीको मानव संशाधन मन्त्रालयले पनि आप्रवासी श्रमिकका लागि सिप प्रमाणीकरण कार्यक्रम विभिन्न देशमा लागू भइरहेको सूचना राखेको छ ।

भारतीय एजेन्टले खोलेका छन् नेपालमा कार्यालय

भारतीय एजेन्टले टोखा नगरपालिका– १०, धापासीमा ‘इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युड नेपाल प्रालि’ कार्यालय स्थापना गरेका छन् । उक्त कम्पनीले भारतमा समेत साउदी जाने भारतीय श्रमिकलाई सिप परीक्षण कार्यक्रम गर्दै आएको स्रोतको भनाइ छ । तर, सो कम्पनीले सोझै सिप परीक्षण नगरी आफूमातहत केही परीक्षा केन्द्र राखेर भारतीय श्रमिकबाट शुल्क असुलिरहेको स्रोतले जानकारी दियो ।

भारतमा गरिरहेको व्यावसायिक मोडल कम्पनीले नेपालमा पनि लागू गर्न खोजेको एक म्यानपावर व्यवसायीले बताउँछन् । ‘धापासीमा रहेको कम्पनी भारतीय नागरिकको स्वामित्वमा रहेको पुष्टि भएको छ,’ ती व्यवसायीले भने, ‘सो कम्पनीमातहत परीक्षा केन्द्र रहने गरी ६ संस्थाले दूतावासबाट स्वीकृति लिइसकेको जानकारी प्राप्त भएको छ ।’ बिहीबार ११ बजे काठमाडौंस्थित साउदी दूतावासमा म्यानपावर व्यवसायीको छलफल राखिएको छ ।

प्रमुख श्रम गन्तव्य मुलुकमा दलालका आँखा

साउदी अरब नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य मुलुकमध्ये एक हो । गत भदौमा जेन–जी आन्दोलनपछि साउदी सबैभन्दा बढी नेपाली श्रमिक जाने मुलुकहरूको सूचीमा पहिलो स्थानमा थियो । तर, अमेरिका–इजरायल र इरान युद्धका कारण मध्यपूर्व (पश्चिम एसिया) तनावग्रस्त बनेपछि साउदी अरेबिया जाने श्रमिकको संख्या केही कम छ । तर, मासिक औसतमा १० हजारभन्दा बढी युवा रोजगारीका लागि श्रम स्वीकृति लिएर साउदी जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

गत आर्थिक वर्ष ०८१–८२ मा युएईपछि सबैभन्दा धेरै १ लाख ५२ हजार ५५७ नेपाली श्रमिक साउदी पुगेको तथ्यांक छ । अन्य वर्षहरूमा पनि औसत डेढ लाख श्रमिक साउदी अरेबिया पुग्ने गरेको विभागको तथ्यांक छ । एउटा श्रमिकबाट औसतमा सिप परीक्षण कार्यक्रममार्फत १५ हजार असुल्दा वार्षिक दुई अर्ब २५ करोड उठाउने ध्याउन्नमा भारतीय एजेन्ट छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीले ठुलो श्रम गन्तव्य मुलुक जाने श्रमिकबाट एक रुपैयाँ पनि अतिरिक्त उठाउन नदिने बताए । ‘अरू देशमा के कस्तो नियम छ, त्यो यहाँ लागू हुनुपर्छ भन्ने होइन,’ उनले भने, ‘नेपाली श्रमिकबाट अतिरिक्त रकम उठाउन खोज्नु ठिक होइन । हामी यसको विरोध गर्छौँ र एसभिपी लागू गर्न दिँदैनौँ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024