साउदीमा ‘बन्धक’ महिलाको उद्धार पहल

28 December, 2011

कलेन्द्र सेजुवाल

साउदी अरबमा ‘बन्धक’ रहेको बताइएकी वीरेन्द्रनगर-११ दीपनगरकी देवीसरा बिकको उद्धारको लागि स्थानीय प्रशासनले पहल थालेको छ। जिल्ला प्रशासन कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत यस्तो पहल सुरु गरेको हो।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रबहादुर बानियाँले देवीसराको खोजी गरी उद्धार गर्न शुक्रबार परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको बताए। महिलाका श्रीमान् डम्बर बिकले दिएको लिखित निवेदनको आधारमा यस्तो पहल थालिएको उनको भनाइ छ। देवीसरालाई विदेश पठाउने वीरेन्द्रनगर- ११ दीपनगरकी रेखा सुनार र नेपालगन्ज धम्बोझीका केशव र ध्रुव परियारलाई पक्राउ गरी आवश्यक कारबाही गर्न पनि कार्यालयले प्रहरीलाई निर्देशन दिएको छ। ‘हामीले घटनाबारे जानकारी पाउनेबित्तिकै प्रक्रियागत रुपमा उद्धारको पहल थालेका छौँ,’ प्रजिअ बानियाँले भने।

देवीसराबारे भदौ ६ गते नागरिकमा समाचार छापिएपछि महिलाअधिकारवादी संस्था पौरखीले पनि उद्धारको प्रयास गरेको जनाएको छ। संस्थाका सञ्चार अधिकृत ऋचा शर्मा तिवारीले साउदीस्थित नेपाली दुतावास र गैरआवासीय नेपाली संगठनलाई उद्धार गर्न अनुरोध गरिएको बताइन्।

गत वर्ष साउनमा कुवेत जाने भनेर घरबाट हिँडेकी ३५ वर्षीया देवीसरालाई दिल्लीबाट साउदी पठाइएको थियो। उनी अहिले साउदी थापर भन्ने ठाउँमा स्थानीय हामिन हामेको घरमा ‘बन्धक’ रहेको श्रीमान डम्बरले बताएका छन्। देवीसराले पछिल्लोपटक ९६६५०८७६५४६१ नम्बरबाट फोन गरेर आफू बन्धकमा परेको बताएकी थिइन्। उनको यस्तो अवस्थापछि घरमा रहेका दुई छोरी नौ वर्षीया राधा र पाँच वर्षीया रीताको बिचल्ली भएको छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024