साउदीको सीप परीक्षण गर्ने ट्रेनिङ इन्स्टिच्युटमा सिलबन्दी

24 July, 2026

Hom Karki

साउदी अरवले नेपालमा श्रमिकलाई आर्थिक भार पार्ने गरी एकतर्फी रुपमा कार्यान्वयनमा ल्याइएको सीप परीक्षण कार्यक्रम (एसभिपी)लाई सञ्चालन गर्दै आएको बसुन्धारास्थित इण्ड्रष्ट्रियल ट्रेनिङ इन्च्यिुचुट नेपाल प्रालिमा बुधबार सिलबन्दी गरिएको छ ।

युवा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी र वैदेशीक रोजगार विभागको संयुक्त अनुगमन टोलीले इण्ड्रष्ट्रियल ट्रेनिङ इन्च्यिुचुटमा सिलबन्दी गरेको हो ।

अनुगमन टोलीले इण्ड्रष्ट्रियल ट्रेनिङले सीप परीक्षण गर्न अनुमति नलिएको भन्दै सिलबन्दी गरेको जनाएको छ । टोलीले वैदेशिक रोजगारमा जाने श्रमिकलाई लक्षित गरी तोकिएको सर्त विपरीत सीप प्रमाणीकरण प्रमाणपत्र उपब्ध गराएको जनाएको छ । अनुगमन टोलीले सीप परीक्षणको अनुमति दिने सरकारी निकाय सिटिइभिटी मात्रै भएको जनाएको छ ।

प्रति श्रमिक ५० डलर (७ हजार रुपैयाँ) भुक्तानी गरेका श्रमिकलाई इण्ड्रष्ट्रियल ट्रेनिङ इन्च्यिुचुटले तीन घण्टाको परीक्षण गरी एसभिपीको प्रमाणपत्र दिन थालेको हो । एसभिपीको प्रमाणपत्र नभएका श्रमिकलाई काठमाडौंस्थित साउदी दूतावासले भिसा आवेदन नै दिन नमिल्ने बनाएको छ ।

यसअघि साउदीले गत असार ३ गतेबाटै कार्यान्वयनमा ल्याउने तयारी थालेको थियो । तर, म्यानपावर व्यवसायीहरुले एसभिपी कार्यान्वयन गर्ने जिम्मेवारी पाएको इण्ड्रष्ट्रियल ट्रेनिङ इन्च्यिुचुटमा तोडफोड गरेपछि तत्काल रोकिएको थियो ।

साउदीले सीप परिक्षण ५ वटा पेशाहरुमा क्रमशः समान लोड तथा अनलोड गर्ने, भरिया, ठेला चलाउने, र निर्माण क्षेत्रका श्रमिक रहेका छन् । निर्माण क्षेत्रमा के काम गर्ने श्रमिक भनेर प्रष्ट खुलाइएको छैन ।

साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले साउदी अरवमा श्रम भिसा प्राप्त गर्नको सीप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । साउदीले व्यवसाहिक मान्यता दिनको लागि सीप प्रमाणीकरण गर्न लागेको जनाएको छ ।

गत असार १२ गते युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद एम्नीखरलाई भेटी नेपाली श्रमिकको सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गरेका थिए । सरकारले साउदीलाई द्विपक्षीय परामर्शको आधारमा कार्यान्वयन गर्नुपर्ने भन्दै तत्काल सीप परीक्षण कार्यक्रम अगाडि नबढाउन कुटनीतिक नोट पठाएको थियो । तर, त्यसको जवाफ नआई नेपालमा सीप परीक्षण सुरु गरिएको हो ।

साउदी दुतावासद्वारा जारी सूचना अनुसार सीप परीक्षणको लागि श्रमिकले पहिला नै साउदीको ‘व्यावसायिक प्रमाणीकरण पोर्टल’मा अनलाइन दर्ता गर्नुपर्छ । दर्ता गरेपछि मात्रै भिसा वा मास्टर कार्डमार्फत डलरमा शुल्क भुक्तानी गर्नुपर्छ । आवेदकले कार्यक्रम अन्तर्गत उपलब्ध पेशाहरूबाट आफ्नो पेशा छनोट गर्नुपर्छ ।

साउदीको सूचना अनुसार सीप परीक्षणको लागि श्रमिकलाई तीन पटकसम्म मौका दिइनेछ । यसमा अनुत्तिर्ण भएमा श्रमिक साउदी जान पाइनेछैन । साउदीले यो कार्यक्रम सवै श्रोत देशमा लागू गरेको जनाएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी जानको लागि सीप परीक्षण प्रमाणपत्र अनिवार्य भएको जनाएको छ । ‘सरकारले अविलम्ब कुटनीतिक पहलमार्फत सीप परीक्षण रहित नेपाली श्रमिक साउदी अरब जाने बाटो खोल्नुपर्छ । नेपाल सरकारले जहिले पनि हित सोच्ने हो । लागत शुल्क नियन्त्रण गर्ने हो,’ संघका अध्यक्ष डिकबहादुर खत्रीले भने, ‘हिजोको अवस्थामा नै साउदी जाने बातावरण बनाइनुपर्छ ।’

साउदीमा गत वर्ष ७७ हजार जना नेपाली श्रमिक गएका थिए । श्रम मन्त्रालयको श्रम प्रतिवेदन–२०२४ का अनुसार साउदी गएका ६७ प्रतिशत सामान्य श्रमिक भिसामा गइरहेका छन् । ८ प्रतिशत सेवा क्षेत्र र १२ प्रतिशत डाइभर र अपरेटर क्षेत्रमा गइरहेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024