साउदीको एकपक्षीय निर्णय : सीप परीक्षण पास नभए रोजगारीमा जान नपाउने

17 June, 2026

Hom Karki

साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रुपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेसामा पनि सीप परीक्षण गर्ने भएको छ । भोलि बुधबारदेखि नै सीप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउनेछैन् । साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य हो ।

यसका लागि एक सय डलर (करिब १५ हजार रुपैयाँ) शुल्क तोकिएको छ । जसमा परीक्षा शुल्कबापत ५० डलर र पूर्वसिकाइ मान्यता (आरपीएल) बापत ५० डलर छ ।

गत माघ ११ मा नेपाल र साउदीबीच भएको श्रम सम्झौता भएको थियो । सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न दुई देशका कम्तीमा ६ सदस्यीय अधिकारी संलग्न रहेको संयुक्त प्राविधिक समिति व्यवस्था गरिएको छ । यसले सम्झौता कार्यान्वयनको अनुगमन गर्नेदेखि मूल्यांकन गर्नेछ । श्रमिक भर्नासँग सम्बन्धित कुनै विषयमा निर्णय गर्नुअघि संयुक्त प्राविधिक समितिमा प्रस्ताव लैजानुपर्ने सम्झौतामा उल्लेख छ ।

तर, सीप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदीबीच द्विपक्षीय छलफल नै भएको छैन । श्रम मन्त्रालयका एक अधिकारीले सीप परीक्षण गर्ने विषयमा औपचारिक छलफल तथा सहमति नभएको बताए ।

साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गर्दै साउदी अरबमा श्रम भिसा प्राप्त गर्न सीप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । व्यावसायिक मान्यता दिनका लागि सीप प्रमाणीकरण गर्न लागेको साउदीको भनाइ छ ।

सामान लोड/अनलोड गर्ने, भरिया, ठेला चलाउने र निर्माण क्षेत्रका श्रमिकका लागि अब सीप परीक्षण गर्नुपर्छ । निर्माण क्षेत्रमा के काम गर्ने श्रमिकका बारेमा भने खुलाइएको छैन ।

काठमाडौंस्थित साउदी दूतावासको सूचनापाटीमा समेत यसबारे सूचना टाँस गरिएको छ । यी सीप प्रमाणीकरण गर्नका लागि साउदीले निश्चित तालिम परीक्षण केन्द्रलाई जिम्मेवारी दिएको छ । नेपालमा सीप प्रमाणीकरण गर्ने जिम्मेवारी पाएको तालिम परीक्षण केन्द्रको नाम भने सार्वजनिक गरिएको छैन ।

सीप परीक्षणका लागि श्रमिकले पहिला नै साउदीको ‘व्यावसायिक प्रमाणीकरण पोर्टल’मा अनलाइन दर्ता गर्नुपर्छ । दर्ता गरेपछि मात्रै भिसा वा मास्टर कार्डमार्फत डलरमा शुल्क भुक्तानी गर्नुपर्छ । आवेदकले कार्यक्रमअन्तर्गत उपलब्ध पेसाहरूबाट आफ्नो पेसा छनोट गर्नुपर्छ । उसले स्वीकृत परीक्षा केन्द्र छनोट र उपलब्ध परीक्षाको मिति चयन गर्नुपर्नेछ । परीक्षण ३ घण्टाको हुनेछ । यसको नतिजा आउन २४ घण्टादेखि एक साताभित्र आउनेछ ।

सूचनाअनुसार सीप परिक्षणका लागि श्रमिकलाई तीन पटकसम्म मौका दिइनेछ । यसमा अनुत्तीर्ण भएमा श्रमिक साउदी जान पाउनेछैनन् । साउदीले यो कार्यक्रम सबै स्रोत देशमा लागू गरेको जनाएको छ ।

साउदीले यसअघि पनि अदक्ष श्रमिकको अनिवार्य रूपमा प्रमाणित गरिएको शैक्षिक प्रमाणपत्र पेस गर्नुपर्ने नियम ल्याएको थियो । तर, चौतर्फी विरोध भएपछि यो हटाइएको थियो ।

यस विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार युवा, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको ध्यानकर्षण गराएको छ । श्रममन्त्री यादवले गत बिहीबार जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को महासभामा साउदीको मानव संशाधन तथा सामाजिक सुरक्षा उपमन्त्री तरिक बिन अब्दुलाजिज अल हमदसँग श्रम, आप्रवासनसम्बन्धी द्विपक्षीय छलफल गरेका थिए ।

संघका अध्यक्ष डिकबहादुर (कुमार) खत्रीले श्रमिकलाई अत्यधिक आर्थिक भार स्वीकार नहुने बताए । ‘यो व्यवस्था लागू भएमा अब साउदी जाने नेपाली श्रमिकले अतिरिक्त शुल्क तिर्नुपर्नेछ । प्रमाणीकरण प्रक्रियाका कारण थप समय खर्च गर्नुपर्ने तथा रोजगारी प्रक्रियामा अनावश्यक झन्झट र आर्थिक भार बेहोर्नुपर्ने अवस्था सिर्जना हुने देखिएको छ,’ खत्रीले भने, ‘यसबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको लागत वृद्धि भई उनीहरूको हित प्रतिकूल रूपमा प्रभावित हुन सक्ने सम्भावना छ ।’

संघले श्रमिकहरूको हित, सुविधा तथा सहज वैदेशिक रोजगार प्रक्रियालाई ध्यानमा राखी यथासक्य छिटो साउदी पक्षसँग आवश्यक कूटनीतिक पहल गर्न श्रममन्त्रीलाई आग्रह गरेको छ । ‘भारत र बंगलादेशको अभ्यास हेर्दा श्रमिकमैत्री देखिएको छैन । समय नपाउने भएकाले तोकिएभन्दा बढी शुल्क लिइरहेको छ,’ उनले भने, ‘यसले श्रमिकलाई थप झन्झट मात्रै दिएको छ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024