सल्यानका ४५ जना मजदुर सम्पर्कविहीन, दुई जना घाइते

27 August, 2026

Shanker KC

सल्यानका विभिन्न आठ पालिकाका ४५ जना मजदुर भोटेकोशी नदी क्षेत्रमा आएको बाढी तथा विपद्का कारण सम्पर्कविहीन भएका छन्। बाढीमा परी दुई जना घाइते भएका छन् भने दुई जना परिवारको सम्पर्कमा आएका छन्।

कामको सिलसिलामा रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा पुगेका सल्यानका विभिन्न पालिकाका नागरिक ठुलो संख्यामा बेपत्ता तथा सम्पर्कविहीन भएका हुन्। बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले पीडित परिवार तथा आफन्त चिन्तित बनेका छन्। स्थानीय प्रशासन र पालिकाहरूले खोजी तथा उद्धारका लागि पहल गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित बनगाड कुपिण्डे नगरपालिका–६ का बासिन्दा भएका छन्। बनगाड कुपिण्डे–६, गैरीगाउँका ३६ वर्षीय गिरिलाल बुढाथोकी गम्भीर घाइते अवस्थामा साथीको फोनमार्फत सम्पर्कमा आएको बताइएको छ।

बाढीमा परी गिरिलालको परिवारका अन्य सदस्य बेपत्ता भएका छन्। उहाँकी ३५ वर्षीया श्रीमती सुनिता बुढाथोकी, १८ वर्षीया छोरी डिला बुढाथोकी, १६ वर्षीया छोरी निर्मला बुढाथोकी, १४ वर्षीय छोरा निराजन बुढाथोकी र १२ वर्षीय छोरा केशव बुढाथोकी बेपत्ता हुनुहुन्छ।

सोही वडाका २४ वर्षीय गगन बस्नेत, ३६ वर्षीय चित्रबहादुर पुन, उहाँकी २९ वर्षीया श्रीमती पविना राणा पुन र तीन वर्षीय छोरा जितेन्द्र पुन पनि बेपत्ता हुनुहुन्छ। यस्तै, बनगाड कुपिण्डे–६, गगनकटेराका २९ वर्षीय ढाकवीर ऐरी घाइते अवस्थामा सम्पर्कमा आउनुभएको छ। उहाँकी २८ वर्षीया श्रीमती बिना ऐरी र पाँच वर्षीया छोरी दिपिका ऐरी भने बाढीपछि बेपत्ता हुनुहुन्छ।

त्यसैगरी, रसुवा क्षेत्रमा कामको सिलसिलामा पुगेका कुमाख गाउँपालिकाका नागरिक पनि ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्। कुमाख गाउँपालिका–३, गुरुवासेका ६० वर्षीय दुर्गाबहादुर राणा, ४३ वर्षीय निमप्रकाश राणा, ४० वर्षीय गणेश राणा, २५ वर्षीय नवीन राणा, ५५ वर्षीय इयासे राणा, २७ वर्षीय नन्दराम राणा र २४ वर्षीय चित्रबहादुर राणा हालसम्म सम्पर्कविहीन रहनुभएको छ।

सोही पालिका–१, भितिबनका ५० वर्षीय खर्सल राणा र वडा नम्बर १, साधनमुढाका ४५ वर्षीय शेरबहादुर विक भने परिवारको सम्पर्कमा आइसक्नुभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो।

यस्तै, सिद्धकुमाख गाउँपालिका–४, मेलाचौरका अन्दाजी ३१ वर्षीय हिरालाल घर्ती मगर पनि सम्पर्कविहीन हुनुहुन्छ।

शारदा नगरपालिका, त्रिवेणी गाउँपालिका र बागचौर नगरपालिकाका नागरिक पनि विपद्मा परेका छन्। शारदा नगरपालिका–१३, सल्लेरीका ३२ वर्षीया प्रमिला बुढाथोकी, २८ वर्षीया लक्ष्मी बुढाथोकी, १७ वर्षीय प्रविण बुढाथोकी, ३९ वर्षीया रिता बुढाथोकी र ४४ वर्षीय रिमबहादुर बुढाथोकी सम्पर्कविहीन हुनुहुन्छ।

त्रिवेणी गाउँपालिका–५ का प्रेम महतरा, पोषण महतरा, रुपलाल विक, निमकुमार विक, लालसिंह विक, प्रकाश विक र २५ वर्षीय रोहित बुढाथोकी तथा वडा नम्बर ४ का २४ वर्षीय मोहन रेउले सम्पर्कविहीन हुनुहुन्छ।

बागचौर नगरपालिका–८, गैरागाउँकी ३८ वर्षीया प्रमिला बुढाथोकी र टिमुरेस्थित प्लान्ट क्वारेन्टाइनमा खरिदार पदमा कार्यरत बागचौर नगरपालिका–१०, पिपलनेटाका आयुष खड्का पनि सम्पर्कविहीन हुनुहुन्छ।

कपुरकोट र कालीमाटी गाउँपालिकाका नागरिकको विवरण पनि सार्वजनिक भएको छ। कपुरकोट गाउँपालिका–६ का ५५ वर्षीय हिमलाल सार्की, ३५ वर्षीय रामबहादुर सर्दिकी, १९ वर्षीय तिलक सार्की, २७ वर्षीय किरण विक, ४२ वर्षीय मानबहादुर विक, ३३ वर्षीय लालबहादुर विक, २७ वर्षीय प्रकाश सार्की, ४३ वर्षीय लक्ष्मण सार्की, ३५ वर्षीय भीमबहादुर ठकुरी, ४४ वर्षीय खिमबहादुर दमाई र ६१ वर्षीय टेकबहादुर बस्नेत सम्पर्कविहीन हुनुहुन्छ।

कालीमाटी गाउँपालिका–३ का ३८ वर्षीय भुपेन्द्र रावत र ४५ वर्षीय भुपेन्द्रबहादुर खत्री पनि हालसम्म सम्पर्कमा आउन सक्नुभएको छैन। सुरक्षा निकाय र स्थानीय प्रशासनले प्रभावित क्षेत्रका प्रशासनसँग समन्वय गरी खोजी तथा उद्धार कार्य जारी राखेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024