श्रम सहायता कक्ष चौबिसै घण्टा खुला

24 April, 2026

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘श्रम सहायता कक्ष’ लाई थप व्यवस्थित गरी चौबिसै घण्टा सञ्चालनमा ल्याएको छ ।

वैदेशिक रोजगारीमा जाने र फर्किने श्रमिकलाई सहजीकरण गर्ने उद्देश्यसाथ यसअघि दुई सिफ्टमा सञ्चालन भएको सहायता कक्षलाई तीन सिफ्टमा विस्तार गरेर चौबिसै घण्टा सञ्चालनमा ल्याएको हो । गत मङ्गलबारदेखि थप व्यवस्थित गरेको जनाइएको छ । श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड र सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल सहकार्यमा ११ जना कर्मचारीमार्फत श्रम सहायता कक्ष सञ्चालन गरिएको छ ।

श्रम मन्त्रालयका सहसचिव एवं प्रवक्ता पीताम्बर घिमिरेले वैदेशिक रोजगारीमा जाने श्रमिकको हकहितका लागि श्रममन्त्रीस्तरीय निर्णयबाट सहायता कक्षलाई थप व्यवस्थित गरी सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले कुनै पनि बहानामा वैदेशिक रोजगारीमा जाने श्रमिक नठगिऊन् भनेर जानकारी दिने उद्देश्यसहित सहायता कक्ष चौबिसै घण्टा सञ्चालनमा गरिएको बताउनुभयो । सहसचिव घिमिरेका अनुसार मन्त्रालय, विभाग र बोर्डबाट खटाइएका कर्मचारीमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नेपालको कानुनी प्रक्रिया पूरा गरेर सहज रूपमा विदेश प्रस्थान गर्ने वातावरण बनाउने काम हुँदै आएको छ । विदेशमा अप्ठ्यारो परेमा सहयोग लिने दूतावासका कर्मचारीको नाम, नम्बर र ठेगानासमेत जानकारी गराइने गरेको छ ।

श्रम सहायता कक्षमा नयाँ जानेभन्दा पनि यसअघि नै वैदेशिक रोजगारीमा गई फर्केर आएपछि पुनः जानेले बढी चासो राख्ने गरेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिनुभयो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024