श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य

22 July, 2025

श्रम अदालतले एक वर्ष नाघेका सबै मुद्दाको छिनोफानो गरेको छ। अदालतले आर्थिक वर्ष २०८१/८२ मा एक वर्ष नाघेका मुद्दालाई शून्यमा पुर्‍याएको हो।

अदालतमा ६ महिनादेखि १ वर्षभित्रका ९२ मुद्दा रहेका थिए। श्रम अदालतका रजिष्ट्रार मुकुन्द निरौलाकाे अनुसार अदालतले गत असार मसान्तसम्म ४२२ थान मुद्दा फर्स्याैट गर्ने लक्ष्य राखेकामा ४६१ थान (१०९.२४) मुद्दा फर्स्याैट गरेको छ। अब अदालतमा १५१ मुद्दा फर्स्याैट गर्न बाँकी छन्।

रजिष्ट्रार निरौलाकाे अनुसार न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजनाले निर्धारण गरेको लक्ष्यअनुरूप जिम्मेवारी सरेका सबै मुद्दा फर्स्याैट गर्ने र दर्ता भएका नयाँ मुद्दाबाट कम्तीमा ५० प्रतिशत फर्स्याैट गर्ने लक्ष्य थियो।

आव २०८०/८१ बाट जिम्मेवारी सरेका १५६ र सो आवमा दर्ता हुन आउने निवेदनसहित मुद्दा सङ्ख्या ३४५ गरी जम्मा वार्षिक अनुमानित मुद्दाको लगत ५०१ हुने अनुमान गरिएको थियो। जसमा जिम्मेवारी सरेको १५६ र नयाँ निवेदनसहितको मुद्दा सङ्ख्या ४५६ दर्ता भई कुल जम्मा ६१२ लगत हुन आएकामा जिम्मेवारीतर्फको सबै १५६ थान र नयाँतर्फको ३०५ गरी जम्मा ४६१ थान मुद्दा फर्स्याैट गरी समग्र मुद्दा ७५.३३ प्रतिशत रहेका थिए।

श्रम अदालतमा तीन न्यायाधीश हुने कानुनी व्यवस्था छ। अहिले श्रम अदालतका अध्यक्ष जनक पाण्डे र सदस्यहरूमा निशा बाँनिया र शैलेन्द्रकुमार चौरसिया रहेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024