श्रमिक सुरक्षाका लागि पाँचवर्षे रणनीतिक योजना लागू

4 May, 2026

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले एक सय ३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर शुक्रबार तीनवटा सुधारका योजना लागू गरेका छन् ।

मन्त्री यादवका अनुसार पाँचवर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम शुक्रबारबाट सुरु भएको छ । उक्त कार्यक्रमले प्रत्येक श्रमिकको सुरक्षा, स्वास्थ्य र सुरक्षित कार्य वातावरणको अधिकार सुनिश्चित गर्ने उनले जानकारी दिए । त्यस्तै, विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह र समस्या समाधानलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली दूतावासमा रहेका श्रम सहचारीबाट हप्तामा एकपटक फेसबुक वा टिकटक लाइभ कार्यक्रम सञ्चालनको सुरुवात पनि भएको छ । मन्त्रीको उक्त घोषणालगत्तै शुक्रबार दिउँसो सबै श्रम सहकारी रहेका दूतावासले फेसबुक लाइभमार्फत श्रमिकसँग प्रत्यक्ष संवाद गरेका थिए ।

मन्त्री यादवले उक्त अभियानबाट विदेशमा रहेका श्रमिकलाई ‘तपाईंहरू जहाँ हुनुहुन्छ, सरकार तपाईंसँगै छ’ भन्ने अनुभूति दिलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकले घडेरी खरिद गर्नका लागि ६ प्रतिशत ब्याजदरमा एक करोड ५० लाखसम्म नियमानुसार सापटी लिन सक्ने व्यवस्था पनि लागू गरेको उनले जानकारी दिए ।

मन्त्री यादवले सबै क्षेत्रका श्रमिकका लागि उचित पारिश्रमिक, मर्यादित कामको वातावरण र श्रम अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । उनले सबै क्षेत्रबाट राष्ट्र निर्माणमा योगदान पुर्‍याउन पनि अपिल गरेका छन् । ‘श्रमिकको पसिनाको उचित मूल्य र सम्मान सुनिश्चित भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ भन्ने मेरो दृढ विश्वास छ,’ उनले भने ।

यसैबिच, वैदेशिक रोजगारीमा जाने श्रमिकसँग लिने सेवा शुल्कबापतको रकम म्यानपावर कम्पनीले अनिवार्य रूपमा बैंकिङ च्यानलमार्फत नै बुझ्नुपर्ने भएको छ । श्रमिकबाट नगदमा ठुलो रकम बुझ्ने र औसतमा १० हजार रुपैयाँ मात्रै बैंकिङ च्यानलबाट बुझ्ने विकृति झाँगिँदै गएको र ठगी पर्ने श्रमिकलाई क्षतिपूर्ति दिलाउन मुस्किल भएको भन्दै वैदेशिक रोजगार विभागले म्यानपावरलाई बैंकिङ च्यानलमार्फत मात्रै सेवा शुल्क बुझ्न परिपत्र गरेको हो ।

श्रमिकलाई पनि सेवा शुल्कबापत बुझाउनुपर्ने रकम नगदमा नदिन विभागले अनुरोध गरेको छ । म्यानपावरलाई बुझाएको रकम बैंकिङ च्यानलमा देखिए ठगी गरेको उजुरी प्रमाणित हुँदा क्षतिपूर्ति दिलाउन सजिलो हुने विभागले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024