श्रमिकलाई घर चलाउन जहिल्यै मुस्किल

4 May, 2026

Aarati Poudel

आज १३७औं विश्व मजदुर दिवस । श्रमिकका हक र अधिकारका लागि यसको महत्व छुट्टै छ ।

आजको दिनलाई श्रमिकहरूको लागि महत्वपूर्ण दिन मानिन्छ । त्यसैको उपलक्ष्यमा विभिन्न स्थानमा ठूला–ठूला कार्यक्रमहरू हुन्छन् । तर, बिहान बेलुका कसरी हातमुख जोड्ने भन्ने चिन्तामा रहेका सर्वसाधारण भने श्रमिक दिवसको बारेमा जानकार नै हुँदैनन् । हरेक वर्ष १ मेमा मजदुर दिवस मनाइन्छ । तर, मजदुरी गरेर जीविका चलाउनेलाई भने उक्त दिवसले खासै छुदैन ।

त्यसैमध्येका एक हुन् गणेश मगर । वृद्ध उमेरमा उनी ठेलामाथि एक बोरा प्याज, अन्य तरकारी लिएर बसपार्क छेउमा हिँडिरहेका थिए । उनी आफ्नो सामान कतै खस्ने हो की भन्ने डरले उत्तिकै संयम थिए । शीरमा ढाकाटोपी लगाएका, पैतलामा चप्पल लगाएका ६५ वर्षीय गणेशको स्थायी घर धादिङ हो । उनी १८ वर्षदेखि काठमाडौंमा ठेलामा सामान ओसारपसार गरिरहेका छन् ।

त्यहीबाट आएको आम्दानीले उनको घर चलिरहेको छ । गणेशकै कमाइले ४ जनाको परिवार चलेको छ । उनका दुई छोरा र श्रीमती गाउँमै बस्छन् ।उनी भन्छन्, ‘खासै कमाई छैन । काठमाडौंमा एक्लै बसेर कोठाभाडा तिर्न, बस्न खान त सक्न नि पर्यो नि,’ उनले भने, ‘त्यसैले एकजना साथीसँग मिलेर बसेको छु । दुईजना मिलेर भाडा तिर्ने गरेका छौँ ।’

गणेश मजदुर दिवसको बारेमा थाहा नभएको सुनाउँछन् । भन्छन्, ‘हामीलाई भोलि धेरै सामान बोक्न पाए हुँदो हो भन्ने हुन्छ । एक महिनामा गाउँमा पठाउने पैसा कमाउन पाए भन्ने हुन्छ,’ उनले भनिन्, ‘अरू धेरै थाहा हुँदैन । जानकार भएर पनि के गर्नु, हुने केहि होइन ।’

बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म सामानले भरिएको ठेला धकेल्दैमा गणेशको दिन बित्ने गर्छ । ‘काम धेरै नपाएको दिन मन अशान्ति हुन्छ । के गर्नु त्यति नगरी घरमा चुलो बल्दैन,’ उनले भने ।

उनी काठमाडौं माछापोखरीमा रहेको तरकारी बजार छेउ बस्छन् । गणेश त्यहाँ बस्नुको कारण भने अलि भिन्न छ । ‘वर्षौदेखि ठेलामा सामान धकेल्ने भएर होला गह्रौ सामान हुने बित्तिकै गणेश दाईले पुर्‍याइ दिनुहुन्छ भन्छन्,’ उनले भने । माछापोखरीको उक्त तरकारी बजारमा टाढा टाढाबाट बिहानै मानिसहरू आउने गर्छन् । धेरै तरकारी सामान किनमेल गर्नेहरूको सामान गणेशले ठेलामा राखेर गाडी, ट्याक्सीसम्म पुर्याइदिन्छन् । त्यसबापत सामानको तौलअनुसार १५० देखि ५०० सम्म पाउने गरेको उनले सुनाए । गणेश महँगी हटोस् आफ्ना छोराहरू कमाउने हुन् भन्ने चाहना राख्छन् ।

०००

बिहानदेखि बेलुकासम्म आफ्नै देशमा परिश्रम गरेर घर परिवार चलाइरहेका अर्का पात्र हुन्, दिपक भुजेल ।

२८ वर्षीय भुजेल गोँगबु नयाँ बसपार्कबाट नजिकै बाटोको छेउमा कुहिने र नकुहिने फोहोर छुट्याइरहेका भेटिन्छन् । सर्लाही नयाँरोड–२ घर भएका उनी ७ वर्षदेखि एक निजी संस्थामा आबद्ध भएर सरसफाईसम्बन्धी काम गरिरहेका छन् । उनी हरेक दिन विहान ६ बजेदेखि काठमाडौं महानगरपालिका १६ देखि २६ नम्बर वडाका विभिन्न ठाउँ पुगेर फोहोर छुट्याउने काम गर्छन् । उनलाई ३–४ जना अरु साथीले पनि यो काममा साथ दिन्छन् । दिपकलाई हरेक काम समान हुन् जस्तो लाग्छ । तर, दिनदिनै फोहोरको खातमा पस्नुपर्दा असहज लाग्ने उनले सुनाए । ‘काम त सबै समान हुन । यही बसेर कमाएको पैसाले घरपरिवार पालेको छु । खुसी लाग्छ,’ उनले भने, ‘तर हरेक दिन गनाउने फोहोरको ढंगुरमा काम गर्नुपर्छ । गाह्रो त छ नि । त्यति नगरी घर चल्दैन ।’

दिपक श्रीमती र दुई छोरीसँग काठमाडौं धर्मस्थलीमा बस्दै आएका छन् । उनकी ९ वर्ष र ३ वर्षका छोरी छन् । हरेक महिना आउने तलबले घर परिवार पाल्न कठिन हुने गरेको बताए । ‘महँगी ह्वातै बढेको छ । कोठा भाडा, छोरीको स्कुल फि र रासन भर्दा सकिन्छ,’ उनले भने, ‘कहिले त रासनको लागि पैसा बच्दैन । ऋण खोज्छु, कहिले सामान किन्ने ठाउँमा बाँकी ल्याउँछु । पैसा आएपछि तिर्ने गर्छु ।’

दिपक महँगीले गर्दा सारै गाह्रो भएको सुनाउँछन् । ‘अहिले केही छोइखानु छैन । अब घर परिवारसँगै जे जस्तो हुन्छ त्यहि खाएर नेपालमै बस्ने सपना छ ।’ उनले भने, ‘तर यसरी महँगी बढ्दै गए खाडी जानुबाहेक अरू उपाय नहोला जस्तो छ ।’

दिपक मजदुर दिवसको बारेमा धेरै थाहा नभए पनि सबै कामको सम्मान होस्, युवाले आफ्नै देशमा चाहेअनुरूप काम पाउन् भन्ने चाहाना रहेको सुनाउँछन् । ‘आफ्नै देशमा राम्रो जागिर होस् । महँगी घटोस्, परिवारसँग सुख दुःख दुई छाक खान पाइयोस् यत्ति अरू केहि चाहिँदैन,’ उनले भने ।

०००

काठमाडौं सुनधारास्थित धरहरानजिकै हातमा साना र ठूला नेपालका झण्डा, काँधमा कालो झोला बोकेर हिँडिरहेकी थिइन्, ३८ वर्षीया गोमा न्यौपाने । उनी एक वर्षदेखि झण्डा बेचेर कमाई गर्दै आएकी छिन् । कैलाली नरदेवी–५ घर भएकी गोमाको जिन्दगी बियोग र संघर्षले भरिएको छ ।

५ वर्षको हुँदा आमा गुमाएकी गोमाले गत पुसमा श्रीमान् गुमाइन् । ४० वर्षीय श्रीमान बितेपछि जिन्दगी निकै कष्ठकर भएको उनी सुनाउँछिन् । गोमा श्रीमानको सल्लाहमा २ वर्ष अघि छोराछोरीको भविष्यको लागि भन्दै काठमाडौं आएकी थिइन् । उनका दुई छोरी र एक छोरा छन् । एक छोरी १८ वर्षकी भइन्, जो भर्खर प्लसटुको परीक्षा दिँदै छिन् । १५ वर्षकी अर्की छोरीले एसईई दिएर बसेकी छिन् । १२ वर्षीय छोरा ६ कक्षामा पढ्दै छन् । गत वर्ष मंसिरसम्म श्रीमान् र श्रीमतीको कमाइले जसोतसो घर चलेको थियो । गोताले कमाएको पैसाले रासन खर्च पुग्थ्यो । श्रीमानले कमाएको पैसाले छोराछोरीको स्कुल फी तिर्न पुग्थ्यो ।

गोमाका श्रीमान गलैँचा व्यापारी थिए । एकपटकमा ७ देखि ८ लाख लगानी गरेर सामान ल्याउथे । गलैँचा लिएर गाउँ गाउँ डुल्ने र व्यापार गर्थे । गत २५ मंसिरमा सामान लिएर बेच्न हिँडेकै बेला एक्कासी बेहोस् भए । हस्पिटल लगियो तर होस आएन । काठमाडौं ल्याएर २२ दिन भेन्टिलेटरमा राखियो । होस आउने आशमा १० लाख खर्च भयो तर उनी उठेनन् । पुस १५ गते अस्पतालले उनलाई मृत घोषणा गरिदियो । ‘मेरो जिन्दगीको उज्यालो त्यहि दिनदेखि निभ्यो,’ उनले भनिन्, ‘एकैचोटी श्रीमानलाई के भयो भयो । १ लाखमा २ जनालाई लाग्ने रोग हो भन्नु भएको थियो डाक्टरले ।’

गोमा बारम्बार आँखाबाट झरिरहेको आसु पुछिरहेकी थिइन् । उनको कमाई पहिलाको जस्तो छैन । साना र ठूला गरी २० वटा झण्डा लिएर उनी बिहान ११ बजेतिर छोराछोरीलाई स्कुल पठाएर निस्किन्छन् । ‘पहिला त व्यापार थियो । अहिले खासै छैन । त्यति २० वटा झण्डा बेच्न कति दिन लाग्छ । थाहा नै हुँदैन,’ उनले भनिन् ।

अहिले निकै गाह्रो भएको उनी बताउँछिन् । ‘कोठाभाडा मासिक ८ हजार तिर्नुपर्छ । छोराछोरीको स्कुल फी, रासन खर्च, श्रीमानको उपचार गर्दा लागेको ऋण छ,’ उनले भनिन्, ‘उहाँले गलैँचा किन्दाको ऋण पनि छ । गहंगी बढेको बढ्ढै छ । जीवनमा सबैकुरा एक्कै चोटी पर्यो ।’ महिनाको १५ हजार जति कमाउन पनि गाह्रो भएको उनी सुनाउँछिन् । ‘झण्डा लिएर हिँडेको हिँडै गर्नु पर्छ । बिक्री नै हुँदैन । अरू नै काम गर्न पाए कमाई हुन्थ्यो कि जस्तो हुन्छ ।’ काठमाडौंको खर्च धान्न नसकेर गाउँ जाने सोच आएको उनी सुनाउँछिन् । ‘यहाँ सकिएन अब गाउँ जाउँ भनेर छोराछोरीलाई भनेको मान्दैनन् । गाउँबाट सबै पढ्न काठमाडौं आउछन् । हामी गाउँ जाने भन्छन्,’ उनले भनिन्, ‘एउटा छोरीले बिएसी नर्सिङ पढ्छु भन्छिन् । महंगो हुनेरहेछ । सक्दिन भनेको छु । केहि सोच्नै सक्दिन ।’

उनी सन्तानलाई राम्रोसँग पढाउन पाए केहि वर्षमा कमाएर ऋण तिर्थे सक्थे की भन्ने आशामा छिन् । ‘मैले त अब केहि गर्न सक्दिन । छोराछोरीले कमाएर ऋण तिर्छन् भन्ने छ ।’ गोमाले पनि श्रमिक दिवसको बारेमा केही थाहा नभएको बताइन् । उनी पनि अरू जसरी नै महँगी घटोस् भन्ने चाहना रहेको सुनाइन् ।

०००

काठमाडौंका विभिन्न ठाउँमा बिहानको झिसमिसेदेखि बेलुका अबेरसम्म सार्वजनिक गाडी चलिरहन्छन् । बिहानदेखि बेलुकासम्म गाडी चलाएर परिवार धान्न प्रयत्नशील श्रमिकको कथा पनि अरू पेशाको भन्दा भिन्न छैन् ।

तुलनात्मक रुपमा कम आम्दानी र सहरको महँगीमा च्यापिएर जीवन चलाउन बाध्य गाडी चालकको अधिकांश समय सडकमै बित्छ । उनीहरू बिहान उज्यालो नहुँदैदेखि राति अबेरसम्म आम मानिसलाई गन्तव्यसम्म पुर्याउन बित्छ । त्यसैमध्येका एक हुन्, सोनम तामाङ । मुलपानी, जडिबुटी रुटको माइक्रो बस चालक हुन् । ३० वर्षीय तामाङ १० वर्षदेखि चालकको रुपमा काम गर्दै आएका छन् । सोनम आफ्नो कामप्रति गर्व लाग्ने गरेको सुनाउँछन् । तर, अहिले पहिला जस्तो आम्दानी नहुने उनको दुखेसो छ । ‘पहिला मान्छेको खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो । अहिले त २ जना मान्छे मात्र लिएर भए पनि ओहोर दोहोर गर्न पर्छ,’ उनले भने, ‘के गर्नु मान्छे भएनन् । गाडी चलाउदिन भनेर हुँदैन । पालो आएपछि चलाउनै पर्यो ।’

सोनम डिजेल किन्ने पैसा पनि उठाउन गाह्रो हुने गरेको सुनाउँछन् । ‘डिजेल, पेट्रोलको भाउ बढेको बढ्यै छ । आम्दानी बढ्न पर्ने ठाउँमा झन घटेको छ । सारै गाह्रो भएको छ ।’ कम आम्दानी भएको कारण साहुलाई दिने पैसा पनि उठ्न मुस्किल हुने गरेको उनले बताए । ‘अहिले त अलि अलि भएको पैसा डिजेल हाल्दै सकिन्छ । समीतिलाई महिनाको ११ हजार बुझाउनु पर्छ,’ उनले भने, ‘साहुलाई दिने पैसा र आफ्नै भत्ताको लागि पनि पुग्दैन ।’ सोनम पनि अरू जसरी नै महँगी हटोस् भन्ने चाहाना रहेको सुनाउँछन् ।

०००

सोनमले चलाउने गाडीको सहचालक उनकै श्रीमाती सुशीला थिइन । सुशीला अरुबेला नेपाल यातायातमा सहचालकको रुपमा काम गर्थिन् । नेपाल यातायातमा यात्रु नभएपछि उनी एक दिनका लागि सोनामको गाडीमा सहचालक बनेकी थिइन । ३१ वर्षीया सुशीला नेपाल यातायातमा २ वर्षदेखि काम गरिरहेकी छन् ।

काभ्रे घर भएकी सुशीला १२ वर्षअघि काठमाडौं आएकी थिइन् । उनीहरूका तीन छोरी छन् । उनीहरू दुवैले कमाएको पैसाले जसोतसो घर चल्ने गरेको सुशीला सुनाउँछिन् । भन्छिन्, ‘यस्तो महँगी छ । जति कमाए पनि पुग्दैन । रासन खर्च, कोठाभाडा, छोरीहरूलाई पढाउने गर्दा दुई जनाले कमाएको यत्तिकै सकिन्छ ।’

उनीहरूले आफ्नै गाडी पनि किनेका थिए । नाफा होला भनेर किनेको गाडीले घाटा लगाएपछि बेचेर अर्काको गाडीमा सहचालक बनेको सुशीलाले सुनाइन् । अरुलाई जस्तै सुशीलालाई पनि आज मजदुर दिवस भन्ने पत्तै छैन । भन्छिन्, ‘छोरीहरूले जतिसम्म पढ्छु भन्छन् । त्यति धेरै पढाउन मन छ । यत्ति गर्न सके पुग्छ ।’ उनलाई बढ्दो महँगी कहिले नियन्त्रण होला र दैनिकी सहज कहिले होला भन्ने चिन्ता छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024