शैक्षिक गन्तव्य बन्दै भारत

13 May, 2011

Mahesh Acharya

विश्वविख्यात हर्वार्ड विश्वविद्यालयले केही समयपछि भारतमा आफ्नो शाखा स्थापना गरेर विश्वकै उत्कृष्ट कोटिको शिक्षा त्यहीँबाट उपलब्ध गराउन थाल्यो भने कुनै आश्चार्य नमाने हुन्छ । उदाउँदो शक्तिका रूपमा विश्व मानचित्रमा आफूलाई उभ्याउँदै लगेको भारतमा विदेशी विश्वविद्यालयलाई शिक्षण सुरु गर्न अनुमति दिने विधेयक मन्त्रिपरिषद्बाट अनुमोदन भएर हाल संसद्मा विचाराधीन छ । भारतीयबाहेक विदेशी विद्यार्थीले पनि भर्ना पाउने, नपाउनेबारे प्रस्तावित विधेयकमा केही उल्लेख नभए पनि अन्य मुलुकका विद्यार्थीलाई पनि त्यस्ता विश्वविद्यालयमा भर्ना दिनुपर्ने माग जोडदार रूपमा उठिरहेको छ । यदि त्यसो भयो भने हजारौं डलर खर्चेर उत्कृष्ट शिक्षाको खोजीमा सात समुद्रपारि युरोप, अमेरिका जाने नेपाली विद्यार्थी छिमेकी मुलुक भारतमा त्योभन्दा कम खर्चमा पढ्न पाउनेछन् । ड्रयुक युनिभर्सिटी, भर्जिनिया पोलिटेक्निक इन्स्टिच्युट, बोस्टन युनिभर्सिटीलगायतका उच्च कोटिका मानिने आधा दर्जनभन्दा बढी विश्वविद्यालय र अध्ययन संस्थानले अहिले नै भारतमा आउन चासो देखाइसकेका छन् । यसरी शिक्षासहित विभिन्न क्षेत्रमा विश्वकै चासोको केन्द्रका रूपमा विकसित हुँदै गइरहेको भारतमा अध्ययन गर्न आउन नेपाली विद्यार्थीको रुचि बढ्दै जानु स्वाभाविक पनि हो । तथापि नेपालबाट भारतमा पढ्न आउने चलन नयाँ भने होइन । मुलुकको अस्थिर राजनीति, शिक्षा क्षेत्रमा बढ्दो राजनीतिकरण, गुणस्तरयुक्त शिक्षाको कमी, वाषिर्क क्यालेन्डरअनुसार अध्ययनअध्यापन हुन नसक्नुलगायतका कारणले भारतमा पढ्न आउने विद्यार्थीको संख्या धेरै ठूलो छ । वैदिककालदेखिको सांस्कृतिक, धार्मिक, शैक्षिक र सामाजिक सम्बन्धले पनि नेपाली विद्यार्थीलाई भारतमा तानिरहेकै हुन्छ । बनारसलगायतका स्थानमा परापूर्वकालको गुरुकुल शिक्षादेखि जवाहारलाल नेहरू तथा दिल्ली विश्वविद्यालयलगायतका शैक्षिक संस्थामा हुने आधुनिक शिक्षण, यी सबैमा नेपाली विद्यार्थीको रुचि र सहभागिता रहँदै आएको छ । उच्च शिक्षा मात्रै होइन विद्यालय शिक्षाका लागि पनि भारत आउने चलन छ कतिपय नेपालीको । विशेष गरी सीमा क्षेत्रका भारतीय विद्यालयहरूमा त्यस्ता नेपाली विद्यार्थी मनग्गे भेटिने गरेका छन् ।

नयाँदिल्लीस्थित नेपाली दूतावासमा शिक्षा तथा संस्कृति मामला हेर्ने काउन्सिलर उमाकान्त पराजुलीका अनुसार वर्षेनी १२ देखि १५ हजार नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भारतका विभिन्न स्थान पुग्ने गरेका छन् । इन्जिनियरिङ, चिकित्साशास्त्र, कम्प्युटर साइन्स र अन्य सामाजिक विज्ञान पढ्न आउने विद्यार्थीको संख्या पनि कम छैन । वर्षेनी १ हजार ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई भारतमा अध्ययनका लागि विभिन्न विषयमा भारतीय सरकार स्वयंले छात्रवृत्ति दिइरहेको छ ।

यसरी भारतप्रति नेपाली विद्यार्थीको आकर्षण किन बढेको होला ? नेपाली शैक्षिक क्षेत्रमा राजनीतिकरण, अनिश्चित वाषिर्क क्यालेन्डरका जस्ता समस्या एकातिर छँदै छन्, काउन्सेलर अधिकारीले भने, ‘दुई मुलुकबीच खुला सिमाना र पारिवारिक सम्बन्ध भएका कारण पनि नेपाली विद्यार्थी बढी भारत आउनु स्वाभाविक हो ।’

जेएनयुमा समाजशास्त्रमा एमफिल गरिरहेका नवलपरासीका ईश्वरी भट्टराईको अनुभव पनि उस्तै छ । यहाँको सबैभन्दा राम्रो पक्ष भनेको जस्तोसुकै अवस्थामा पनि वाषिर्क क्यालेन्डर प्रभावित हुँदैन र विद्यार्थीले निर्धारित समयभित्रै पढाइ पूरा गर्न सक्छन्,’ उनले भने । अन्तर्राष्ट्रियस्तरको मान्यता, छलफलमा आधारित शिक्षण पद्धति, अध्यापकप्रतिको सम्मानलगायतका कारण पनि भारतीय शिक्षण संस्थाहरू नेपाली विद्यार्थीका लागि आकर्षणको केन्द्र बनेको उनी सुनाउँछन् ।

कतिपय नेपाली विद्यार्थी भारतमा ठगिएका उदाहरण पनि प्रशस्तै छन् । नयाँदिल्लीको इस्ट अफ कैलाशस्थित एक कलेजमा एमबिए अध्ययनका लागि भर्ना भएका नेपाली विद्यार्थी उक्त कलेजले पढाइ नै सुरु नगरेपछि नेपाली दूतावासको शरणमा पुगे । तीन लाख रुपैयाँमा दुई वर्षमा एमबिए पढाउने बताउने उक्त कलेजले दूतावासको निकै लामो प्रयासमा एक वर्षपछि मात्रै ती विद्यार्थीको एक लाख रुपैयाँ फिर्ता गर्यो । नेपालमा आफूले अध्ययन गरिरहेको तहको परीक्षाको नतिजा नआउँदै राजस्थानस्थित एक कलेजमा भर्ना हुन आएका विद्यार्थीको परीक्षाफल बिगि्रएपछि उक्त कलेजले उनको भर्ना रकमको अलिकति अंश पनि फिर्ता गरेन । उल्टै कलेजले अर्को वर्ष पास भएर आए, मिलाइदिने आश्वासन दियो । यी यस्ता सयौं समस्या लिएर दूतावास पुग्नेको सूची निकै लामो छँदै छ अर्कोतिर नेपाली विद्यार्थी भएको झूटा कागजात बनाएर भारतीय विद्यार्थीले विदेशी कोटामा भर्ना भएका घटना सार्वजनिक भएपछि समस्या झन् जटिल बन्दै गएको देखिन्छ ।

पन्जाबको एक कलेजमा विदेशी कोटाका लागि छुट्टयाइएको कोटामा हालसालै १२ जना भारतीयले नक्कली नेपाली नागरिकता बनाएर भर्ना गरेको घटनापछि सजगता अपनाउन थालिएको छ ।

यी प्रतिनिधि घटनाको पृष्ठभूमिमा भारतमा अध्ययन गर्न आउनुअघि विद्यार्थीहरूले निम्न कुराहरूमा ध्यान दिनु अत्यन्त जरुरी देखिन्छ । पहिलो सम्बन्धित शिक्षण संस्थाको स्थापना तथा पृष्ठभूमिलाई ध्यान दिने । दोस्रो शिक्षण संस्थाको पूर्वाधार कस्तो छ, कति विद्यार्थी पढिरहेका छन् तथा विद्यार्थी भर्नाको ट्रेन्ड कस्तो छ भन्ने विषय विचार गर्नुपर्छ । पढाइ हुने विषयहरूको विविधतालाई पनि ध्यानमा राख्नु अत्यन्तै जरुरी छ । सकेसम्म सम्बन्धित शिक्षण संस्थामै पुगेर बुझ्ने र सम्भव नभए, अनलाइनमा राम्ररी शिक्षण संस्थाबारे बुझेपछि मात्रै प्रक्रिया थाल्नुपर्छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024