जो विदेशबाट फर्केर बनाइरहेका छन् गाउँ

29 May, 2026

Yuwaraj Shrestha

तनहुँ जिल्लाको व्यास नगरपालिका– १४ मा अवस्थित रूम्सी गाउँमा एक समय चिठी आउँदा मानिसहरू सन्तोष थापा मगरलाई खोज्थे।

उनी स्कुल पढ्ने किशोर थिए। गाउँका धेरैजसो पुरूष भारतीय, ब्रिटिस वा सिंगापुरे सेनामा थिए। कसैले हङकङबाट चिठी पठाउँथ्यो, कसैले दिल्लीबाट, कसैले बेलायतबाट।

त्यो बेला गाउँमा न मोबाइल थियो, न इन्टरनेट। परदेशिएका सन्तान घरमा फर्किनुअघि चिठी फर्किन्थ्यो।

गाउँका सबै पढ्न जान्दैनथे। त्यसैले चिठी बोकेर मानिसहरू सन्तोषकहाँ आउँथे। कसैको श्रीमानले लेखेको चिठी। कसैको छोराले पठाएको खबर। यसरी आएका पत्र सन्तोषले खोल्थे। पढेर सुनाउँथे।

कहिलेकाहीँ चिठी सुन्दै आमाहरू रून्थे। कहिलेकाहीँ हाँस्थे, त कहिलेकाहीँ चुप लाग्थे। त्यसपछि उनी जबाफ पनि लेखिदिन्थे।

सन्तोष अहिले ४१ वर्षका भए।

तर उनलाई अझै सम्झना छ — त्यो बेला आफूले लेखिदिएको एउटा चिठीले कसैको अनुहारमा कसरी उज्यालो ल्याउँथ्यो।

‘मानिसलाई खुसी बनाउन सधैं ठूलो काम गर्नुपर्दैन। कहिलेकाहीँ एउटा चिठी पढिदिनु नै पर्याप्त हुन्छ,’ सन्तोष भन्छन्, ‘गाउँमा बसेर चिठी पढिदिने र लेखिदिने गर्दा पनि मानिस खुसी हुने रहेछन्। त्यो खुसी मैले सानोमै देखेको थिएँ।’

सन्तोषको मनमा सायद त्यहीँबाट सुरू भएको थियो— गाउँका लागि केही गर्नुपर्छ भन्ने भावना।

पहाडको छातीमा टाँसिएको बस्ती। झुरूप्प घरहरू। खेतका तरेली। तल नागबेली बग्ने खोल्साहरू। माथि सफा मौसममा देखिने मनास्लु र अन्नपूर्ण हिमशृंखला।

गाउँमा अझै पनि सामूहिकताको भावना बाँकी छ।

मर्दापर्दा, खेतीपाती, विवाह वा पाहुना सत्कार—सबैमा गाउँ एकसाथ उभिन्छ। केही वर्षअघिसम्म चाडपर्वमा मात्र बज्ने खैंजडी र पञ्चेबाजा अहिले पाहुनाको स्वागतमा बज्छ। स्थानीय युवाहरू कौरा र झ्याउरे नाच्दै पाहुनालाई पनि नचाउँछन्।

यो दृश्य अचानक बनेको होइन।

यसको पछाडि छन्— विदेशबाट फर्किएका सन्तोषको लगातारको प्रयास।

काठमाडौंको सरस्वती क्याम्पसमा स्नातक पढिरहेका बेला सन्तोषको पुस्ताले एउटा संक्रमणकाल देखिरहेको थियो। २०६२/६३ को जनआन्दोलन सकिएको थियो। देश राजनीतिक रूपमा अस्थिर थियो। गाउँबाट सहर आएका युवाहरू भविष्यबारे अन्योलमा थिए।

त्यही समयमा उनका धेरै साथीहरू पढाइ छाडेर विदेश जान थाले। सन्तोष पनि बिस्तारै त्यही लहरमा तानिए।

‘केही वर्ष कमाएर फर्किन्छु, फेरि पढाइ गर्छु भन्ने सोच थियो,’ उनी सम्झन्छन्।

पढाइ अधुरै छाडेर उनी दुबई पुगे। अबुधाबीको एउटा पाँचतारे होटलमा काम पाए।

चम्किला लबी, विदेशी पाहुना, वातानुकूलित हल। बाहिरबाट हेर्दा त्यो आकर्षक संसार थियो।

तर भित्र दैनिक १२–१४ घन्टाको काम, थकान र गाउँघरको याद।

दुबईबाट फर्किएपछि उनी साउदी अरब गए। त्यहाँ अलमराई कम्पनीको क्यान्टिनमा काम गरे। हजारौं कामदारलाई खाना खुवाउने जिम्मेवारी थियो।

चर्को गर्मी, मेसिनजस्तो दिनचर्या र मरूभूमिको एकनास जीवनबीच उनले बिस्तारै अर्को सपना देख्न थाले — गाउँ फर्किने।

आठ वर्ष खाडीमा बिताएपछि उनलाई गाउँको चिसो हावा सम्झना आउन थाल्यो। पहाडका खेत सम्झिए। जंगल, परिवार, आफन्त र गाउँलेहरू सम्झिए।

‘यत्तिको मेहनत गाउँमै गर्ने हो भने के हुँदैन र भनेर कल्पना गर्न थालेँ। अर्काको नोकर भएर बाँच्नुभन्दा गाउँमै केही गर्न पाए राम्रो लाग्न थाल्यो,’ उनी भन्छन्।

छुट्टीमा नेपाल आएका बेला उनले अब साउदी नफर्किने निर्णय गरे। उनलाई फोन आयो, साथी र कम्पनीका मानिसहरूले बोलाए।

उनले सबैलाई सुनाए — अब दुःख गाउँमै गर्ने। गाउँ बनाउने!

गाउँ फर्किएपछि उनले सुरूमा कुखुरापालन गरे। ५० वटा कुखुराबाट सुरू भएको व्यवसाय केही समयमै १५०० वटासम्म पुग्यो।

तर बजारले उनलाई कहिल्यै स्थिर आम्दानी दिएन। कुखुरा बेच्ने बेला मूल्य घट्थ्यो। बेचिसकेपछि बढ्थ्यो। बजार कहिल्यै उत्पादकको अनुकूल भएन।

‘मेहनत अनुसारको प्रतिफल भएन,’ उनी भन्छन्।

कुखुरापालनमा सोचेजस्तो प्रगति भएन। छिमेकी गाउँ बन्दिपुर र अन्यत्रका होमस्टे चहारेका सन्तोषलाई आफ्नो गाउँ पनि के कम लाग्न थाल्यो। उनले गाउँ पर्यटनको सम्भावना देख्न थाले।

रूम्सीको प्राकृतिक सुन्दरता, मगर संस्कृति, सामूहिक जीवन र गाउँको आत्मीयता आफैमा सम्पत्ति थियो।

मानिसहरूलाई गाउँसम्म ल्याउन सकियो भने गाउँका उत्पादन गाउँमै बिक्छन्। कुखुरा, मह, कोदो, तरकारी, फलफूल सबैले मूल्य पाउँछन्। बिचौलियालाई सस्तोमा दिनुपर्दैन।

गाउँलेलाई यो कुरा बुझाउन भने सजिलो थिएन। उनले पहिलो पटक गाउँमा होमस्टे चलाउने कुरा उठाउँदा गाउँलेहरूले ठाडै अस्वीकार गरिदिए। बाहिरका मानिस घरमा राख्दा गाउँ बिग्रिन्छ कि भन्ने चिन्ता गाउँलेको थियो।

‘सबै पाहुना राम्रो हुँदैनन्,’ गाउँले भन्थे।

सन्तोषले हार मानेनन्।

२०७५ सालदेखि उनले लगातार गाउँले भेला बोलाउन थाले। सधैं होमस्टेका कुरा निकाले। झोलामा फाइल बोकेर सरकारी कार्यालय धाउन थाले। गाउँलेलाई पर्यटनको सम्भावना सम्झाउन थाले।

‘पाँच वर्षसम्म सम्झाएँ, धेरैले पत्याउनुभएन,’ उनी भन्छन्।

गाउँलेका अनाकानीका बाबजुद सन्तोष रोकिएनन्।

२०८० सालमा उनले केही गाउँलेको साथ लिएर रूम्सी सामुदायिक होमस्टे दर्ता गरे। होमस्टे दर्ता भएपछि गाउँमा बिस्तारै परिवर्तन देखिन थाल्यो।

गण्डकी प्रदेश सरकारले तालिम दियो। गाउँलेहरूले पाहुना सत्कार सिके। सांस्कृतिक कार्यक्रम व्यवस्थित गर्न थाले। आधुनिक मौरीघार पाए।

सुरूमा १४ घरले होमस्टे चलाएका थिए। अहिले ३० घरधुरीले पाहुना राख्छन्। होमस्टे नचलाउनेहरूले पनि गाउँमै उत्पादन भएका सामान पाहुनालाई बेच्न थालेका छन्।

आज रूम्सी व्यास नगरपालिकाभित्र सबभन्दा धेरै पाहुना पुग्ने होमस्टे गाउँ बनेको छ। सन्तोष भने बल्ल यात्रा सुरू भएको ठान्छन्।

‘अहिलेसम्म धेरै ठूलो परिवर्तन भइसकेको छैन,’ उनले भने, ‘तर गाउँमा आशा पलाएको छ।’

रूम्सीमा पाहुना पुग्दा गाउँलेहरू अझै उत्सवजस्तै गर्छन्। १२ जनाभन्दा बढी पाहुना भए पञ्चेबाजा बज्छ। महिलाहरू कौरा नाच्छन्।

पाहुनालाई बारा, स्थानीय कुखुराको मासु, बाख्राको मासु र घरेलु परिकार खुवाइन्छ। मदिराका पारखीलाई स्थानीय रक्सी चखाइन्छ। एक रात बास, बेलुकाको खाना र बिहानको खानासहित प्याकेज मूल्य प्रतिव्यक्ति एक हजार रूपैयाँ मात्र छ।

‘हामी सस्तोमा राम्रो सेवा दिन चाहन्छौं,’ सन्तोष भन्छन्।

प्याकेज सस्तो भए पनि पाहुनाले गाउँमा फलेका अन्नबाली लैजान्छन्। तरकारी, केराका घरी, मह लैजान्छन्। स्थानीय कुखुराले मूल्य पाएको छ।

धेरै पाहुना हुँदा गाउँमै पालिएका खसीबोकाको मासु खुवाइन्छ। अहिले गाउँमा उत्पादन भएका केही पनि बजार खोज्दै लैजानुपर्ने अवस्था छैन। पर्यटनले गाउँको अर्थतन्त्र चलायमान बनाइरहेको छ।

रूम्सी गाउँ पुग्न बन्दिपुरबाट जम्मा ९ किलोमिटर यात्रा गर्नुपर्छ। दमौलीबाट १६ किलोमिटर टाढा छ। जताबाट गए पनि ५ किलोमिटर कच्ची सडकको यात्रा गर्नुपर्छ। बाटो पक्की बनाउन सन्तोषले माग राखेका छन्।

‘पाहुनाहरूलाई सबैभन्दा ठूलो समस्या बाटो नै हो,’ उनी भन्छन्।

रूम्सीमा खानेपानी पनि पर्याप्त छैन। लिफ्टिङ प्रविधिबाट ल्याइएको पानी पर्याप्त छैन। पानीको वैकल्पिक स्रोत खोज्नुपर्ने अवस्था रहेको उनी बताउँछन्।

पर्यटनका लागि उनले धेरै ठूलो योजना बनाएका छैनन्। गाउँमाथिको डाँडामा पार्क बनाउने योजना छ। जहाँबाट हिमाल, दमौली बजार र तलका फाँटहरू देखिन्छन्।

नेपालका थुप्रै गाउँहरू जस्तै रूम्सीले पनि लामो समयसम्म आफ्ना युवा विदेश पठायो। धेरै घरका आँगन बूढाबूढी र बालबालिकाले मात्र भरिए। अहिले रूम्सीमा उल्टो यात्रा सुरू भएको छ। गाउँमै युवाले भविष्य देख्न थालेका छन्।

गाउँमै काम गर्दा विदेशमा भन्दा बढी आम्दानी हुन सक्ने आशा राखेका छन्।

एक समय गाउँलेका चिठी पढिदिने सन्तोष अहिले गाउँलाई नयाँ कथा सुनाइरहेका छन्। विदेशबाट आएका चिठी होइन, गाउँमै बसेर गाउँ बनाउने कथा लेख्न खोजेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024