शरणार्थी शिविरभित्रको पीडा

24 June, 2011

झमक घिमिरे

मान्छे स्वतन्त्रता चाहन्छ, समानता चाहन्छ, हरेक कुरामा आफ्नो फरक अस्तित्व, फरक पहिचान चाहन्छ । खुल्ला आकाश र धरती आफ्नै हो भन्न चाहन्छ । तर सबैले स्वतन्त्रता, समानताको कुरा त परै जाओस्, आफू जन्मेको भूमिलाई आफ्नो भन्न पाएका छैनन्, आफ्नो पसिना-रगत बगेको धरतीलाई पनि आफ्नो हो भनेर सुमसुम्याउन पाएका छैनन् । त्यही पीडाले छट्पटाएका छन्, उमेर पाकेका भुटानी शरणार्थीहरू, उनीहरूलाई नेपालीभाषी भएको अपराधमा आफ्नो देशबाटै निकालिनुपर्‍यो । आफ्नो जन्मभूमिबाटै लखेटिनुपर्‍यो । 

हो, मान्छेहरूका लागि त्यहाँ न आफ्नो देश छ, नत आफ्नो धरती छ । मान्छे साँच्चै बेसहारा भएका छन् । साँच्चै भन्ने हो भने उनीहरूसँग देश छैन, समाज छैन, कुनै जमिन छैन, उनीहरूसँग आफ्नो पहिचान छैन । मान्छेको जीवन त्यस्तो अवस्थाबाट गुजि्रँदा निस्सासिँदो लाग्छ, खल्लो लाग्छ, उनीहरूसँग बसेर कुराकानी गर्दा । यो पंक्तिकारलाई के कुरा थाहा भयो भने छोराछोरी जो भर्खर जिन्दगी सुरु गर्दैछन्, जो जिन्दगीका रंगिन सपनाहरू देख्दैछन्, ती साकार पार्ने आशामा पुनर्वासको कार्यक्रम अन्तर्गत कोही अमेरिका, कोही क्यानाडा, कोही स्वीजरल्यान्ड आदि मुलुकहरूमा पुगिसकेका छन् । पुग्ने क्रम अझैसम्म जारी छ । तर बूढापाकाहरूमा एकखालको निराशा, उकुसमुकुस छ । छोराछोरीसँग विछोडको पीडा त छँदैछ । तर त्योभन्दा पनि अर्को पीडा उनीहरू आफ्नो मातृभूमिबाट त लखेटिए-लखेटिए, तर अब नेपालबाट पुनर्वास हुने मुलुक र त्यहाँको फरक परिवेश, रहनसहनसँग घुलमिल हुन गाह्रो पर्छ र भाषा संस्कृतिसँग घुलमिल हुन पनि गाह्रो छ । त्यसैले उनीहरू पाएसम्म आफ्नो देश फर्किन चाहन्छन्, आफ्नो मातृभूमिलाई न्यानो स्पर्श गर्न चाहन्छन् । भुटान जतिसुकै नराम्रो मुलुक भए पनि भुटानीहरूलाई त्यहाँको माया असाध्यै छ । किनभने उनीहरूलाई आफ्ना पुर्खाहरूका रगत-पसिना बगेको तिनका हाडखोर मक्काएर गएको भूमिको माया मनभरि छ । त्यहाँका डाँडापाखा, खोलानाला, पर्वत-कन्दराहरूको याद छ । जहाँ आफ्नै अपनत्व छोडिएको छ । त्यहीँ जान चाहन्छन्, भुटानी पाका शरणार्थीहरू । वषर्ाैंदेखि विछोडिएको घरबारी, खेत, पाखा गएर सुमसुम्याउन चाहन्छन् । बाझिएको खेतबारीमा खनजोत गर्न चाहन्छन्, पसिना बगाउन चाहन्छन् ।

मान्छेलाई आफूसँग देश नहुँदा, आफ्नो धरती र आकाशको अधिकारबाट बिनाकारण वञ्चित गरिँदाको पीडा साह्रो दुख्दो रहेछ । यो पंक्तिकारले भुटानी शरणार्थीहरूसँगै पुगेर उनीहरूसँगै शिविरमै दुई-तीन रात बिताएर उनीहरूको पीडा बुझ्न सकी । उनीहरूलाई नजिकबाट बुझ्ने अवसर पाई । हुन त पंक्तिकारको कुनै महाकाव्य पढ्नुभन्दा मान्छेको जीवनलाई पढ्ने शौख हो । मान्छेको जीवनसँगको साहित्य, कला सबैभन्दा उत्कृष्ट लाग्छ मलाई । त्यसैले म बढी जीवन पढिरहेकी हुन्छु र जीवनसँगका तहहरू उप्काइरहेकी हुन्छु । पाठक ! तपाईंहरूलाई पनि अनौठो लाग्ला । शरणार्थी शिविरभित्र दुई-तीन रात बिताएर उनीहरूको जीवनलाई पढेँ भन्दा त्यहाँ पसेपछि बल्ल मैले महसुस गरेँ, जिन्दगीमा केही दुःख पाएका रहेछन्, नेपालीहरूले त जोसँग केही पनि छैन भन्छन् र गुनासो पालेर बाँचेका छन् । तिनलाई भन्न मन लाग्यो- तिमीसँग के छैन, देश छैन, समाज छैन वा मातृभूमि छैन ? कि आफ्नो जीवन छैन । तिमीसँग भएको कुरालाई मिथ्या सम्भिmन्छौ भने तिमीसँग केही पनि हुँदैन । साँच्चै यति बेला मलाई ती आधा जीवन काटेका र जीवनको अन्तिम चरणमा पुगेका भुटानी शरणार्थीहरूको पीडाले छोएको छ । उनीहरूसँग न देश छ, न आफ्नो भन्ने धरती, नत परिवारको माया । जवान भएका छोराछोरी जिन्दगीको सुन्दर सपना सजाउँदै पुनर्वासतिर स्थानान्तरण भएका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024