पाँच महिनाभित्र माग पूरा गर्ने प्रक्रिया सुरु गर्ने लिखित प्रतिबद्धता जनाएपछि भुटानी शरणार्थी महिलाले १२ दिनदेखिको आमरण अनशन शनिबार तोडेका छन् ।
दर्ता नभएका शरणार्थीको दर्ता हुनुपर्ने, सबै शरणार्थीले राहत पाउनुपर्ने, शरणार्थी पुरुषसँग विवाह गरेका गैरशरणार्थी महिलालाई शरणार्थीको दर्जा दिनुपर्ने र विगतमा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने लगायत माग राखेर महिला शरणार्थी आमरण अनशन बसेका थिए । शनिबारको सम्झौत्ााअनुसार पाँच महिनाभित्र राहत पीडित शरणार्थी महिला समूहले उठाएका माग पूरा गर्न प्रक्रिया थाल्ने प्रतिबद्धतामा निमित्त प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलाल र महिला समूहका तर्फबाट संयोजक दुर्गादेवी बिष्टले हस्ताक्षर गरेका छन् । अनशन तोडाउन सहजीकरण गरिरहेका अधिकारकर्मी लक्ष्मी निरौलाले प्रतिबद्धतालाई कार्यान्वयन गराउन अनुगमन गर्ने बताए ।
निमित्त प्रजिअ दुलालले भने प्रतिबद्धता कार्यान्वयन गर्न पाँच महिना पर्खनु नपर्ने बताएका छन् । ‘अनशनकारीका मागसँगै फाइल पनि गृह मन्त्रालयमा पठाइसकिएकाले यो तत्काल कार्यान्वयन हुन्छ,’ शरणार्थीलाई आश्वस्त पार्दै उनले भने, ‘प्रतिबद्धता कार्यान्वयन गरेर प्रशासनले समस्या समाधान गरेरै छाड्छ ।’ लामो समयदेखि आमरण अनशनका कारण चार जना अनशनकारीलाई दमकमा उपचार हुन नसकेपछि शुक्रबारदेखि नै कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।