कीर्ते हस्ताक्षरसहितको उजुरी मगाई सर्वसाधरणलाई दुःख दिएको पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका अधिकृतहरूमाथि छानबिन थालेको छ । विभागका कर्मचारी, प्रहरी र केही बिचौलियाका मिलेमतोमा किर्ते काम भएको गुनासोपछि अख्तियार सक्रिय भएको हो ।
वास्तविक ठगी गर्नेलाई जोगाउन गलत काम हुँदै आएको गुनासोछि अख्तियारले विभागका कर्मचारीलाई बयानमा बोलाएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार वास्तविक दोषीलाई जोगाउन बिचौलियाका फन्दामा फरेर कर्मचारीहरू नै जबरजस्ती पक्राउ पुर्जी बनाउँदै तर्साउँदै रकम असुल गर्न थालेपछि अख्तियार सक्रिय भएको हो ।
अख्तियारले विभागका कर्मचारीहरू निरकुमार विश्वकर्मा, युवराज शर्मा लगायतलाई बयानमा बोलाएको छ । ‘दोषीलाई उम्काउने खेलमा विभागकै जिम्मेवार कर्मचारी लागेको गुनासो बढेपछि बयानका लागि बोलाइएको हो, अख्तियार स्रोतले बतायो । विभागका कर्मचारीको मिलेमतोमा नक्कली हस्ताक्षर जुटाएर उजुरी दिन लगाउने र निर्दोषबाट पैसा असुल गर्न लगाउने काम पछिल्लो समय विभागमा मौलाएको छ । यस्तो सूचना पाएपछि वैदेशिक रोजगार न्यायाधिकरणले समेत पक्राउको अनुमति दिने, नदिने विषयमा थप अध्ययन गर्न आदेश दिँदै आएको छ । रोजगारीका लागि विभिन्न देशमा पठाउने नाममा पैसा उठाउने वास्तविक दोषीलाई उम्काउन विभागकै कर्मचारी सक्रिय भएको गुनासो अख्तियार पुगेको थियो ।
अस्ट्रेलिया बसी नेपालका युवालाई ठगी गरेको भन्दै अनिल दनैले स्थापना गरेको कम्पनीका सम्बन्धमा गुनासो पुगेको थियो । विभागले भने दनैलाई जोगाउँदै अरूलाई दोषी करार गर्न थालेपछि न्यायाधीकरणले समेत चासो देखाउँदै आएको छ ।
यो विषयमा दनैसँग सम्पर्क गर्दा उपलब्ध हुन सकेन । अख्तियार स्रोतले भने दनैलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भनी विभागका अधिकृतहरूलाई निर्देशन दिएको थियो । त्यसको कार्यान्वयन नभएपछि विभागका कर्मचारीहरू शंकाको घेरमा परेका हुन् ।