वैदेशिक रोजगार ठगी मुद्दाको डिजिटल अभिलेखीकरण कार्य तीव्र

8 June, 2026

वैदेशिक रोजगार ठगीसम्बन्धी वर्षौँदेखि विभागमा थन्किएका मुद्दाहरूलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने कार्यलाई तीव्र बनाइएको छ। वैदेशिक रोजगार विभागले २०६४ सालयता दर्ता भएका ४० हजारभन्दा बढी मुद्दालाई विद्युतीय अभिलेख प्रणालीमा समावेश गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

विभागका अनुसार लामो समयदेखि कागजी फाइलका रूपमा रहेका ती मुद्दाहरूलाई व्यवस्थित रूपमा वर्गीकरण, खोज तथा व्यवस्थापन गर्न सहज हुने उद्देश्यले स्क्यान गरी डिजिटल अभिलेख तयार पार्ने काम भइरहेको छ। हालसम्म १० हजारभन्दा बढी मुद्दाको स्क्यान तथा आवश्यक विवरण संकलन पूरा भइसकेको छ भने बाँकी फाइलहरूको अभिलेखीकरण कार्य निरन्तर जारी रहेको विभागले जनाएको छ।

विभागका प्रवक्ता तथा सूचना अधिकारी बिन्दा आचार्यका अनुसार विद्युतीय अभिलेख प्रणालीले अनुसन्धान तथा कानुनी प्रक्रियालाई अझ प्रभावकारी बनाउन सहयोग पुग्नेछ। यसबाट कागजात व्यवस्थापन सहज हुने र मुद्दाहरू समयमै अदालतमा पेस गर्न अनुकूल वातावरण बन्ने अपेक्षा गरिएको छ।

यसअघि गत भदौ २४ गते भएको आन्दोलनका क्रममा विभागको कार्यालयमा भएको तोडफोड र आगजनीले पुराना मुद्दाका स्क्यान प्रतिलिपि सुरक्षित राखिएको भण्डारण उपकरण नष्ट भएको थियो। सो घटनापछि विभागले पुनः कागजी फाइलहरू स्क्यान गरी डिजिटल अभिलेख तयार गर्ने काम अघि बढाएको हो।

विभागले आगामी ६ महिनाभित्र पुराना मुद्दाहरूको अभिलेखीकरण तथा व्यवस्थापन कार्य पूरा गर्ने लक्ष्य लिएको छ। त्यसका लागि छुट्टै जनशक्ति परिचालन गरी कामलाई तीव्रता दिइएको जनाइएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रमा सुशासन सुदृढ गर्ने नीतिअनुसार पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिँदै पुराना मुद्दाको व्यवस्थापन तथा पीडितलाई न्याय सुनिश्चित गर्ने प्रक्रियालाई निरन्तरता दिइरहेको जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024