वैदेशिक रोजगार ऐनलाई अन्तिम रूप दिएका छौं : मन्त्री यादव

18 June, 2026

युवा, श्रम तथा रोजगार रामजी यादवले वैदेशिक रोजगार ऐनलाई समयानुकूल परिमार्जन गर्न सरकारले तिब्रता दिएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्रीले ऐन संशोधनको मस्यौदा आगामी ७ गतेभित्र कानून मन्त्रालय पठाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

ऐन संशोधनको आवश्यकता र तत्परताबारे प्रष्ट पार्दै मन्त्रीले ऐन ल्याउन आफूलाई धेरै हतारो रहेको भन्दै अध्यादेशबाट ल्याइदिने चेतावनी पनि दिए ।

विद्यमान वैदेशिक रोजगार ऐनले विगत एक दशकदेखि क्षेत्रगत बेथिति निम्त्याएको स्वीकार गर्दै मन्त्रीले यसलाई लगाम बिनाको घोडाको संज्ञा दिए । पुराना कमजोरीलाई सुधार नगरी अघि बढ्न नसकिने भन्दै नयाँ कानूनले ती समस्या सम्बोधन गर्ने दाबी पनि गरेका छन् ।

‘यो ऐन ल्याउन मलाई निकै हतारो छ । आवश्यक परे अध्यादेशमार्फत भएपनि ल्याउनुपर्ने स्थिति थियो तर अहिले हामीले यसलाई अन्तिम रूप दिएका छौं,’ मन्त्री यादवले भने, ‘आगामी ७ गतेभित्र मस्यौदा कानून मन्त्रालय पठाउने तयारीमा छौं र त्यसपछि सदनमा विस्तृत छलफल हुनेछ ।’

नेपाली श्रमिकहरू विश्वका १७८ भन्दा बढी मुलुकमा कार्यरत रहेको उल्लेख गर्दै मन्त्रीले नयाँ ऐनलाई अन्तर्राष्ट्रिय स्तरमा व्यावहारिक बनाउन सबै सरोकारवालाहरूसँग गहन परामर्श गरिएको जानकारी दिए ।

प्रस्तावित कानूनमा वैदेशिक रोजगार क्षेत्रको बेथिति अन्त्यका लागि प्रविधिको प्रयोग (डिजिटलाइजेसन) र वेब पोर्टल मार्फत रिक्रुटमेन्ट इकोसिस्टम सुधार गर्ने दूरगामी योजनाहरू समावेश गरिएको उनले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024