वैदेशिक रोजगारीमा श्रीलंका पुगेका ५ नेपालीको बिचल्ली

30 April, 2026

Krishna Singh Dhami

वैदेशिक रोजगारीका लागि आकर्षक काम र तलब प्रलोभनमा परी श्रीलंका पुगेका ५ नेपाली कामदार बिचल्लीमा परेका छन् ।

रौतहटका ती युवा चार महिनादेखि श्रीलंकाको नर्थवेस्टर्न प्रान्तस्थित कुलियापिटियाको ‘वारीगोडा’ भन्ने स्थानमा बिचल्लीमा परेका हुन् । वारीगोडामा रहेको म्यानुफ्याक्चरिङ कम्पनी ‘कन्सार्क’ मा ‘जनरल वर्कर’ का रूपमा उनीहरू गएका थिए ।

उनीहरूसँग गरिएको सम्झौतापत्रमा मासिक ३ सय अमेरिकी डलर तलब पाउने, दैनिक ८ घण्टा काम गर्नुपर्ने र सातामा ६ दिन काम हुने भनिएको छ ।

तर, आफूहरूले सम्झौता अनुसार काम र सेवा सुविधा नपाएको भन्दै उद्धार गरेर नेपाल पठाइदिन अनुरोध गर्दै आएको बताएका छन् । तर, दूतावास, म्यानपावर कम्पनी कसैले पनि वास्ता नगरेको उनीहरूको गुनासो छ ।

अनलाइनखबरको सम्पर्कमा आएका उनीहरूले आफूहरूलाई जसरी पनि उद्धार गरेर स्वदेश फिर्ता ल्याईदिनुपर्ने बताए ।

काठमाडौं सामाखुसीस्थित पिस नेपाल म्यानपावर मार्फत प्रतिव्यक्ति १ लाख ८५ हजार रुपैयाँ बुझाएर उनीहरू १२ जनवरी २०२६ मा श्रीलंका उडेका थिए । अलपत्र पर्नेमा रौतहटका एमडी असरफ अली, मोहम्मद इक्रामुल, मोहम्मद अख्तर, मोहम्मद आसिफ र विश्वनाथ साह कानु छन् ।

जंगलको बीचमा बन्धक जस्तै अवस्थामा पीडित एक श्रमिकका अनुसार उनीहरूलाई ‘कोको पिट’ (नरिवलको जटासम्बन्धी) प्याकिङ र मेसिन अपरेटिङको काम भनी पठाइएको थियो । तर, त्यहाँ पुगेपछि उनीहरूलाई कुनै व्यवस्थित कम्पनीमा नभई जंलको बीचमा रहेको एक असुरक्षित ठाउँमा राखिएको छ ।

‘हामीलाई भिडियोमा देखाइएको जस्तो कुनै कम्पनी छैन, जंगलको बीचमा एउटा कोठामा राखिएको छ र तीन महिनादेखि गेट बाहिर निस्किन दिइएको छैन,’ ती श्रमिकले भने, ‘केही खानेकुरा किन्न बाहिर जान्छु भन्दा पनि अनुमति पाइँदैन, बिस्कुट किनेर ल्याउँछौं भन्दा पनि जानुपर्दैन सबै कुरा यतै छ भनेर हामीलाई जान दिँदैनन्, हामीलाई एक प्रकारले बन्धक बनाइएको छ ।’

कम्पनीले मासिक ३ सय डलर तलब दिने सम्झौता गरे पनि कामदारले अहिलेसम्म पूरा तलब पाएका छैनन् । सम्झौता अनुसार खाना सुविधा भए पनि कहिले बासी त कहिले दिनको एक पटक मात्र खाना दिने गरिएको उनीहरूले गुनासो गरेका छन् ।

‘न त कम्पनीमा पठाएको छ, न खान सही दिएको छ, न त तलब, बासी खाना दिन्छ, दिनमा तीन पटक खाना/नास्ता दिने भन्ने थियो, तर, अहिले तीन पटक नै दिन्छ, कहिले एक पटक पनि पाउँदैनौं,’ ती श्रमिकले भने, ‘जनवरीको तलब आधा दिएर आधा अहिलेसम्म दिएको छैन, जनवरीको फेब्रुअरीमा, फेब्रुअरीको मार्चमा यस्तै गर्दागर्दै आधा स्यालरी आधा यताउता गरेर ग्याप गरिदिएको छ ।’

घरबाट ऋण काढेर आएका उनीहरूलाई यतिबेला बैंक र साहुको ऋण तिर्ने तनावले पिरोलेको छ । ‘हामी ऋण निकालेर आएका थियौं, घरमा बैंकवालाहरूले दु:ख दिइरहेका छन्, किस्ता तिर्न पैसा पठाउन सकिरहेका छैनौं,’ उनले भने ।

गाउँकै एजेन्ट र म्यानपावर सञ्चालकले सेटिङमा पठाएको उनीहरूको दाबी छ । पीडितका अनुसार म्यानपावर सञ्चालक आफैं उनीहरूसँगै श्रीलंका पुगेर १०–१५ दिनमा अर्को राम्रो कम्पनीमा सारिदिने आश्वासन दिएर नेपाल फर्किएका थिए ।

तर, चार महिना बितिसक्दा पनि राम्रो काममा नपठाएको उनीहरूको भनाइ छ । एजेन्टले अफिसियल बैंक खातामा नभई आफन्तको व्यक्तिगत खातामा पैसा जम्मा गर्न लगाएको थियो ।

नेपालमा हुँदा एउटा भिडियो देखाएर पठाएको तर अहिले अर्कै ठाउँमा काम गर्नुपरिरहेको उनीहरूको भनाइ छ । काम गर्दा पनि कुनै सुरक्षा उपकरणविना काममा लगाउने गरेको उनीहरूको गुनासो छ ।

‘नेपालमा म्यानपावरले एउटा भिडियो देखाएको थियो, त्यो भिडियोमा एकदमै राम्रो काम थियो, सफासुग्घर ठाउँमा काम देखाएको थियो,’ उनीहरूले भने, ‘तर, यहाँ आएपछि त एकदमै धुलोमा काम गर्नुपरेको छ, कुनै ड्रेस छैन, चश्मा छैन, त्यत्तिकै जोखिममा काम गर्नुपरिरहेको छ ।’

१२ जनवरी तारिखमा श्रीलंका पुगेका उनीहरूले १७ दिन काम गरेका थिए । तर, १७ दिनमध्ये आधा तलब अझैसम्म नपाएको बताए । त्यस्तै फेब्रुअरीको समेत आधा मात्रै तलब दिएको उनीहरूको भनाइ छ ।

आफूहरू बिदाको दिनबाहेक नियमित काममा गइरहेको तर कम्पनीको म्यानेजरले कापीमा हाजिर गर्न लगाउने र आफूहरूले गरेको हाजिरी समेत कम देखाउने गरेको बताए ।

उद्धारका लागि गुहार

अलपत्र कामदारका परिवार यतिबेला काठमाडौं आएर वैदेशिक रोजगार विभागमा उजुरी दिने तयारीमा छन् । विभाग मार्फत म्यानपावरलाई दबाब दिएर आफन्तको सकुशल उद्धार गरी नेपाल फर्काउन उनीहरूले सरकारसँग माग गरेका छन् ।

वैदेशिक रोजगार विभागले उनीहरूलाई वैदेशिक रोजगारीमा पठाउने पिस नेपाल ओभरसिजको आईडी ‘ब्लक’ गरेको छ । विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले यो विषयमा हालसम्म विभागमा उजुरी नआएको र उजुरी आएको खण्डमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढ्ने बताए ।

‘यो विषयमा त्यस्तो खालको उजुरी अहिलेसम्म आएको छैन, उजुरी आएको खण्डमा म्यानपावर ब्लक भए पनि म्यानपावरलाई नै भनेर नेपाल झिकाउँछौं,’ प्रवक्ता शिवाकोटीले भने ।

पिस नेपाल ओभरसिजका म्यानेजर सुरेश शाहीले सम्झौता अनुसार मासिक ३ सय डलर तलब नियमित पाइरहेको बताए । उनीहरू नै काम गर्न नखोज्ने र विभिन्न साना बहाना बनाएर समस्या सिर्जना गरेको आरोप लगाए ।

‘तलब नपाएको कुरा झुटो हो, ओभरटाइमको दरमा थोरै विवाद भएको हो, खाना र बस्न राम्रो व्यवस्था छ, तर उनीहरूले कहिले चुकन्दरको तरकारी मन परेन त कहिले कोठामा गर्मी भयो भन्दै गुनासो गर्ने गरेका छन्,’ शाहीले भने, ‘एक महिनामा ७ दिनमात्र काममा जाने र बाँकी समय सुतेरै बिताउने गरेका छन् ।’

यो विषयमा श्रीलंकास्थित नेपाली दूतावासमा समेत छलफल भइसकेको छ । दूतावासले यो विषयमा चासो देखाउँदै कम्पनीका प्रतिनिधिलाई बोलाएर समस्या समाधान गर्न भनेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024