वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

10 August, 2026

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा
४ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा रौतहट घर भई काठमाडौं महानगरपालिका-२८ बस्ने ४६ वर्षीय एमडी खुर्सिद आलम नेपाली, नवलपरासी पश्चिम घर भई ललितपुरको गोदावरी नगरपालिका-२ बस्ने ३३ वर्षीय भुप नारायण चौधरी, सिराहा घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-८ बस्ने ३४ वर्षीय वसन्त कुमार सिंह र संखुवासभा घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने ४२ वर्षीय रस्तमान राई रहेका छन्।

पक्राउ मध्ये एमडीले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रुपैयाँ, भुप नारायणले जर्मनी पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ३२ लाख रुपैयाँ, बसन्तले युएई पठाइदिन्छु भन्दै ११ जना पीडितबाट २१ लाख रुपैयाँ र रस्तमानले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले एमडीलाई काठमाडौं महानगरपालिका-२८ बाट र भुप नारायणलाई काठमाडौं महानगरपालिका-२ बाट बिहीबार तथा वसन्तलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट र रस्तमानलाई ललितपुर महानगरपालिका-८ बाट शुक्रबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024