वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिइसकेका श्रमिकले आफू कार्यरत कम्पनीमै निरन्तरता दिन चाहे स्वचालित प्रणाली (आफै)बाट पुनः श्रम स्वीकृति जारी गर्ने निर्णय गरेको छ । विभागको निर्णयसँगै यसअघि जसरी पुनः श्रम स्वीकृति जारी गर्न कर्मचारीको थप स्वीकृति आवश्यक नपर्ने भएको छ ।
विभागले सोमबार जारी गरेको विज्ञप्तिअनुसार वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले पुनः श्रम स्वीकृति प्रदान गर्ने प्रक्रिया पूर्ण रूपमा स्वचालित गर्ने निर्णय गरेको हो । हरेक महिना कम्तीमा २० हजार श्रमिकले पुनः श्रम स्वीकृति लिइरहेको छ । ‘श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूले सोही देश तथा सोही कम्पनीको लागि पुनः श्रम स्वीकृति आवेदन गरेमा निश्चित शर्तहरू पूरा भएको अवस्थामा स्वचालित प्रणालीमार्फत नै श्रम स्वीकृति प्रदान गरिनेछ,’ सूचनामा उल्लेख छ ।
श्रमिकले पुनः श्रम स्वीकृतिकाले आवेदन दिन कम्तीमा ३ महिना अवधि भएको राहदानी, भिसा वैध हुनुपर्ने, करार सम्झौता, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको रसिद, वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको रसिद, आवधिक जीवन बीमा भएको हुनु पर्नेछ ।
विभागले जेठ ३ गतेको मन्त्रीस्तरको निर्णयलाई कार्यान्वयनमा ल्याइएको हो ।