वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरूमाथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणले ठगीमा संलग्नहरूमाथि सरकार कडा रूपमा प्रस्तुत भएको छ ।
विभागको मुद्दा तथा अनुसन्धान शाखाले मिति ०८३/०३/१९ गते मात्रै वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा २५ वटा नयाँ मुद्दा दर्ता गरेको छ ।
कारबाहीलाई कडा बनाउँदै विभागले आजै आठजना अभियुक्तलाई पक्राउ गरी उपस्थित गराएको छ भने फरार रहेका अन्य १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
म्यानपावर कम्पनीहरूको गतिविधिमाथि पनि सरकारले कडा नजर राखेको छ। संस्था अनुगमन शाखाले आज तीनवटा म्यानपावर कम्पनीलाई विभिन्न विषयमा पत्राचार गर्दै सचेत गराएको छ ।
विभागले ४७ वटा म्यानपावर कम्पनी र सातवटा पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था (पिडिओटी)को नवीकरण गरे पनि उनीहरूको कार्यशैलीमाथि निरन्तर अनुगमन भइरहेको छ ।
पीडितको उद्धार र राहतमा सक्रिय ठगीमा परेका र समस्यामा परेका श्रमिकहरूको हकमा सरकारले आजै दुईजनाको उद्धार गरेको छ भने पाँचवटा उजुरीको फर्स्याेट गरेको छ ।
श्रमिकलाई विदेशमा नै सम्झौताबमोजिमको सेवा–सुविधा दिलाउन विभागले दुईवटा ठोस प्रतिबद्धतासमेत प्राप्त गरेको छ । पीडितलाई न्याय दिलाउने क्रममा आठपटक दुईपक्षीय छलफल गरिएको र एकजनालाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।
सरकारले श्रमिकका गुनासोलाई प्राथमिकतामा राख्दै ‘हेलो सरकार’मार्फत प्राप्त नाैवटा गुनासोमध्ये पाँचवटाको तत्काल समाधान गरेको छ ।
विभागको कल सेन्टरमा प्राप्त ४६ वटा गुनासोमध्ये ४४ वटाको तत्काल समाधान गरिएको छ, जसले पीडितको समस्या सम्बोधन गर्न सरकारी संयन्त्र कति सक्रिय छ भन्ने पुष्टि गर्दछ ।
सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन कुनै पनि कसर बाँकी नराख्ने र श्रमिक ठग्ने जोकोहीलाई पनि कानुनको कठघरामा उभ्याउने कडा चेतावनी दिएको छ ।