वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनलाइन प्रणालीमार्फत अभिमुखीकरण तालिम दिन गृहकार्य सुरु

31 March, 2026

Hom Karki

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जानुअघि श्रमिकले अनिवार्य रूपमा लिनुपर्ने पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आधारित बनाउने प्रक्रिया अगाडि बढाएको छ ।

श्रममन्त्री दीपककुमार शाहले आइतबार श्रम मन्त्रालयमा बसेको बैठकमा कार्ययोजना बनाई कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । उनले पूर्वप्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रममा आधारित श्रव्य-दृश्य सामग्री निर्माण गरी डिजिटल माध्यममा उपलब्ध हुने व्यवस्था गर्नसमेत निर्देशन दिइएको छ ।

रोजगारदाता कम्पनीले भिसा, करार अवधि दिइसकेका र मेडिकलमा फिट भइसकेपछि हरेक श्रमिकले तोकिएको अभिमुखीकरण तालिम केन्द्रमा भौतिक रूपमा उपस्थिति भई दुई दिन १२ घण्टा कक्षा लिनुपर्ने व्यवस्था छ । यो कक्षा पूरा गरिसकेपछि मात्रै अन्तिम श्रम स्वीकृति जारी हुन्छ ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले अभिमुखीकरण तालिमलाई अनलाइन प्रणालीमा लैजान अध्ययन गर्ने बताए । ‘वैदेशिक रोजगारमा जाने श्रमिकलाई गन्तव्य देशका बारेमा सामान्य जानकारी दिन यो कक्षा हुने गरेको छ । अहिले यो कक्षा लिनको लागि श्रमिकले पैसा बुझाउनुपर्छ,’ उप्रेतीले भने, ‘श्रममन्त्रीज्यूले यसलाई नि:शुल्क रूपमा अनलाइन प्रणालीबाटै सूचना लिन सक्ने व्यवस्था गर्नुपर्ने पक्षमा हुनुहुन्छ । यसको लागि विद्यमान कानुन, ऐन, नियम, निर्देशकाले कहाँ कहाँ बाधा पुर्‍याउँछ । यो अध्ययन गरेर हामी अगाडि बढ्नेछौं ।’

वैदेशिक रोजगारी नियमावली अनुसार विदेश जाने श्रमिकलाई यात्रा पूर्वको तयारी, सूचना प्रविधिको प्रयोग, सम्भावित जोखिम र दुर्घटनाबाट बच्ने उपाय, बिमा तथा कल्याणकारी कोषसम्बन्धी जानकारी, वैदेशिक रोजगारसँग सम्बद्ध निकायहरूको भूमिका, गन्तव्य मुलुकमा समस्या पर्दा सर्म्पक र समन्वय गर्ने निकाय, मर्यादित छनोट प्रक्रिया र लागत शुल्क, न्यूनतम स्वास्थ्य स्थिति र स्वास्थ्य परीक्षण, पुनर्एकीकरण कार्यक्रम, औपचारिक माध्यमबाट विप्रेषण पठाउने, मोबाइल बैंकिङ तथा अनलाइन बैंकिङ सेवा, सामाजिक सुरक्षा कोषमा आबद्धता र सुरक्षा योजनाहरू, व्यावसायिक स्वास्थ्य र सुरक्षा, तनाव व्यवस्थापन, मानसिक स्वास्थ्य परामर्श र सामाजिक विषय समेटिएको विषयमा अभिमुखीकरण तालिम दिनुपर्ने व्यवस्था गरेको छ । यस विषयलाई सम्बोधन हुने गरी बोर्डले पाठ्यक्रम तयार गरिसकेको छ ।

खाडीस्थित नेपाली दूतावासका एक अधिकारीले श्रमिकलाई अझै भौतिक रूपमा नै अभिमुखीकरण दिन आवश्यक भएको बताउँछन् । ‘सबै श्रमिकहरू डिजिटल रूपमा विषय बुझ्न सक्ने खालको छैन । यहाँ आउने श्रमिकहरू दोहोरो करार पत्रको मारमा छन् । उनीहरूले आफ्नै करार पत्र पनि बुझ्ने अवस्था छैन । यस्ता विषयलाई पनि हेर्नुपर्नेछ,’ ती अधिकारीले भने ।

वैदेशिक रोजगारमा श्रमिक जाने देशलाई आधार मानी क्लस्टर राखिएको छ । जसमा मलेसिया, खाडी मुलुक, जापान र दक्षिण कोरिया, इजरायल, टर्की, साइप्रस लगायतका अन्य देशलाई अलग अलग क्लस्टर बनाई तालिम दिइरहेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार हाल विदेश जाने श्रमिक अनिवार्य रूपमा कक्षामा उपस्थिति हुने गरेको छ । विभागले २०८१ असोज ११ गते अनिवार्य रूपमा फेस टाइम एण्ड आईरिस रिकोग्नाइजेसन सिस्टम जडान गरेर राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीमा जोडिदिएको छ । जसले गर्दा तालिम नदिई गएको खण्डमा तत्काल पत्ता लाग्ने व्यवस्था गरिएको थियो । यो व्यवस्थाले अर्को व्यक्ति गएर तालिम लिन नपाउने भएको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024