वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज

22 December, 2025

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज गरेका छन् । नवनियुक्त श्रममन्त्री भण्डारीले आज मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि कात्तिक ३० गतेको निर्णय खारेज गरेका हुन् ।

श्रम मन्त्रालयले श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय पुर्‍याउने निर्णय कार्यान्वयनका लागि व्यवसायीहरूलाई पत्राचार गरेको थियो । तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले ८ चैत २०८१ मा ६ हजार ५ सय रूपैयाँ शुल्क लिँदै आएको शुल्क बढाएर ९ हजार ५ सय रूपैयाँ पुर्‍याउने निर्णय गरेका थिए ।

स्वास्थ्य परीक्षण सेवालाई गुणस्तरीय बनाउन ३४ प्रकारका परीक्षण गर्नुपर्ने र त्यसका लागि उक्त शुल्क निर्धारण भएको थियो ।

शुल्क बढेको विषयमा चौतर्फी विरोध भएपछि प्रधानमन्त्री सुशीला कार्कीले निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएकी थिइन् । सोही अनुसार मन्त्री भण्डारीले शुल्क बढाउने निर्णय खारेज गरेका हुन् ।

श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले एक विज्ञप्ति जारी गर्दै शुल्क वृद्धि खारेज गरिएको र पुरानै शुल्कमा स्वास्थ्य परीक्षण गरिने बताए ।

‘मन्त्रालयको मिति २०८२/०९/०४ को माननीय मन्त्रीस्तरको निर्णयबाट २०८२/०७/३० को निर्णयानुसार भएको शुल्क वृद्धि खारेज गरिएको व्यहोरा अनुरोध छ । तसर्थ, वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले स्वास्थ्य परीक्षण र परीक्षण शुल्क साविक बमोजिम नै हुनेगरी कार्यान्वयन गर्नु गराउनु हुन सम्बद्ध सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य सेवा परीक्षण दस्तुर निर्धारण गर्दा नेपाल सरकारले तोकेको शुल्कलाई आधार मानी वैदेशिक रोजगारमा जाने कामदारलाई सहुलियत हुनेगरी सबै परीक्षणको प्याकेजमा ९ हजार ५ सय रूपैयाँ तोकेको थियो ।

मन्त्रीस्तरीय सो निर्णय ८ महिनापछि अर्थात् १० मंसिर २०८२ बाट कार्यान्वयमा आएको थियो ।

श्रम मन्त्रालयले स्वास्थ्य व्यवसायीहरूको अनुगमन गरेर शुल्क कार्यान्वयन गराउन पत्राचार गरेको थियो ।

उक्त निर्णयको म्यानपावर व्यवसायीहरूले नै विरोध जनाएका थिए । श्रमिकको स्वास्थ्य परीक्षणको नाममा अनावश्यक शुल्क बढाएको भन्दै खारेज गर्न माग गरेका थिए ।

म्यानपावर व्यवसायीहरूले श्रम मन्त्रायलले तोकेको ३४ प्रकारका स्वास्थ्य परीक्षण विदेशमा आवश्यक समेत नरहेको दाबी गर्दै आएका थिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026