वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसिएसनको आपत्ति

1 December, 2025

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति जनाएको छ ।

एशोसियसनले शुक्रबार विज्ञप्ति जारी गरी मङ्सिर १० देखि लागू हुनेगरी वैदेशिक रोजगारमा जाने कामदारका लागि एकैपटक ठूलो भार पर्नेगरी स्वास्थ्य शुल्क बढाएकामा आपत्ति जनाएको हो ।

सरकारले युएई मुलुकका हकमा चार हजार पाँच सयबाट दोब्बर बढाएर नौ हजार पाँच सय र अन्य मुलुकको हकमा छ हजार पाँच सयबाट नौ हजार पाँच सय पुर्‍याएको छ ।

शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको एशोसिएसनको बुझाइ रहेको एशोसियसनका अध्यक्ष दीपक थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, खाडी तथा मलेसिया जाने कामदारका लागि १० दश हजार सेवा शुल्क तोकेको अवस्थामा स्वास्थ्य परीक्षण शुल्क नै नौ हजार पाँच सय लिनु गम्भीर आपत्तिको विषय भएको अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।

रोजगारीका लागि विशेषगरी मलेसिया र खाडी मुलुक जाने नेपाली अतिविपन्न अवस्थामा रहेकाहरू हुने एशोसिएसनको भनाइ छ ।

ती मुलुकमा दैनिक एक हजार ५०० युवा रोजगारका लागि जाने गरेका र उक्त निर्णयले विपन्न श्रमिकमाथि आर्थिक भार थप्ने एशोसिएसनले जनाएको छ ।

गन्तव्य मुलुकले नेपालमा गरिने स्वास्थ्य परीक्षणको विश्वास नगरी आफ्नो मुलुकको मापदण्डअनुसार स्वास्थ्यपरीक्षण गराउने गरेको अवस्थामा नेपालमा परीक्षणका लागि शुल्क बढाउनु राम्रो नभएको जनाइएको छ।

नेपालमा हुने स्वास्थ्य परीक्षण केबल श्रम स्वीकृतिको कानुनी प्रक्रिया पूरा गर्ने औपचारिकता मात्रै भएको एशोसिएसनको भनाइ छ ।

एशोसिएसनले विपन्न अवस्थामा रहेका कामदारमाथि आर्थिक भार हुनेगरी गरिएको स्वास्थ्य परीक्षण शुल्क वृद्धि तत्काल फिर्ता लिन आग्रह गरेको छ । रासस

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026