वैदेशिक रोजगारीमा गएकाबाट पौने ३ करोड जुटेपछि सुविधायुक्त बन्यो गलकोट नगर अस्पताल

2 June, 2026

Prakash Baral

गलकोट नगरपालिका–३ हटिया घर भइ, हाल हङकङमा कार्यरत प्रेमबहादुर बस्नेत र श्रीमती अमृताले नगर अस्पतालको जग्गा खरिद गर्ने अभियानमा १५ लाख रुपैयाँ सहयोग गरेका छन् । दुई वर्षअघि अस्पतालले जग्गा खरिदकालागि बजेट अभाव भएपछि चन्दा आब्हान गरेको थियो ।

बस्नेत परिवारले गलकोटमै रहेका बाबु पदमबहादुर र आमा गौरीको हातबाट उक्त रकम अस्पताललाई प्रदान गरेको हो । आफ्नो पालामा सामान्य उपचार पनि नपाएका बस्तेन परिवारले गाउँको अस्पताल स्तरीय बनाउने लक्ष्यले यो सहयोग गरेको बताए ।

यो अभियान चलेपछि वडा ६ घर भइ जापान बस्ने झप्परबहादुर बस्नेतले ८ लाख रुपैयाँको मर्चरी किनेर अस्पताल स्थापना गराए । २६ वर्षअघि बाबुआमाको काजकिरिया गर्न आउन नपाएको धोको राखेका बस्नेतले अबका दिनमा कसैको मृत्यु भएमा मर्चरीमा राखेर छोराछोरी आएपछि काजकिरिया गर्न सकिने भन्दै यो सहयोग गरेको बताए ।

अस्पतालको जग्गा खरिद गर्ने अभियानमा गलकोट समाज जापान नायोडाले ६ लाख ८० हजार रुपैयाँ पठायो। वडा ६ का यामबहादुर खत्रीले पनि एक्लै ६ लाख ६६ हजार रुपैयाँ दिए । स्थानीय खिमबहादुर खड्काले ५ लाख ५५ हजार दिए । वडा ५ की भीमकुमारी काउचाले छोराछोरीलाई भनेर ५ लाख ५५ हजार रुपैयाँ सहयोग गरिन् ।

नगर अस्पताल व्यवस्थित बनाउने नगरपालिकाको योजना पूरा गर्न सकेको सहयोग गरेको उनीहरुले बताएका छन् । यो अभियान थालेको दुई वर्षमा स्थानीयले २ करोड ७९ लाख ६२ हजार रुपैयाँ संकलन गरेका छन् । यो रकममध्ये २ करोडबाट झण्डै ७ रोपनी जमिन खरिद गरिएको छ । यो जमिनमा अस्पतालको अत्याधुनिक भवन बनाउने नगरपालिकाको योजना छ ।

जापान, अमेरिका, युरोपलगायतका देशमा रोजगारीमा गएका गलकोटबासीकै सहयोगमा यस अघि पनि स्वास्थ्य, शिक्षा र एम्बुलेन्सलगायतको क्षेत्रमा झण्डै ५ करोड लगानी गरिसकेको छन् । उक्त सहयोगबाटै चार वर्षदेखि अस्पताल, क्याम्पस र विद्यालय संचालनमा छन् । खेलकुदका गतिविधिमा पनि उनीहरुकै सहयोग छ।

संकलित रकममध्ये १९ लाखको एक्सरे मेसिन खरिद गरिएको छ । अस्पतालकालागि नगरपालिकाले पनि १५ लाख सहयोग गरेको छ । नगरप्रमुख उपप्रमुख, सबै वडाध्यक्षलगायतले एक/एक लाख रुपैयाँ सहयोग गरेपछि अस्पताललाई व्यवस्थित बनाउने बाटो खुलेको छ । अस्पतालका प्रमुख डाक्टर राजेश पौडेलले जग्गा व्यवस्थापन भएकोले ५ करोड लागतमा अत्याधुनिक अस्पताल बनाउने गरी डिपिआर बनिसकेको बताए । यो डिपिआर अनुसारको अस्पताल तयार भएमा प्रदेश स्तरीय अस्पताल बन्ने छ ।

विसं २००७ सालमा तत्कालीन गलकोटे राजा भरतबम मल्लले यहाँको हरिचौर बजारमा जडीबुटी वितरण केन्द्र स्थापना गरेको इतिहास छ । सोही केन्द्रलाई प्राथमिक उपचार केन्द्र बनाइएको थियो । स्थानीय तहले यो केन्द्रलाई बिस्तार गरी अस्पताल बनाएको हो । २०७९ फागुन १ देखि अस्पतालको रुपमा संचालनमा आएपछि यहाँ दर्जनौं सेवा थपिएका छन् । गत असोजदेखि यहाँ अपरेशनसहितको सुत्केरी सेवा, फिजियोथेरापी, रक्तसंचार, दन्त विशेषज्ञ, भिडियो एक्सरेलगायतको सेवा संचालनमा आएको छ । यहाँ हरेक वर्ष पोखरा र काठमाडौंबाट विशेषज्ञ चिकित्सकमार्फत अति विशिष्ट अपरेसनसहितका सेवा दिने गरिएको छ । अस्पतालले ग्रामीण बस्तीमा घुम्ती सेवामार्फत जेष्ठ नागरिकको उपचार गराइरहेको छ ।

नगर अस्पतालमा विशेषज्ञ सेवा समेत दिन थालेपछि गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, बरेङ गाउँपालिका र गुल्मीको मुसिकोटका समेत बिरामीले यहाँबाट सेवा लिने गरेका छन् । दैनिक १ सय ५० जनासम्म बिरामीले सेवा लिएको डा. पौडेलले जानकारी दिए । ‘नगर अस्पताल भएपनि चौबिसै घण्टा सेवा दिएर अहिले वर्षमा ३६ हजार बिरामीको उपचार गर्न सकेका छौं,’ पौडेलले भने, ‘सेवा बिस्तार गर्ने, आधुनिक भवन बनाउने हो भने यो संख्या अझै बढ्छ ।’

यहाँ प्रसूति बेथा लागेर आएका महिला र आफन्तलाई बस्ने प्रतिक्षाघर समेत बनेको छ । फेयरमेड फाउण्डेसन, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन र नगरपालिकाले लगानी गरी १२ लाख रुपैयाँमा गत असोजदेखि तीन कोठे प्रतिक्षा घर संचालनमा आएको हो । अस्पतालमा बसुन्जेल यहाँ खान र बस्न नि:शुल्क सेवा छ । अस्पतालमा चालु वर्षको असोजदेखि वैशाखसम्म १ सय ६० जनाले प्रसूति सेवा लिएका छन् भने ५१ जनाको अपरेशन सफल भएको छ । गलकोटकै बस्नेत समाजले २० लाख खर्चेर यहाँ कोल्डरुम बनाइदिएको छ । यहाँ औषधिलगायतको भण्डारणमा सहयोग पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव खिमबहादुर खड्काका अनुसार गलकोट नगर अस्पताल प्रदेशकै नमूना अस्पताल हो । ‘हामीले गलकोट अस्पताल जस्तै २० वटा बनाउन सकियो भने ८५ पालिकालाई सहज र भरपर्दो स्वास्थ्य सेवा दिन सकिन्छ,’ खड्काले भने, ‘देशभरमै यो अस्पताल पूर्वाधार अभाव हुँदा पनि नमूना र भरपर्दो भएको छ ।’ खड्काका अनुसार पछिल्लो चार वर्षमा गलकोट क्षेत्रबाट प्रसूति सेवाकालागि हवाइ उद्धार गर्न नपरेको बताए । त्यसअघि यहाँबाट वर्षमा १० देखि १५ जनालाई लाखौं खर्च गरेर हेलिकोप्टरबाट उद्धार गर्नुपरेको थियो । अस्पताल संचालनमा आएयता यहाँ मातृ र शिशु मृत्यु पनि शून्यमा झरेको उनले जानकारी दिए ।

बैदेशिक रोजगारीमा गएकाहरुको साथले अस्पतालका सबै सेवा सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नगरप्रमुख भरत शर्मा गैरेले बताए । गलकोट समाज बेलायतको झण्डै १२ लाख संकलनपछि फिजियोथेरापी सेवा सुरु भएको हो । भने जापानमा बस्नेहरुले १ करोड खर्चेर आँखा उपचार कक्ष पनि बनाएका छन् । अस्पतालमा अहिले पनि ७२ लाख ८७ हजार रुपैयाँ बचत छ ।

गलकोट समाज जापानको सहयोगमा अस्पतालमा आफ्नै एम्बुलेन्स संचालनमा छ भने पोष्टमार्टम सेवा, बहिरंग सेवा, डिजिटल रेकर्ड पद्धति, स्वास्थ्य बिमा कार्यक्रम र बिमाकालागि एक पटक रेकर्ड भएपछि निरन्तर सेवाको पद्धति पनि विकास गरिएको छ । अस्पतालको सेवा प्रभावकारी भएपछि गलकोट नगरपालिका १० का बिष्णु काउचाले हरेक सोमबार गर्भवती र प्रसूति सेवा लिनेलाई निशुल्क ट्याक्सी सेवा दिने गरेका छन् । हटिया बजारदेखि ५ किलोमिटरसम्म उनले नि:शुल्क सेवा दिने गर्छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024