वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय गरिरहेका ८ जना युवा पुरस्कृत

2 July, 2025

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर देशमै विभिन्न किसिमका उद्यम व्यवसाय गरिरहेका ८ जना युवाहरूलाई राष्ट्रिय उद्यमी पुरस्कार प्रदान गरेको छ।

वैदेशिक रोजगारीबाट आर्जन भएको ज्ञान, सीप, अनुभव तथा पुँजीलाई राष्ट्र निर्माणमा प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले सम्मान गरिएको श्रम मन्त्रालयले जनाएको छ।

मंगलबार मन्त्रालयमा पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरी मन्त्रालयले एकजनालाई सर्वोत्कृष्ट उद्यमी र सात जनालाई उत्कृष्ट उद्यमी पुरस्कार प्रदान गरेको हो।

झापाका रविन पोख्रेललाई एक लाख ५० हजार रूपैयाँ सहित सर्वोत्कृष्ट उद्यमी पुरस्कार प्रदान गरेको हो।

त्यस्तै प्रत्येक प्रदेशबाट एक/एक जना गरी सात जना उद्यमीहरूलाई उत्कृष्ट उद्यमी पुरस्कार जनही ७५ हजार नगद पुरस्कार सहित सम्मान गरेको हो।

जसअन्तर्गत आमा कृषि फर्म उर्लाबारीका सञ्चालक राजीव खड्का, निम्तो एग्रो फार्म जीतपुरका सञ्चालक शंकर सिम्खडा, बैतेश्वर रेन्ट एण्ड क्याटरिङ सर्भिस दोलखाका कुमार श्रेष्ठ, वसन्त पोल्ट्री फर्म तनहुका वसन्तबहादुर खड्का सम्मानित भएका छन्।

त्यस्तैगरी सासुबुहारी कृषि तथा पशुपालन फर्म अर्घाखाँचीका शोवाखर पौडेल, देउती होजियारी उद्योग सुर्खेतका लक्ष्मीप्रसाद ढकाल र कैलपाल बहुउद्देश्यीय कृषि फर्म बैतडीका तर्कसिंह विष्ट पुरस्कृत भएका हुन्।

सम्मानित भएका उद्यमीहरूले यसले आफूहरूलाई काममा थप हौसला प्रदान गरेको बताए। श्रममन्त्री शरतसिंह भण्डारीले यसले उद्यमशीलता प्रवर्द्धन गर्ने बताए।

वैदेशिक रोजगारीका क्रममा सिकेको सीप, ज्ञान र पुँजी प्रयोग गरेर देशको अर्थतन्त्र विकासमा योगदान पुर्‍याउन सकिने उनले बताए।

‘हामी नेपालमै सक्छौं। त्यसका लागि वातावरण बनाउन पर्ने हो। सरकार वातावरण बनाउन लागि परेको छ,’ उनले भने।

श्रम सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारलाई युवा पलायन भन्न नमिल्ने बताए। वैदेशिक रोजगार अवसर भएको उनले बताए।

‘वैदेशिक रोजगारीबाट युवाहरूले पुँजी, ज्ञान, सीप र प्रविधि ल्याउनु हुन्छ। मानव विकासका लागि आवश्यक अन्य कुराहरू पनि लिएर आउनु हुन्छ। यो अवसर हो। हामीले यो अवसर सदुपयोग गरेर मुलुकको समृद्धिमा प्रयोग गर्नुपर्छ,’ उनले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024