‘वैदेशिक रोजगारीको सुधारमा राजनीतिक दलको भूमिका आवश्यक’

25 January, 2022

वैदेशिक रोजगारीको क्षेत्रलाई सुधार गर्न राजनीतिक दलहरूको भूमिका आवश्यक रहेको औंल्याइएको छ।

मानव अधिकारका लागि जनमञ्चले सोमबार आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा बोल्दै विज्ञहरूले राजनीतिक दलहरूले भूमिका बढाएर वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने धारणा राखे। श्रम आप्रवासन विज्ञ तथा अधिवक्ता सोम लुइँटेलले राजनीतिक दलहरूको चासोबिना वैदेशिक रोजगारीको क्षेत्रमा सुधार हुन गाह्रो भइरहेको बताए।

‘यतिखेर वैदेशिक रोजगारीमा गएका श्रमिकले मतदानको अधिकार नपाएकोदेखि ठगीलगायत समस्या भोग्न बाध्य छन्,’ उनले भने, ‘त्यसैले यस्ता समस्या समाधानमा राजनीतिक दलहरूले घोषणा पत्रमा प्रतिबद्धता जनाउनै पर्छ।’ उनले वैदेशिक रोजगारीको क्षेत्रमा नीतिगत अस्पष्टता समेत देखिएको बताए।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरि थापाले वैदेशिक रोजगारीमा तमाम समस्या रहेको उल्लेख गर्दै राजनीतिक दल गम्भीर हुने हो भने कैयन समस्या समाधान हुन सक्ने बताए। उनले रोजगारीको क्रममा विदेशमा रहेका नेपालीलाई मताधिकारको सुविधा दिने हो भने समस्या समाधानमा धेरैको चासो बढ्ने बताए।

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर (भारतबाहेक) करिब ५५ लाख नेपाली रोजगारीका लागि विभिन्न मुलुक गएका छन्। श्रम स्वीकृति लिएकामध्ये अझै पनि २५–३० लाख विभिन्न गन्तव्य मुलुकमा रहेको अनुमान छ।

गुजाराका लागि वैदेशिक रोजगारीमा जाँदा समेत ठूलो संख्याका युवायुवती ठगीमा पर्ने गरेका छन्। त्यस्तै रोजगारीको खोजीमा जानेले ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता छ। वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउनु पर्ने आवाज उठ्दै आए पनि व्यवहारमा त्यसो हुन सकेको छैन। स्वदेशमा रोजगारीका अवसर सिर्जना हुन नसक्दा अधिकांश युवा बाध्यताले वैदेशिक रोजगारीमा जान बाध्य हुने गरेका छन्।

सोही कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा नेकपा एमालेका नेता शेरबहादुर तामाङले वैदेशिक रोजगारीमा जाने युवावर्गलाई कृषि क्षेत्रमा लगाउन आवश्यक रहेको बताए। युवा वर्गलाई वैदेशिक रोजगारीमा पठाएर देशको हित नहुने उल्लेख गर्दै तामाङले स्वदेशमा उद्यम गर्न खोज्नेलाई भन्दा हिसाबकिताब मिलाउन खोज्नेले ऋण पाउने गरेको समस्या औंल्याए।

नेकपा माओवादी केन्द्रकी श्रम तथा रोजगार विभागकी सचिव कोपिला पोखरेलले वैदेशिक रोजगारीलाई शोषणमुक्त बनाउन समयसापेक्ष नियम, कानुनको संशोधन हुनुपर्ने बताइन्। उनले वैदेशिक रोजगारीमा जानेलाई सीप सिकाउनुपर्ने धारणा राखिन्।

केन्द्रीय तथ्यांक विभागका अनुसार हाल वैदेशिक रोजगारीमा जानेमध्ये करिब ७४ प्रतिशत अदक्ष कामदार हुने गरेका छन्। त्यस्तै वैदेशिक रोजगारीमा जानेमध्ये करिब २५ प्रतिशत कामदार अर्धदक्ष हुने गरेका छन्। ठूलो संख्याका युवा सीप नसिकेरै वैदेशिक रोजगारीमा जाने गरे पनि उनीहरूलाई दक्ष बनाउने प्रयास नगरिएको सरोकारवालाको गुनासो रहँदै आएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024