वैदेशिक रोजगारीको पुनः श्रम स्वीकृति स्वचालित प्रणालीमा

2 June, 2026

एकपटक वैदेशिक रोजगारीमा गएका श्रमिक पुनः सोही देश र सोही कम्पनीमा रोजगारीका लागि जाँदा स्वचालित प्रणालीबाट विवरण भर्ने सुविधा सुरु भएको छ । वैदेशिक रोजगार विभागले सोमबारबाट वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस)मार्फत पुनः श्रम स्वीकृतिको व्यवस्था लागू गरेको हो ।

विभागकी महानिर्देशक मीरा आचार्यले हाल कायम अटोमेसन प्रविधिलाई थप सुदृढ पार्दै स्वचालित बनाइएको जानकारी दिइन् । ‘अहिले पुनः श्रम स्वीकृति लिन इच्छुक युवाहरूले अनलाइनमार्फत भरेको विवरण कर्मचारीले रुजु गरेर प्रणालीमा अपलोड गर्ने व्यवस्था रहेको छ,’ उनले भनिन्, ‘तर, अबदेखि पुनः श्रम स्वीकृति लिन इच्छुक युवाले सोझै फेमिस प्रणाली प्रयोग गर्न सक्ने बनाएका छौँ ।’ यो प्रणालीमा गएर श्रमिकले तोकिएको विवरण आफैँ भर्ने र प्रणालीले नै थप निर्देशन दिने व्यवस्था लागू भएको उनले जानकारी दिइन् ।

‘पुनः श्रम स्वीकृतिको कागजात अपलोड गर्ने कुरामा अबदेखि कर्मचारीको संलग्नता हटाइएको छ,’ उनले भने, ‘पूर्ण स्वचालित भएपछि श्रमिकलाई सबै काम गर्न पनि सहज हुने अपेक्षा छ ।’ कर्मचारीले रुजु नगर्ने भएकाले विवरण भर्दा ख्याल गर्न विभागले सूचित पनि गरेको छ । श्रमिकलाई पुनः श्रम स्वीकृतिको विवरण भर्दा केही सर्त पनि तोकिएको छ ।

‘श्रम स्वीकृति आवेदन गर्दा यसअघि श्रम स्वीकृति प्राप्त गरेकै देश तथा कम्पनीका लागि पुनः श्रम स्वीकृति आवेदन गरेको हुनुपर्ने,’ विभागले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कम्तीमा तीन महिना अवधि भएको राहदानी हुनुपर्ने र भिसा वैध हुनुपर्ने ।’ त्यस्तै, तोकिएको कम्पनीसँग करार सम्झौता गरेको हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको हुनपर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको हुनुपर्ने र आवधिक जीवन बिमा गरेको हुनुपर्ने सर्त पनि तोकिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले ३ जेठमा गरेको निर्णयअनुसार फेमिसमार्फत पुनः श्रम स्वीकृति गराउने निर्णय गरेका थिए । लगत्तै, आवश्यक तयारी सकेर सोमबारबाट लागू गरेको विभागले जनाएको छ ।

इजरायल जान छनोट भएका १५ जनालाई सम्पर्क गर्न आग्रह

इजरायलमा सहायक कामदारका रूपमा जान छनोट भएका १५ जनालाई मंगलबार दिउँसो एक बजेट सम्पर्कमा आउन विभागले सूचित गरेको छ । इजरायलस्थित रोजगारदाताबाट काम गर्ने गरी करार सम्झौता गरेर पठाएकाले भिसा प्रक्रिया अघि बढाउन १५ जनालाई म्याद रहेको प्रहरीको चारित्रिक प्रमाणपत्र, राहदानी, पासपोर्ट साइजको फोटो, स्वास्थ्य परीक्षण रिपोर्टलगायतका कागजात लिएर उपस्थित हुन विभागले सूचित गरेको हो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024