सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरमकी ३७ वर्षीया जसो कुमारी महतोको जीवन केही वर्षअघिसम्म अनिश्चितता र चिन्ताले भरिएको थियो। परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर उहाँका श्रीमान् अरविन्द कुमार महतो दुई पटक वैदेशिक रोजगारीमा जानुभयो। तर सोचेअनुसार आम्दानी गर्ने अवसर नपाएपछि दुवै पटक निराश भएर घर फर्किनुपर्यो।
वैदेशिक रोजगारीबाट अपेक्षित सफलता नपाएपछि परिवारको भविष्य अन्योलमा परेको थियो। दैनिक खर्च चलाउनेदेखि बालबालिकाको पढाइ कसरी अगाडि बढाउने भन्ने चिन्ताले महतो दम्पतीलाई सताइरहन्थ्यो।
“श्रीमान् दुई–दुई पटक वैदेशिक रोजगारीबाट फर्किएपछि जीवन नै अँध्यारो लाग्थ्यो,” जसो सम्झनुहुन्छ, “तर अहिले जीवन उज्यालो भएको छ।”
जसो र अरविन्दको त्यही अँध्यारोबीच आशाको किरण बनेर आयो तरकारी खेती।
कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) तथा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), खाद्य तथा कृषि संगठन (एफएओ) र यूएन वुमेनको साझेदारीमा दिदीबहिनी र सप्रोस नेपालद्वारा सञ्चालित ‘ग्रामीण महिला आर्थिक सशक्तीकरण कार्यक्रम’ अन्तर्गत जसोले तरकारी खेतीसम्बन्धी तालिम लिनुभयो। तालिमले आत्मविश्वास जगाउनुका साथै आफ्नै गाउँमा सम्भावना खोज्न प्रेरित गरेको उहाँ बताउनुहुन्छ।
तालिमपछि उहाँले आफ्नै पाँच कठ्ठा जग्गामा मौसमअनुसार व्यावसायिक तरकारी खेती सुरु गर्नुभयो। सुरुमा सामान्य रूपमा थालेको खेती अहिले परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ। सप्रोस नेपालले प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ, जसले उत्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुगेको जसोका श्रीमान् अरविन्दले बताउनुभयो।
अहिले जसो महतो र उहाँका श्रीमान् अरविन्द आफ्नै बारीमा उत्पादन गरेको तरकारी बिक्री गरेर मासिक करिब ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी गर्नुहुन्छ।
“महिनामा ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ,” उहाँले भन्नुभयो। उहाँका दुई छोरा र एक छोरी निजी विद्यालयमा अध्ययनरत छन्। तीमध्ये एक छोरा काठमाडौंमा अध्ययनरत रहेको जसो बताउनुहुन्छ। कुनै समय वैदेशिक रोजगारीको असफलताले निराश बनेको परिवार अहिले आफ्नै गाउँमा मेहनत गरेर सुखी जीवन बिताइरहेको छ।
जसोले उत्पादन गरेको ताजा तरकारी स्थानीय बजारमा लोकप्रिय बनेको छ। स्थानीय सामुदायिक विद्यालयको दिवा खाजाका लागि समेत उहाँकै बारीमा उत्पादन भएको तरकारी प्रयोग गरिन्छ। गाउँका उपभोक्ता प्रत्यक्ष बारीमै पुगेर तरकारी खरिद गर्ने भएकाले बजार खोज्दै भौंतारिनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ।
“उत्पादन गरेको तरकारी बेच्न बजारको चिन्ता छैन,” उहाँ भन्नुहुन्छ, “स्थानीयले बारीमै आएर किनेर लैजानुहुन्छ।”
नेपालमा वैदेशिक रोजगारीलाई आर्थिक समृद्धिको प्रमुख माध्यमका रूपमा हेरिने गरिए पनि धेरै युवाले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको यथार्थ छ। सीप, सुरक्षित रोजगारी र उचित पारिश्रमिकको अभावमा कतिपय परिवार ऋण र निराशाको चक्रव्यूहमा फस्ने गरेका छन्। जसो महतोको परिवार पनि त्यसकै एउटा उदाहरण थियो। तर सही तालिम, प्राविधिक सहयोग र स्थानीय स्रोतको उपयोगले वैदेशिक रोजगारीको विकल्प आफ्नै गाउँघरमै सम्भव हुने सन्देश उहाँको सफलताले दिएको छ।
महिलालाई सामाजिक तथा आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले पुष्पखेती तालिम, तरकारी खेती प्रवर्द्धन, प्राविधिक सहयोग, माटाका ग्लास तथा भाँडा बनाउने सीप विकास, व्यावसायिक साक्षरता, क्षमता अभिवृद्धि तथा लैंगिक कार्य सिकाइ पद्धतिसम्बन्धी व्यावहारिक तालिम सञ्चालन गरिएको सप्रोस नेपालका टिम लिडर तथा कृषि विज्ञ चन्दन केसीले बताउनुभयो।
सप्रोस नेपालकी सप्तरी जिल्ला संयोजक बिमला न्यौपानेका अनुसार छिन्नमस्ता गाउँपालिकाको वडा नं. ३ र ५ मा ४१ तथा तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा ४९ गरी ९० महिला समूह गठन गरिएको छ। प्रत्येक समूहमा ३० जना महिलाको सहभागितामा यस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्।