विमल खतिवडा, जानु पंगेनी
मुलुककै पहिलो होमस्टेका रूपमा स्थापित सिरुबारी होमस्टे वृद्धवृद्धाको भरमा चलिरहेको छ । युवा जनशक्ति रोजगारीको सिलसिलामा बिदेसिए पछि वृद्धवृद्धा होमस्टे सञ्चालन गर्न बाध्य भएका हुन् ।
१४ वर्षअघि गाउँलेको सक्रियतामा सञ्चालनमा आएको होमस्टेमा सुरुका केही वर्ष युवा पाहुनाको सत्कारमा जुटे पनि दिगो रोजगारीको माध्यम फेला पार्न नसक्दा बिदेसिएका हुन् । ३९ घरमा सञ्चालित होमस्टेमा दिन र रात नभनी वृद्धहरू नव आगन्तुक पाहुनाको सत्कारमा खटिने गरेका छन् ।
‘पहिला गाउँमा युवाहरू धेरै थिए, जसले पाहुनाको सत्कारमा वृद्धवृद्धालाई सघाउने गर्थे,’ पर्यटन विकास समिति सिरुबारीका संयोजक जुमबहादुर गुरुङले भने, ‘यो पेसालाई दिगो बनाउन नसक्दा युवा बिदेसिन बाध्य भए ।’ युवा बिदेसिए पनि पर्यटनमार्फत गाउँको विकास गर्ने उद्देश्य लिएर बालबालिकादेखि वृद्धवृद्धा पाहुनको सत्कार र सेवामा समय खर्चिने गरेको गुरुङले बताए ।
गाउँ पुग्ने विदेशी र आन्तरिक पर्यटकको स्वागत गर्न वृद्धवृद्धा लौरोको सहारामा माला र अबिर बोकी प्रवेशद्वारसम्म पुग्ने गरेका छन् । पोखरा, पर्वत, स्याङ्जा सदरमुकाम हुँदै कच्ची सडक छिचोलेर सिरुबारी पुग्ने पर्यटकलाई गीत गाउँदै वृद्धवृद्धाले गाउँमा भित्र्याउने गर्छन् । ‘पैसा कमाउन होइन, गाउँ विकासका लागि होमस्टे सञ्चालन गरेका हौं,’ ८१ वषर्ीया चन्द्रावती गुरुङले भनिन्, ‘त्यही भएर बुढेसकालमा भए पनि गाउँको विकासमा सक्रिय बनौं भनी लौरोको सहारामा पर्यटकलाई स्वागत गर्न पाहुना आउने ठाउँसम्म पुग्छु ।’
गाउँमा केही युवायुवती त छन् । तर उनीहरू समेत बिदेसिने तयारीमा छन् । पाहुनाको स्वागतमा ४० देखि ९० वर्ष उमेर पुगेका वृद्धवृद्धाहरू खटिँदै आएका छन् । उनीहरूले दैनिक रूपमा आउने पाहुनालई आआपmना घरमा लगेर राखी स्थानीयस्तरका परिकार खुवाउने गर्छन् । वृद्धवृद्धाहरूले स्थानीय नव युवा क्लबको हलमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी पुराना लोकभाका गीत गाउनुका साथै नाचेर मनोरञ्जन प्रदान गराउँछन् ।
गुरुङ वेशभूषामा सजिएर उनीहरू स्वागत गर्न होस् र वा बिदाइ गर्न गाउँमै गुम्बामा भेला हुने गरेका छन् । ‘होमस्टेले गर्दा नै हाम्रो गाउँ विश्वमा चिनिएको छ,’ ७० वर्षीया वृद्धा मतिकुमारी गुरुङले भनिन्, ‘त्यही भएर बाँचुञ्जेल होमस्टेको माध्यमले गाउँ चिनाउन लागिपर्ने छु ।’ उनले अहिलेसम्म होमस्टे सञ्चालन गरेको दशक बितेको र आम्दानी नगरे पनि गाउँ परिवर्तन भएको बताइन् ।
गाउँमा पुग्ने सडक पिच नभएको र सुविधा सम्पन्न अस्पतालको अभाव भएकाले त्यो पनि गरेर छाड्ने होमस्टे सञ्चालक वृद्धावृद्धाहरूले बताए ।
होमस्टेमा नेपालका ७५ वटै जिल्ला र ५० देशबाट आन्तरिक तथा बाह्य पर्यटकहरू आइसकेका छन् ।