विस्थापित सुकुमवासीको पीडा : बाससँगै गुम्यो रोजगारी

5 May, 2026

Prakriti Dahal, Samarpan Shree, Aarati Poudel

५६ वर्षीया शान्ता काठमाडौंको गैरीगाउँ(शान्तिनगर)को सुकुमवासी बस्तीमा साढे २ दशकदेखि बस्दै आएकी थिइन् । १० वर्षयता उनी शान्तिनगरमा रहेको क्लिनिकमा सरसफाइको काम गर्थिन् । दिनमा बिहान ८ बजेदेखि १२ बजेसम्म र साँझमा ३ बजेदेखि ८ बजेसम्म दुई सिफ्टमा काम गर्थिन् । वैशाख १२ गते जब उनको बस्तीमा सरकारको डोजर पस्यो बाससँगै उनको जागिर पनि खोसियो । त्यसदिनदेखि उनी सरकारले होल्डिङ सेल्टरका रुपमा तोकेको माछापोखरीस्थित होटलमा बस्दै आएकी छन् ।

‘म यहीँ हुँदा मलाई दुई पटक अफिस आउजाउ गर्न पनि सजिलै हुन्थ्यो । तर, अहिले टाढाबाट चार पटक ओहोरदोहोर गर्दा भाडा नै २ सय रुपैयाँ पर्न आउँछ । जबकि मेरो कमाइ नै ९ हजार रुपैयाँ छ,’ उनले सुनाइन् । उनलाई अब कहाँ जाने भन्ने अन्योल भइरहेको छ । क्लिनिकमा काम गरेबापत आएको पारिश्रमिकले घर व्यवहार धान्न सहयोग हुन्थ्यो । ‘ममीको औषधि पनि त्यही पैसाले किनिन्थ्यो । अब त जागिर नै छाड्नुपर्‍यो । यो कुराले चिन्तित पनि भइरहनुभएको छ,’ उनकी छोरीले भनिन् ।

अहिले पनि आफूले गर्ने काम शान्ता सम्झिरहन्छिन् । ‘काम गरेर खाने मान्छे दिउँसोभरि यो कोठामा बसिराख्दा कति गाह्रो हुन्छ । मनमा उस्तै कुरा खेलेर बस्न सक्दिनँ,’ उनी भन्छिन् ।

सरकारले अतिक्रमित जग्गा खाली गर्ने भन्दै सुकुमवासी बस्तीहरू भत्काइरहेको छ । बस्तीबाट विस्थापितहरू रोजगारी गुम्ने चिन्तामा छन् भने कतिपयले छाड्न बाध्य भएका छन् । त्यसैमध्येको एक उदाहरण हुन्, ४६ वर्षकी सविना मगर । उनी २० वर्षदेखि थापाथलीको सुकुमवासी बस्तीमा बस्दै आएकी थिइन् । थापाथलीबाट उनी नियमित ललितपुरको धोबिघाटस्थित एउटा घरमा काम गर्न जान्थिन् । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म काम गर्थिन् । उनको मासिक पारिश्रमिक १६ हजार थियो । त्यही कमाइको आडमा उनी परिवारको खर्च धान्थिन् । तर, डोजरले घर भत्काएपछि उनको परिवार विस्थापित भयो ।

अहिले उनी बालाजुस्थित गेस्ट हाउसमा परिवारसहित बसिरहेकी छन् । विस्थापित भएसँगै उनको रोजगारी पनि गुमेको छ । ‘त्यहाँ मेरो काम घरको खाना पकाउने, सरसफाइ गर्ने र फूलबारी गोडमेल गर्ने मात्र थिएन एक वृद्ध बुवाको हेरचाह पनि गर्नुपर्थ्यो । यता घर भत्किएर अस्थायी सेल्टरमा आएपछि जागिर छाड्न बाध्य भएँ,’ उनले भनिन् । त्यहाँबाट धोबीघाट टाढा पर्छ । एकातिर टाढा बाटो । अर्कोतिर उनकी ६७ वर्षीया आमा मुटुकी रोगी हुन् । बस्ती भत्किएपछि आमाको अवस्था झन् कमजोर भएको छ ।

‘काममा जाँदा घरमा आमालाई हेर्ने कोही हुँदैन, अनि काम गर्ने ठाउँमा पनि वृद्ध बुवालाई खाना बनाइदिने र हेरचाह गर्ने मान्छे म नभई हुँदैनथ्यो । बिरामी आमालाई छोडेर त्यति टाढा जान समस्या भयो,’ उनी सुनाउँछिन् । आफूले नभ्याउने भएपछि अर्को मान्छे राख्न सुझाएर जागिर छाडेको उनले बताइन् । साथमा पैसा नहुँदा अब के गर्ने, कहाँ जाने भन्ने चिन्ताले पिरोलिरहेको उनले बताइन् । ‘म त दुःखसुख गरौँला, तर मेरा बा आमालाई बुढेसकालका ओत लाग्ने ठाउँ समेत नहुँदा मन रोएको छ,’ उनको दुखेसो छ ।

बल्खु सुकुमवासी बस्तीमा १५ वर्षदेखि बस्दै आइरहेकी रिता खड्का यतिबेला घरविहीन मात्र हैन, रोजगारविहीन पनि भएकी छन् । विस्थापित बस्तीबाट उनी भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण इन्जिनियरिङ सेवा निर्देशनालय तालिम व्यवस्थापन विभागमा अस्थायी सेल्टर लिएर बसेकी छन् । हाल उनी वंशीघाटबाट ४६ किलोमिटर टाढा रहेकी छन् । उनलाई लाग्छ, ‘आफू कहाँ पुगेँ ?’

उनी बल्खुमा दुई घरमा काम गर्थिन् । एउटा घरमा बिहान ६ बजे पुग्थिन् । भाँडा माझ्ने, सरसफाइ गर्नेदेखि लुगा धुनेसम्मको काम उनी गर्थिन् । जसबापत उनले मासिक ४ हजार रुपैयाँ कमाउँथिन् । अर्को घरमा हप्ताको ३ दिन पुग्थिन् जहाँबाट मासिक २५ सय कमाउँथिन् ।

मासिक कमाइ उनको ६ हजार ५ सय थियो । बस्तीमा छाप्रो हालेर बसेकी रितालाई भाडा तिर्न पर्दैनथ्यो । उनीसँगै दुई छोराछोरी पनि घरेलु श्रमिक छन् । भक्तपुर खरिपाटी आएपछि उनको जागिर छुटेको छ । ‘दिनभरि काम गर्थेँ । हातमा पैसा हुन्थ्यो । अब त काम पनि छैन, पैसा पनि छैन,’ उनी भन्छिन् ।

घरबेटीले उनलाई फोन गरेर सोध्छन्, ‘आउने कि नआउने ?’ गयो भने त काम गर्न पाइन्छ । तर, टाढा भएका कारण जान सक्ने अवस्थामा छैनन् उनी । आफू विस्थापित भएको दिन कसरी खरिपाटी पुगिन् भन्ने पनि हेक्का छैन रितालाई । ‘घरबाट गाडीमा रंगशाला ल्याए । त्यहाँबाट कहाँ पुर्‍याए भन्ने कुरा आइसकेपछि मात्र थाहा पाएँ,’ उनी भन्छिन् ।

टेकुस्थित वंशीघाटबाट विस्थापित भएकी सुमित्रा कार्की पनि घरायसी काम गर्थिन् । बिहानको समयमा एक घरमा काम गरेर मासिक ३ हजार कमाउँथिन् । आफ्नो बस्तीबाट नजिकै रहेको उक्त घर अहिले उनलाई टाढा भएको छ । ४६ किलोमिटर टाढा रहेकी उनी अहिले चाहेर पनि काममा फर्किन सक्दिनन् । ‘धेरै माया गर्थे मलाई । काम राम्रो छ भन्थे । पैसाभन्दा अरु धेरै कुरा दिन्थे,’ उनले सम्झिइन्, ‘गरिरहेको काम छोड्न मन त थिएन । तर, अब गएँ भने पनि कमाइभन्दा भाडैले खर्च बढी हुन्छ ।’

वंशीघाटबाट विस्थापित राजकुमार विक विभागमा टोलाइरहेका थिए । अरु समयमा काममा सधैं खटिने उनलाई त्यहाँ दिन काट्नै मुस्किल परेको छ । श्रम गरेर ४ जनाको परिवार पाल्दै आएका राजकुमारको परिवार नै यतिबेला विभागमा छ । उनी मजदुरी गर्थे । विस्थापित भएसँगै उनी अहिले कामविहीन भएका छन् । मजदुरी गरिरहेको ठाउँभन्दा टाढा आएकाले उनी फर्केर जान सकेका छैनन् ।

‘गाडीबाट आउँदा धेरै टाढा आइयो भन्ने लागेको छ । जानलाई गाडी भाडा अहिले महँगो छ रे । थोरै कमाउनेलाई त्यो भाडा पनि त कहाँबाट तिर्नु ?’ उनी भन्छन् । ज्यालादरी कामबाट उनी दैनिक ५ सय, हजारदेखि २ हजारसम्म कमाइ गर्थे । अहिले कमाइ नहुँदा उनी बेचैन देखिएका छन् ।

काठमाडौं राधास्वामी सत्संग केन्द्रस्थित होल्डिङ सेन्टरमा बसिरहेका शर्मिला नेपाली र सुजता नेपाली दिदीबहिनी हुन् । उनीहरूको सिनामंगल सुकुमबासी बस्तीमा घर थियो । भाइ र आमासँगै चार जनाको परिवार थियो उनीहरूको । आमा सिलाइबुनाइ गर्थिन् । ‘आमाले कमाएको पैसाले खर्च नधान्ने भएकाले हामी पनि घर सफा गर्ने काम गर्थ्यौँ । हामीले कमाएको पैसाले भाइ पढाउन र अरु खर्च धान्न सजिलो भएको थियो । तर, अहिले त्यही काम पनि छाड्नुपरेको छ,’ शर्मिालाले भनिन् ।

अब शर्मिलाका दिदीबहिनीलाई नेपालमा बस्ने मनै छैन । ‘पाएको काम पनि छुटिहाल्यो । अब बसेर के गर्नु ?’ उनीहरूले भने । घरै नरहेपछि आफूहरू कहाँ भइन्छ ? भन्ने पनि थाहा छैन उनीहरूलाई । ‘यहाँबाट काममा जान पनि टाढा पर्छ । भाडा महँगो पर्छ । पैसा नै बच्दैन । त्यही भएर छाड्न बाध्य भयौँ,’ सुजताले भनिन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024