विद्यार्थी भिसामा जापान जाने प्रक्रिया के हुन्छ, कति लाग्छ खर्च?

22 November, 2025

Bhawanath Humagain

जापानिज भाषालाई एउटा संस्कृतिसँग जोडेर हेरिन्छ। जापानिज भाषाले संस्कृतिसँग जोड्ने अनि त्यसले जापानमा उसको रोजगारीको लागि समेत ढोका खोल्ने भएकाले नेपालमा जापानिज भाषाको पढाइलाई प्राथमिकता दिइन्छ। त्यसैले विद्यार्थी भिसा, कामदार भिसामा जापान जान चाहनेहरूले जापानिज भाषाको अध्ययन गर्छन्।

जापान पढ्न जाने क्रम सन् २०११ पछाडि अलि धेरै मात्रामा सुरू भएको हो। जापान जाने विद्यार्थीको संख्या बढ्नुको कारण त्यहाँ गएका विद्यार्थीहरूले जुन सफलता हासिल गरिरहेका छन्, त्यो मुख्य पाटो हो।

जापानमा भाषा अध्ययन, त्यहाँको भोकेसनल कलेज, युनिभर्सिटीको अध्ययन सकेपश्चात धेरैले काम, व्यवसायबाट सफलता हासिल गरेका घटनाले नयाँ विद्यार्थीलाई आकर्षित गरेको हो। अर्को कुरा, जापनामा गएर सफलता हासिल गरेकाहरूले आफ्ना परिवार, आफन्त अनि साथीभाइलाई जापनाका लागि प्रोत्साहन गरेकाले पनि जापान जाने क्रम बढेको हो।

पछिल्ला दिनमा भने सामाजिक सञ्जालको कारणले आफै अग्रसर हुने पनि छन्। अघिल्लो वर्ष (आर्थिक वर्ष २०८०/०८१) को तथ्यांक मात्र हेर्ने हो भने पनि ३४ हजार विद्यार्थीले जापान जानको लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका थिए। तीमध्ये ९५ प्रतिशतभन्दा धेरै जापान गएका छन्। यो तथ्‍यांकले के भन्छ भने जापान जान चाहनेहरूको संख्या हरेक वर्ष बढिरहेको छ।

पहिला पहिला मानिसहरू कम सूचनाको आधारमा पनि विदेश जाने चलन थियो। कुनै पनि देशमा गइयो भने त्यसपछिका सम्भावनाहरू केके हुन सक्छन् भनेर मान्छेले अध्ययन गर्न थालेका छन्।

पहिलो चरणमा एक जना जाने अनि उसले भाषा अध्ययन या युनिभर्सिटीको पढाइसँगै परिवारका सदस्यलाई जापान बोलाउने चलन छ।

जापान सरकारले पनि विदेशी र आफ्ना नागरिकलाई भेदभाव नगर्ने र समान अवसर प्रदान गर्ने हुनाले जापान जानेको संख्या बढिरहेको छ। त्यहाँ गएपछि अवसरहरू समान रूपमा प्राप्त हुने, शिक्षा, स्वास्थ्य लगायतका सुविधाहरू पाइने भएकाले यो संख्या दिनानुदिन बढिरहेको छ।

जापान जानको लागि हामीले सबभन्दा पहिला भाषामा ध्यान दिनुपर्छ। अर्थात् भाषाको अध्ययन गर्नुपर्छ। आधारभूत तहको जापानिज भाषाको ज्ञान लिएपछि जापानको यात्रा तय गर्न सकिन्छ।

जापानको पढाइ सस्तो भएकाले धेरैको रोजाइमा परेको छ। पहिलो वर्षको कलेज शुल्क साढे ७ देखि ८ लाखसम्म लाग्छ। त्यो भनेको अहिलेको सन्दर्भमा अन्य देशको तुलनामा निकै कम हो।

सामान्य लगानीमा जापान जान सकिने अनि जापान प्रवेश गरेपछि हप्ताको २८ घण्टा काम गर्न पाइने र त्यो कमाइले त्यहाँको पढाइ लगायतका खर्च बेहोर्न सकिन्छ। परिवारले एक पटक मात्र लगानी गरे हुने अनि १४/१५ लाखको खर्चमा जापान पुग्न सकिने भएकाले पनि धेरैको नजरमा जापान परेको छ। अर्को कुरा कागजी प्रक्रियामा समेत जापान सरकार अलि लचिलो छ।

भाषाको अध्ययन गरेको अनि १५ लाखको व्यवस्थापन गर्न सक्नेहरूका लागि जापानको प्रवेश सहज छ। सामान्यतया १२ कक्षा पास गरेपछि जापानले अध्ययनका लागि अनुमति दिन्छ। भाषामा निपूर्ण अनि आफ्नो परिवारको खर्च गर्ने क्षमता छ र जापानमा कोही आफन्त समेत छन् भने धेरै सजिलो पनि हुन्छ। भोकेसनल कलेज पास गरेपछि अवसरहरू पनि प्रशस्त पाउने हुनाले १२ पास गरेकाहरू पनि जान सक्छन्।

अर्को स्नातक पास गरेका विद्यार्थीहरूले उता गएर २ वर्षको भाषा अध्ययन गर्‍यो भने त्यहाँको २ वटा अवसर पाउन सक्छन्। एउटा मास्टर्स पढ्ने अनि अर्को भोकेसनल कलेज जाने पनि हुन्छ। म अब पढ्दिनँ रोजगारी या व्यवसायलाई अघि बढाउँछु भन्न पनि पाइन्छ।

अहिले जापानले विदेशी विद्यार्थीलाई अलि कडाइ गर्दै लगिरहेको छ। त्यसैले नेपालबाट जाने बेलामा पनि भाषाको पढाइमा अलि ध्यान दिन जरूरी छ। अर्थात् उतै गएर चलिहाल्छ, डकुमेन्टमा मिलाउँदा भइहाल्छ भन्ने होइन कि व्यावहारिक रूपमा भाषामा पोख्त भएर जान जरूरी छ। अर्थात ६ महिना ढिलो गरेर भए पनि भाषामा राम्रो दख्खल भयो भने उता सजिलो हुन्छ। कतिपय कलेजले त छात्रवृत्ति समेत दिन्छन्। त्यसका लागि भाषा राम्रो हुन जरूरी छ।

भाषा राम्रोसँग नजानेकाहरूलाई काम पाउन गाह्रो हुन्छ तर भाषामा राम्रो दख्खल भएकाहरूले अलि सजिलोसँग काम पाउन सक्छन्। अर्को कुरा के हो भने भाषा राम्रोसँग जानेकाहरूले जापानमा सजिलो काम पाउने सम्भावना समेत रहन्छ। जुन सहजता भाषा नजानेकालाई नहुन सक्छ।

जापानका लागि भिसा आवेदन दिनुभन्दा कम्तीमा ६ महिनादेखि भाषा अध्ययन गरियो भने जापान गएपछि फर्किएर सोच्नु पर्ने स्थिति रहँदैन। जापानमा के सोचाइ राखिन्छ भने भाषा जान्यो भने सीप सिकाउन सकिन्छ तर भाषा जानेको छैन भने सम्भव हुँदैन।

म आबद्ध सक्सेस अब्रोड स्टडीले विद्यार्थी जापान पठाएको १३ वर्ष हुँदैछ। अहिलेसम्मको अनुभवले के देखाएको छ भने धेरै विद्यार्थीले उता गएर हामी हतारमा आएछौं भन्नुहुन्छ। सरले भन्नुभएको थियो तर हामीलाई आउन हतार भयो भन्नुहुन्छ। अब भाषा अलि राम्रो भएका विद्यार्थी पठाउन पर्‍यो भनेर समेत उहाँहरूले सुझाव दिनुहुन्छ।

अर्को कुरा जापानमा अनुशासनको पनि उत्तिकै महत्व छ। हरेक ठाउँमा अनुशासित हुन जरूरी छ। विद्यार्थीले सडकमा निस्किने क्रममा बाटो काट्दा होस् या फोहोर फाल्दा निश्चित ठाउँमा फाल्ने लगायतमा ध्यान दिन जरूरी छ। अर्थात् भाषासँगै अनुशासन पनि सिकाउन जरूरी छ।

जापानबाट नेपाल आउने कलेजका प्राध्यापकहरूमार्फत् अनि अनलाइनबाट समेत हामीले अनुशासनका कुरा सिकाउँछौं। जापानमा साइकल चलाउँदा मोबाइल चलाउन पाइँदैन लगायतका कतिपय सूचना नेपालीमै लेखेर टाँसिएको हुन्छ।

जापान जाने सवालमा अभिभावक पनि चनाखो हुन जरूरी छ। जापानिज भाषा पढ्दै गर्दा मेरो बच्चाले कस्तो ठाउँमा पढिरहेको छ, त्यहाँ पढाउनेहरू कस्ता छन् अनि त्यहाँको पूर्वाधार कस्तो छ लगायत बुझ्न म अभिभावकहरूसँग आग्रह गर्छु।

तपाईंहरू आफै गएर काउन्सिलिङ लिनुभयो भने यो कुराहरू बुझ्न सक्नुहुन्छ।

अर्को कुरा मेरो बच्चा जापान गएको पढ्नलाई हो। अनि काम गर्नलाई पाएको हप्ताको २८ घण्टाको कमाइ भनेको जापानमा रहँदा बस्दाको लागि हो भनेर बुझ्न जरूरी छ। जापान जाँदा लागेको १४/१५ लाख रुपैयाँ मैले भविष्यका लागि लगानी गरेको हो भनेर बुझ्न जरूरी छ। मेरो बच्चाले जापानमा पढ्दासम्म नेपालमा पैसा चाहियो भनेर प्रेसर दिन्नँ भनेर पहिल्यै तयार भइयो भने उता जानेको आत्मबल पनि बढ्छ।

अध्ययन अवधिभर म यतै मेहनत गर्छु भन्नुभयो भने विद्यार्थीको भविष्य पनि राम्रो हुन्छ अनि अभिभावकको तहबाट आफ्नो जिम्मेवारी पूरा हुन्छ जस्तो लाग्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026