Lal Prasad Sharma
बैंकमा पैसा जम्मा गरी बुढेसकालमा ब्याज खाएर ढुक्कसँग नबसेर किन ‘टेन्सन’ लिइरहेको ?’ आफन्त र छिमेकी बारम्बार सोधिरहन्छन्, लक्षिन र अमृत गुरुङलाई । ‘मरिलानु केही छैन, पैसामात्रै केही रहेनछ । आत्मसन्तुष्टि ठूलो रहेछ, त्यही भएर पैसालाई उत्पादनशील कार्यमा लगाएको’, उनीहरू जवाफ फर्काउँछन् । २५ वर्षसम्म विदेशमा व्यापार-व्यवसाय गरेका लक्षिन र भारतीय सेनाबाट सेवानिवृत्त भएपछि जापानमा बस्दै आएका अमृतले यतिबेला विदेश छाडेर कास्कीको सार्दिखोला गाविसमा व्यावसायिक रूपमा रेन्बोट्राउट माछा पाल्न सुरु गरेका छन् । गाउँमै रोजगारी सिर्जना गरी सहरमा विस्थापित हुनबाट रोक्ने र सहरको पैसा गाउँ भित्र्याउने योजनासाथ उनीहरूले बाँझो जग्गा र पानीको सदुपयोग गर्दै उद्योगका रूपमा माछापालन थालेका हुन् । घान्द्रुक- ५ का लक्षिन र रिभान- ३ का अमृत नाताले साढु दाइभाइ हुन् । उनीहरूले सार्दिखोला- २ बराहथानमा एक लाख ट्राउट माछा पालेका छन् । चिसो पानी भएकोले यो ठाउँ ट्राउट माछाका लागि उपयुक्त देखिएको छ । उनीहरूले यसका लागि झन्डै साढे २ करोड लगानीमा ७० रोपनी जग्गामा २४ वटा पोखरी बनाएका छन् । यसका साथै लघु जलविद्युत, दाना उद्योग, बल्छी खेल्ने सुविधा, रेष्टुरेन्ट, स्विमिङ पुल, खेलमैदान पनि बनाउने योजना उनीहरूको छ । अरू व्यवसाय सहरकेन्दि्रत हुने तर गाउँका स्रोतसाधन, खोलानाला, बाँझो जग्गा कसैले वास्ता नगर्ने भएकाले त्यसलाई सदुपयोग गर्न ट्राउट माछा रोजिएको उनीहरूले बताए । डेढ वर्षअघि काठमाडौं आएका बेला पत्रपत्रिकामा ट्राउट माछाबारे पढ्न पाएपछि उनीहरूमा विदेशमोह भंग भएको हो । ‘यसलाई उद्योगको रूपमा लगे आम्दानीसँगै स्वावलम्बी पनि बनिने सोच आयो’, लक्षिनले भने, ‘अहिले स्वाभिमान र आत्मसन्तुष्टि मिलेको छ ।’ धनभन्दा पनि ठूलो आत्मसन्तुष्टि रहेछ भन्ने अहिले आएर आफूले बुझेको उनले बताए । हङकङ, सिंगापुर, बेलायतमा रेडिमेड गार्मेन्टको व्यापार गरेका लक्षिनले सन् १९९५ मा हङकङको आईडी र २००८ मा बेलायतको नागरिकता लिएका थिए । तर दुई वर्षअघि त्यो त्यागेर गाउँ फर्किएको उनको भनाइ छ । यसैगरी १७ वर्षसम्म भारतीय सेनामा काम गरेर रिटायर्ड भएका अमृत लगत्तै परिवारसहित जापान पुगेर ८ वर्ष बसे । जापानमा मासु कारखानामा काम गरी मासिक ३ लाख कमाउँदै आएका उनी लक्षिनले ‘आफ्नै देशमा केही गरौं’ भनेकाले फर्किएको बताउँछन् । ‘जापानमै रेष्टुरेन्ट खोल्ने तयारी गरेको थिएँ’, अमृतले भने, ‘देशमै केही गर्छु भनेर फर्किएँ ।’ उनीहरूले ३० जनालाई रोजगारी दिएका छन् । विदेशमा जति पैसा कमाए पनि खास इज्जत नहुने उनीहरूको अनुभव छ । तर गाउँमा अहिले ठूलो इज्जत मिलेको र देश-विदेशका कृषि प्राविधिकका लागि स्रोत बन्न पाएकोमा उनीहरूले गौरव अनुभव गरेको बताए । ‘कमाएर मोजमस्ती गर्नुभन्दा केही गरेर देखाउने इच्छा हो’, दुवैले भने, ‘यहाँ लगानी गर्न थालेपछि मानसम्मान पाउन र सामाजिक सम्बन्ध सुदृढ हुनथालेको छ ।’ ट्राउट माछा स्वादिष्ट, सबै उमेरकाले खान हुने, स्वास्थ्यबर्द्धक भएकाले भविष्य देखेर लगानी गरेको उनीहरूको भनाइ छ । ‘पोखरा पर्यटकीय सहर भएकाले पनि भविष्य छ’, उनीहरू भन्छन्, ‘पश्चिम क्षेत्रमै पहिलो भएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण हुनेछ ।’ प्रतिकिलो एक हजार दुई सय रुपैयाँसम्म पर्ने ट्राउट माछा पोखरा तथा आसपासका क्षेत्रका प्रत्येक होटलका मेनुमा थप्ने उनीहरूको लक्ष्य छ । आवश्यक प्राविधिक ज्ञानका लागि जापान, थाइल्यान्ड, हङकङ पनि पुगिसकेका उनीहरूलाई कास्की कृषि कार्यालय र मत्स्य अनुसन्धान केन्द्रले सहयोग गरेका छन् । वरिष्ठ कृषि विकास अधिकृत बेनीबहादुर बस्नेत विदेश छाडेर गाउँमा यति ठूलो लगानी गर्नु निकै सकारात्मक भएको बताउँछन् । ‘हामीले आवश्यक प्राविधिक सहयोग दिइरहेका छौ’, उनले भने, ‘सरकारबाट सुविधा दिलाउने पहल पनि गरिरहेका छौं ।’ कृषि अनुसन्धान केन्द्र मत्स्यका वरिष्ठ प्राविधिक अधिकृत अग्नि नेपालले व्यक्तिगत रूपमा यति ठूलो लगानी सम्भवतः नेपालमै पहिलो रहेको बताए । ‘रकमलाई उत्पादनशील क्षेत्रमा लगानी सकारात्मक हो’, उनले भने । केन्द्रले अहिले माछाका लागि दाना बनाउन उद्यमीलाई सहयोग पुर्याइरहेको छ । जापानी रेन्बो ट्राउटसमेत भनिने माछाका लागि कहिल्यै धमिलो नहुने, २२ डिग्री सेल्सियसभन्दा माथि र १० डिग्रीभन्दा कम तापक्रम नभएको पानी चाहिन्छ । बराहथानको पानी माछाका लागि अति उत्तम १५ देखि १८ डिग्री सेल्सियस तापक्रमको छ । पानीको अन्य गुणस्तर पनि माछाका लागि उपयुक्त रहेको नेपालले बताए । सुरुमा ३ हजार ५ सय भुरा परीक्षण गरिएकोमा सफल भएपछि उनीहरू थप लगानीका लागि हौसिएका हुन् । खाडी मुलुकमा जानुभन्दा गाउँमै केही गर्न सुझाव दिन्छन् उनीहरू । ‘यही उत्पादनशील क्षेत्रमा काम गरे विदेशिने काम रोक्नेमात्र होइन, गाउँबाट सहर झर्ने प्रवृत्तिको पनि अन्त्य गर्छ’, उनीहरूले भने, ‘सहरको पैसा गाउँमा जान्छ । ग्रामीण प्राकृतिक स्रोतसाधनको सदुपयोग हुन्छ ।’ आफ्नो व्यवसाय देखेर अहिले विभिन्न स्थानबाट सल्लाह माग्न आउन थालेको उनीहरूले बताए । उद्योगकै रूपमा माछापालन सुरु भएपछि स्थानीयवासी पनि गाउँको पहिचानसँगै विकास निर्माण तथा अन्य पूर्वाधारका लागि ढोका खुलेको भन्दै खुसी छन् । ‘देश-विदेशका व्यक्तित्वमात्र होइन, सरकारी निकाय पनि आकषिर्त भइरहेका छन्’, स्थानीय टेकराज आचार्यले भने, ‘हामी निकै उत्साही छौं, गाउँले विकासमा फड्को मार्ने विश्वासमा छौं ।’ नेपालमा वर्षेनि १६ अर्बको मासु आयात हुन्छ । कृषिलाई प्रबर्द्धन गर्नसके उक्त रकम विदेशिनबाट जोगिने विश्वास गुरुङद्वयको छ । सरकारले कृषि नीतिमा जोड दिएर सामग्री र पूर्वाधारको सहज उपलब्ध गराउनुपर्ने भन्दै उनीहरूले दाना उपलब्ध हुनुपर्ने माग गरे । ‘देशविदेश घुम्ने, गाडी चढ्ने, धन कमाउने सबै इच्छा पूरा भयो, अब उद्यमी जीवन बिताउन चाहेका हौं’, उनीहरूले भने, ‘परिवार र समाजले पनि सहयोग गरेको छ । फौजी एउटा सिभिल भएकाले काममा सफलता मिलिरहेको छ ।’