विदेश अध्ययन र भ्रमणमै एक खर्ब बाहिरियो

12 March, 2025

विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि बिदेशिने क्रम बढेसँगै मोटो रकम विदेश जाने गरेको छ। विदेशबाट ठूलो मात्रामा रेमिटेन्स आप्रवाह भए पनि अध्ययनका लागि जाने विद्यार्थीले मोटो रकम लैजाने गरेका छन्। त्यसैगरी नेपाली विदेश घुम्न जाने संस्कृति बढेसँगै विदेश भ्रमण खर्च पनि बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय १०.६ प्रतिशतले वृद्धि भई एक खर्ब १५ अर्ब ८८ करोड रूपैयाँ पुगेको छ। यो रकम वैदेशिक भ्रमण र उच्च शिक्षा अध्ययनमा विदेश गएको हो। यसअन्तर्गत सात महिनामा उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीले ६४ अर्ब १५ करोड रूपैयाँ लगेका छन्। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय एक खर्ब चार अर्ब ७५ करोड रहेकोमा शिक्षातर्फको व्यय ६६ अर्ब ६४ करोड रहेको थियो। समीक्षा अवधिमा खुद सेवा आय ५० अर्ब २२ करोडले घाटामा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३६ अर्ब ३८ करोडले घाटामा रहेको थियो। सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ७.७ प्रतिशतले वृद्धि भई ४९ अर्ब २१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४५ अर्ब ६८ करोड रहेको थियो।

शिक्षा र भ्रमणमा पनि ठूलो रकम विदेसिँदा अर्थतन्त्रमा थप चाप पर्ने सरोकारवाला बताउँछन् । भ्रमण र शिक्षाका नाममा विदेशिएको रकम अन्य प्रयोजनका लागि लगिएको हुन सक्ने आंशका पनि गरिएको छ। नेपालीले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएको भए पनि विभिन्न बहानामा नेपालबाट रकम बिदेशिने गरेको छ। अध्ययनका लागि विद्यार्थीले विश्वविद्यालय, कलेजलाई तिर्नुपर्ने शुल्कको लागि भन्दै रकम लैजाने गरेका छन्।

विदेशमा रकम गएको आशंकामा नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले एक सूचना प्रकाशन गरी विदेश विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्ध गरेको स्मरण गराएको थियो। नेपाल बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिने सम्बन्धी कार्य गर्न प्रतिबन्ध रहेको समेत जानकारी गराएको छ। विदेशमा घरजग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार गर्न रकम लैजान नपाइने जनाएको छ।

बैंकले तोकिदिएको व्यवस्थाबमोजिमबाहेक विदेशमा भुक्तानी हुने सम्बन्धी कार्य नगर्न/नगराउन अनुरोध गर्दै प्रचलित कानुन विपरीत रकम लगेमा कारबाही गर्ने समेत जनाएको थियो तर रेमिटेन्स आप्रवाह भने निकै बढेको छ। मुलुकमा रोजगारीको अवसर नहुँदा युवाहरू बैदेसिक रोजगारीमा गएर मासिक सरदर एक खर्ब २८ अर्ब रूपैयाँ रेमिटेन्स पठाएका छन्। पोहोरको तुलनामा रेमिटेन्स आप्रवाह १८.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024