उपेन्द्र लामिछाने
पैसा कमाउने चाहना कसलाई हुँदैन र! पैसा कमाउने यो चाहना धेरै नेपालीको भएरनै होला गाउँ-गाउँका युवा यतिवेला विदेशिएका छन्। परिवार छाडेर विदेश गएकालाई घरको सम्झना जति हुन्छ, त्यो भन्दा बढी घरमा रहनेलाई आइरहन्छ। यो कुनै उक्ति भने होइन, बाँके बनकटुवाकी एक महिलाको यर्थाथता हो। २३ वर्षीया मीना चौधरीले तीन वर्षअघि साउदी अरव गएका पतीलाई घर फर्काउन जमिन भाडामा लिएर आफैँले खेती गर्न थालेको सुनाइन।
‘घरमा भएका मान्छे बाहिर गएपछि जीवन झनै असजीलो हुदो रहेछ’, उनले भनिन्- ‘आफ्नै ठाउँमा बसेर पनि कमाउन सकिन्छ भनेर तरकारी खेती थालेको छु।’ वार्षिक ३ हजार दिने सर्तमा उनले दुई कट्ठा जमिन भाडामा लिएर तरकारी खेती गर्न थालेको सुनाइन।
‘केही दिनअघि मात्र ७ हजारको गोलभेडा बेचिसके’, उनले भनिन्- ‘अहिले ४ वटा टनेलमा काक्रा तयार हुँदै छ।’ १० हजार खर्च गरेर बनाइएको टनेलबाट ५० हजार आम्दानी हुने उनको आशा छ। ‘म यसमा सफल भए भने उहालाई फोन गरेर घर बोलाउँछु’, दुई सन्तानकी आमाले भनिन्- ‘त्यही भएर दिनरात बाली स्याहरेर बस्दैछु।’
टनेलमा रोपेको एउटा बोटमा ५ केजी सम्म काक्रा फल्ने आशा गरेकी उनले यसको सफलतासँगै आफ्नो जीवनले नयाँ बाटो लिने सुनाइन। गाउँमा केही गर्न नसकेपछि ८५ हजार रिन खोजेर श्रीमान विदेश लागेको उनले सुनाइन्। ‘उताको कमाईले तण ऋन तिर्नलाई नै ठिक्क हुँदो रहेछ’, उनले भनिन्- ‘तरकारी खेतीको आम्दानी सुनाएर उहाँलाई बोलाउने छु।
बाँके महादेवपुर गाविस ढकेरीकी मीना खड्को कथा पनि उस्तै छ। उनी पनि रोजगारीको सिलसिलामा १ वर्षअघि विदेशिएका पतिलाई घर फर्काउन सुगन्धित तेल निर्माण हुने ‘क्यामोमिल’को खेतीमा जुटेकी छिन्। जंगल नजिकको बारीमा गहु धान नसप्रेपछि उनका पति विदेशीएका थिए। ‘मैले यहाँ जमिन सुहाउँदो क्यामोमाइलको खेती थालेको छु’, उनले भनिन्- ‘यसबाट राम्रो आम्दानी भएको छ।’ गत वर्ष ५ कट्ठाबाट २५ हजार आम्दानी गरे’, उनले भनिन्- ‘यसपाला १० कट्ठा लगाएको छु।’
क्यामोमाइलको खेतमा अधिकांश समय विताउने गरेकी उनले फूलमा सुगन्ध चढेसँगै श्रीमानको घर आउने दिन नजिकैदै गएको भान हुन थालेको बताइन्। ‘यही बारीमा बसेर उहाँ आउने बाटोको प्रतिक्षामा छु’, दुई सन्तानकी यी आमाले भनिन्- ‘यो बाली राम्रो भएमा उहाँलाई घर आउन अनुरोध गर्छु।’ पति पत्नी दुवै मिलेर खेतीलाई निरन्तरता दिने उनको सोच छ।’
‘आय-आर्जनका लागि शिक्षा कार्यक्रम’को सञ्चालनसँगै परम्परागत धान तथा गहु खेती गर्दै आएका बाँकेका अन्य किसानले पनि तरकारी तथा जडिवुटी खेतीतर्फ तर्फ आकर्षित हुन थालेका छन्। यस्ता खेतीकै कारण कतिपय यूवा विदेशीन बाट रोकिएका छन्। ‘काम गर्नको लागि भारतीय सहर बम्बई र सिमला जाने गर्थे’, ३० वर्षीय मानबहादुर थारुले भने- ‘अहिले तीन कट्ठामा तरकारी खेती गरेर बसेको छु।’
बेमौसमी तरकारीसमेत गरेका चौधरीले यसैको आम्दानीबाट १६ जनाका परिवारको गुजारा चलाउने बताउँछन्। ‘हामी तीन भाई नै दिन रात खेतमा काम गर्छौं’, उनले भने- ‘यो खेतीबाट हामीले केही आशा पाएका छौं।’ गाउँमा मात्र ८८ परिवारले यस प्रकारको खेती अंगालेको उनले सुनाए। बाँकेमा १ हजार ३ सय ३४ परिवार यस प्रकारको तरकारी खेतीमा संलग्न छन्। मध्यपश्चिममा १५ जिल्लाका कूल ५३ हजार ८ सय ५२ परिवार यस खेतीबाट लाभान्वित भएको क्षेत्रीय कृषि कार्यक्रम संयोजक दुर्गादत्त रेग्मीले बताए।
त्यसैगरी महादेवपुरी गाविसका ढकेरी गाउँमा मात्र ८१ किसानले क्यामोमाईल र मेन्था जस्ता सुगन्धीत तेल उत्पादनको खेती थालेका छन् भने बाके जिल्लामा १ हजार ५ सय ७३ किसानले यो खेतीमा संलग्न रहेको क्षेत्रीय कृषि कार्यक्रम संयोजक दुर्गादत्त रेग्मीले बताए। बाकेका अलावा दाङ्ग, सुर्खेत र बर्दियामा गरेर कूल ५ हजा २ सय ७९ परिवार यस कार्यक्रमा सहभागी रहेको रेग्मीले सुनाए।